स्टार खबर नेपाल / संवाददाता
भैरहवा साउन १२
विश्व हिन्दू परिषद् नेपाल रुपन्देहीले सुनसरी जिल्लाको देवानगञ्ज–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा सुरक्षा व्यवस्थामा सुधारको माग गरेको छ।
विश्व हिन्दु परिषद् रुपन्देहीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई बुझाएको ज्ञापनपत्रमा साउने सोमबारको अवसरमा आयोजना गरिएको बोलबम (काँवरिया) यात्राको पूर्वसन्ध्यामा मन्दिर परिसरमा भजन–कीर्तन तथा तयारीमा जुटेका हिन्दू धर्मावलम्बीमाथि मुस्लिमहरूले आक्रमण गरेकाे दाबी गरिएको छ। परिषद्का अनुसार उक्त घटनापछि सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ।
ज्ञापनपत्रमा मन्दिर परिसरमा धार्मिक गतिविधि सञ्चालन भइरहेका बेला केही स्थानीय गैर–हिन्दू युवाहरूले मन्दिरको झण्डा च्यात्ने तथा ध्वनि प्रणालीमा आक्रमण गरेको आरोप लगाइएको छ। साथै विवादका क्रममा करिब एक घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध गरिएको दाबी पनि गरिएको छ।
परिषद् रुपन्देहीले भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले स्थापित मापदण्डविपरीत अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ। उक्त घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको तथा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता र सुनिलकुमार मेहतासहित दर्जनौँ व्यक्ति घाइते भएको परिषद्को दाबी छ। सुनसरी स्थानीय प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। प्रमुख जिल्ला अधिकारीको भनाइ उद्धृत गर्दै घटनाबारे स्पष्ट जानकारी नदिइएको भन्दै परिषद्ले अनुसन्धानको निष्पक्षतामाथि आशंका व्यक्त गरेको छ। साथै केही सञ्चारमाध्यमले घटनाको वास्तविकता हिन्दू समुदायलाई दोषी देखाउने प्रयास गरेको आरोप पनि लगाइएको छ।
विश्व हिन्दू परिषद् नेपाल ,रुपन्देहीले घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र र उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न, घटनामा संलग्न आक्रमणकारी तथा दोषी सुरक्षाकर्मीमाथि कानुनी कारबाही गर्न, मृतक ओमप्रकाश मेहतालाई शहीद घोषणा गरी परिवारलाई उचित राहत उपलब्ध गराउन तथा घाइतेहरूको उपचार खर्च राज्यले व्यहोर्न माग गरेको छ र सुरक्षा व्यवस्थापनमा सुधार, जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउने व्यवस्था तथा भ्रामक सूचना र दुष्प्रचार रोक्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्रमा मागहरू तत्काल सम्बोधन नगरिए हिन्दू समाज शान्तिपूर्ण तर सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। परिषद् रुपन्देहीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय सचिव राजन उपाध्याय,लुम्बिनी प्रदेशका सह-सचिव बिकाश यादव,रुपन्देही जिल्ला अध्यक्ष सुदीस महासेठ ,उपाध्यक्ष दुर्गा प्रसाद गुप्ता,सचिव बिरेन्द्र ज्ञवाली ,सह-सचिव सुनिल केवट,युवा प्रमुख सन्ताेष भुषाल,सल्लाहकार गाैतम कुमार गुप्ता ,सिनपा.नगर समितिका अध्यक्ष पवन कुमार बर्नवाल ,सचिव महेश प्रसाद गुप्ता,काेषाध्यक्ष मनाेज अग्रहरी,सह-सचिव मुन्ना ठाकुर,लगायत रमेश चाैरसीया,प्रेम नारायण साहु,अकाश यादव ,बिजय कुमार माेर्याकाे उपस्थित रहेको थियो।
