रामजीत लोधको सक्रियतामा पुनः स्थापित गरियो शिवलिङ

भैरहवा/साउन २१

हृदयराम गुप्ता

रुपन्देहीको शुद्धोधन गाउँपालिका–७, चुन्नीडिहवास्थित शिव मन्दिरमा विधिपूर्वक नयाँ शिवलिङ स्थापना गरिएको छ । जीर्ण र खण्डित अवस्थामा पुगेको पुरानो शिवलिङलाई वैदिक विधिअनुसार विसर्जन गरी समाजसेवी रामजीत लोधको सक्रियतामा बुधबार नयाँ शिवलिङ स्थापना गरिएको हो ।
शिवलिङ स्थापनाअघि तीनदिने धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । भारतबाट ल्याइएको शिवलिङलाई मंगलबार पर्रोहा परमेश्वर मन्दिरसहित पाँच वटा शिव मन्दिरको परिक्रमा गराई विशेष पूजा–आराधना सम्पन्न भएपछि विधिपूर्वक प्रतिष्ठा गरिएको समाजसेवी रामजीत लोधले जानकारी दिनुभयो ।
उहाँले आफूले ठूलो काम नगरेको बताउँदै भगवान शिवप्रतिको आस्था र श्रद्धाका कारण आफ्नो कमाइको केही अंश धार्मिक सेवामा समर्पण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भगवानले दिएको कमाइबाट केही रकम शिवको सेवामा अर्पण गरेको हुँ । यस मन्दिर मात्र होइन, आफ्नो क्षेत्रका विभिन्न धार्मिक स्थलहरूमा पनि सकेसम्म सहयोग गर्दै आएको छु । मन्दिरसँगै विद्यालय, सडक, अस्पताल तथा समाजलाई आवश्यक पर्ने अन्य क्षेत्रमा पनि निरन्तर सहयोग गरिरहेको छु ।’
स्थानीयवासीका अनुसार उक्त मन्दिर धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको केन्द्रका रूपमा परिचित छ । नयाँ शिवलिङ स्थापना भएपछि स्थानीयवासीमा उत्साह र खुसी छाएको छ ।
शुद्धोधन–७, गोगौलीका नन्दलाल यादवले शिवलिङ स्थापना कार्यमा समाजसेवी रामजीत लोधको विशेष योगदान रहेको उल्लेख गर्दै धार्मिक अनुष्ठान सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
परिक्रमा कार्यक्रममा सहभागी बासुदेव लोधले धार्मिक आस्था र सामाजिक एकताले नै यो कार्य सम्भव भएको बताउनुभयो । उहाँका अनुसार समाजसेवी रामजीत लोधको समन्वय, स्थानीयवासीको सहयोग र भगवान शिवको कृपाले मन्दिरको व्यवस्थापन सुधार गर्दै नयाँ शिवलिङ स्थापना गर्न सफलता मिलेको हो ।
भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट आउनुभएका प्रतिष्ठाचार्य (आचार्य) ले पुरानो शिवलिङ खण्डित भएकाले शास्त्रीय विधिअनुसार विसर्जन गरी नयाँ शिवलिङ स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार प्राण प्रतिष्ठाअघि नयाँ शिवलिङलाई विभिन्न पवित्र शिव मन्दिरका शिवलिङसँग वैदिक विधिअनुसार परिक्रमा तथा धार्मिक संस्कार सम्पन्न गराएर मात्र प्रतिष्ठा गरिएको हो ।
स्थानीय जैसराम यादवले स्थानीय सरकारले गर्नुपर्ने केही सामाजिक तथा धार्मिक कार्य समाजसेवीहरूले गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले जनप्रतिनिधिहरू अपेक्षाअनुसार सक्रिय नदेखिएको गुनासो गर्दै समाज र धर्मका लागि निरन्तर योगदान पु¥याउँदै आएका रामजीत लोधप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!