भैरहवा, साउन १७ — लायन्स क्लब अफ भैरहवा लिगेसीले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ओमसतिया गाउँपालिका–२, पडसरीस्थित सिद्धार्थ राजमार्ग किनारमा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्।
क्लबका अध्यक्ष नारायणप्रसाद कोइरालाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रम संयोजक तथा क्लबका सचिव रामनारायण ठाकुरका अनुसार स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले बिरुवा रोपिएको हो। रोपिएका बिरुवाको संरक्षणमा पनि क्लबले विशेष ध्यान दिने उहाँले बताउनुभयो।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, निवर्तमान अध्यक्ष राजन शुक्ला, सल्लाहकार उमाशंकर पाठक, निर्देशक विष्णु भट्टराईलगायत क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।
