अपांग दृष्टिबिहीन अनाथ आश्रममा खाद्यान्न सामाग्री सहयोग
भैरहवा, साउन १८
लायन्स क्लब अफ भैरहवा लिगेसीले आफ्नो पाँचौं स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, केवलानी स्थित लुम्बिनी अपांग दृष्टिबिहीन अनाथ आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको हो।
आश्रमका आश्रितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबले दाल, सोयाबीन, चना, चाउचाउ, सुजी, आलुलगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको क्लबले जनाएको छ।
क्लबका वर्ष २०२६/०२७ का अध्यक्ष नारायण प्रसाद कोइरालाले लायन्सको सेवा भावलाई आत्मसात गर्दै क्लबले विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले स्थापना दिवसको अवसरमा क्लबले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताए।
क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर मनाउन पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
लुम्बिनी अपांग दृष्टिबिहीन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोका मगरले आश्रमप्रति लायन्स क्लबहरूले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै क्लबप्रति आभार व्यक्त गरे । उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो।
हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष राजन शुक्ला (संगम बाबा) , निर्देशक विष्णु भट्टराई लगायत क्लबका पदाधिकारीहरूको को सहभागिता रहेको थियो।
लायन्स भैरहवा लिगेसीका सचिव रामनारायण ठाकुर (मुन्ना)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
