भैरहवा । कार्यसम्पादनमा रुपन्देही जिल्ला प्रशासन कार्यालय देशमै उत्कृष्ट घोषणा भएको छ ।
गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको काम प्रभावकारी रुपमा सम्पादन गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको हो ।
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको गृह मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ७७ जिल्लामध्ये रुपन्देही प्रशासनले ९८ अंक ल्याएको थियो । २०८० साउन पहिलो हप्ता गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीचको कार्य सम्पादन सम्झौता अनुसार भएको मूल्यांकनमा रुपन्देही प्रशासन पहिलोपटक देशभरमा पहिलो बनेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देही प्रशासनको नेतृत्व सम्हालेपछि कार्यसम्पादन चुस्त बनेको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक जग्गा संरक्षण गर्नेदेखि लिएर विदेशी जेलमा रहेका नेपाली नागरिकको जीवन रक्षा गर्नेसम्मको महान कार्य गरेका थिए । प्रजिअ अर्यालले आफू कार्यालयमा हाजिर भएको केही समयमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे अतिक्रमण गरेको सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याएर जनताको मन जित्न सफल भएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकको आवागमनलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्डको सजाय पाउन लागेका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लडमनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए ।
उनको यो कार्यले रुपन्देहीका आम नागरिकमा कर्मचारी प्रशासनमाथि देखिएको निराशालाई कमी ल्याएको थियो । प्रशासकले चाहेमा नागरिकसँग हातेमालो गरेर उत्कृष्ट काम गर्न सक्ने उदाहरणीय पात्रको रुपमा रुपन्देहीका प्रजिअ अर्याललाई धेरैले उदाहरणको रुपमा लिने गरेका छन् । युवा तथा विद्यार्थीहरुका बीचमा लोकप्रिय प्रजिअ उत्प्ररणाका स्रोत समेत मानिन्छन् । मिश्रित समुदाय, खुल्ला सिमा, राजनीतिक केन्द्रको रुपमा चिनिने रुपन्देही जिल्लाका चुनौतिलाई कसरी अवसरमा बदल्न सफल हुनुभयो भन्ने विषयमा हामीले स्टार संवादमा प्रजिअ अर्यालसंग कुराकानी गरेका छौं । प्रस्तुत छ भिडियो संवाद तल क्लिक गर्नुस ।
भिडियाे जनताका प्रिय सिडियो, जसको कुशलताले रुपन्देही बन्यो उत्कृष्ट
