भैरहवा, वैशाख १९
लुम्बिनी विश्व शान्ति मञ्चले २५७० औं बुद्ध जयन्तीको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ । त्यस्तै मञ्चले ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियान अन्तर्गत भैरहवा–लुम्बिनी क्षेत्रमा २ हजार ५ सय ७० वटा विरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो ।
अभियानको घोषणा सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ ।
शुक्रबार विद्यालय परिसरमा १०८ वटा विभिन्न फलफूलका विरुवा रोपिएको गौतमले जानकारी दिनुभयो । बाँकी विरुवा अबको दुई महिनामा रोप्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
भैरहवाको पुरानो विद्यालय भैरहवा नमुना माविमा लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना तथा विभिन्न संघ–संस्था र बैंक तथा वित्तीय संस्थाको सहयोगमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो । सोही अवसरमा विद्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । त्यस्तै शुक्रबार नै लुम्बिनी साँस्कृतिक नगरपालिका–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालय, खुनगाईमा १ सयवटा विरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । ‘फलफूलका विरुवा रोप्ने गरेका छौं, यस्तो कार्यक्रम गर्न पाउँदा निकै खुसी छौैं, ’उहाँले भन्नुभयो ।
