ऋषि पञ्चमी पुजा : महिनावारी अशुद्धता होईन, सृष्टीको सुन्दर प्रारम्भिक रुप

भैरहवा । म त्यतिवेला भर्खर १४ वर्ष पुगेकी मात्र थिए । एक दिन मेरो शरीरमा अचानक परिवर्तन देखियो । दिदीहरुले, साथीहरुले भनेको सुनेकी थिए कि महिनावारी हुंदा पिसावमा रगत देखिन्छ । सायद यसकै आधारमा म महिनावारी भएको होला भन्ने अनुमान गरें । हातखुट्टा कांपेका थिए, मनमा डर थियो, आमालाई सुनाउने आंट थिएन । तर सुनाउनै पर्ने वाध्यता थियो । त्यतिवेलासम्म मलाई मात्र पिर थियो कि अव ११ दिनसम्म साथीहरुसंग खेल्न पाउंदिन र स्कुल पनि जान पाउंदिन । किनकि पहिलो पटक महिनावारी हुंदा ११ दिनसम्म सुर्य देख्न हुदैन भनेर दिदीलाई अर्कैको गोठमा लुकाएको प्रत्यक्षदर्शी थिए । वाबा, दाजु भाइलाई हेर्न नहुंने, भुईमा टेकेको ठाउंपनि अशुद्ध हुने, पाप लाग्छ भन्ने डरले भित्रभित्रै मुटु काप्थ्यो । धन्न रातीमा साथीहरु कुर्न आउंथे र निद्रा पर्थ्यो । किताब कापी छोए पाप लाग्छ भनेर लेख्ने पढ्ने कुरै थिएन । अर्काको गोठमा, न महिनावारी व्यवस्थापन कसरी गर्ने भनेर कसैले सिकायो न त यसको महत्व र सरसफाईका विषयमा कोही बोल्यो । बोले त केबल पापका विषयमा । खाना पुरयाउन दिदी वहिनीलाई पठाईथ्यो । खाने छुट्टै थाल, कचौरा थिए । लगेको खाना माथिबाट नछोईने गरी खनाईदिन्थे । सुर्य हेर्न हुदैन भनेर तिन दिनको दिन अध्यारै पधेंरामा नुहाउंन लगिन्थ्यो । धोएका लुगाहरु घाममा सुकाउन छुट थिएन किनकि पाप लाथ्यो । १४ वर्षको कलिलो उमेर, साथीभाईहरुसंग खेलेको, नाचेको, घांस दाउरा काट्न वन गएको यादले ११ दिनसम्म मानसीक रुपमै एक्लोपन बनाईसकेको थियो । त्यो चकचके उमेर सकेण्ट एक ठाउं वस्न नसक्ने म ११ दिनसम्म त्यसरी बस्नु पर्दा सांच्चै नै सिथिल भईसकेकी थिए । घरमा विरालो खुस्रुक्क गर्दा दौडेर आमाको फेरो समाउने म त्यो गोठमा मुसाका आवाज आउंदा कान थुनेर सुत्थे । यसै गरी दोसा्रे र तेस्रो पटक पनि म यस्तै कठिन समय एक्लै विताएं । महिनावारी हुंदा यसरी कष्ट सहने म मात्र भने होईन् । मेरी दिदी, बहिनी, साथीहरु सबैले यहि प्रक्रिया पुरा गर्नै पर्ने थियो र गरे ।

आज सोच्छु , त्यतिवेला राति अचानक रगत बढी वगेर छटपटिएको भए, कुनै किरा, सर्पले टोकेको भए आखिर मलाई बचाउने त कोही थिएन । त्यतिवेलाका हरेक जोखिमपुर्ण अवस्थाहरु सम्झिदा अहिले पनि शरीर काप्छ । त्यो कलिलो मस्तिष्कमा डरको भारीले कति मानसीक असर गरेहोला त्यसको कुनै लेखाजोखा छैन् । त्यही डर अहिलेसम्म पनि मस्तिष्कमा छाप वनेर बसेको छ । त्यो समयमा महिनावारी व्यवस्थान, यसको सुन्दर पक्ष, जोखिमबाट बच्न सक्ने उपायका बारेमा थोरै भएपनि सिकाउने कोही भईदिएको भए आज महिनावारी भए पनि अन्य समय सरह काम गर्न सकिन्थ्यो होला । तर दिमागमा चेतना भएर पनि मनमा पापको डर हट्न सकेको छैन् । बाल मस्तिष्कमा पारिएको गलत छापको पाप चाहि कसले लिने ? पापी म कि प्रकृतिको नियमलाई स्वीकार गर्न सकक्ने हाम्रो समाज ?

परम्परा, संस्कृति, रितिरिवाज देशका सम्पत्ती हुन । यिनको संरक्षण,प्रवद्र्धन गर्नु जिम्मेवार नागरिकको कर्तव्य हो । तर कुनैपनि धर्मशास्त्रमा लैगिक, सामाजिक, आर्थिक, जातिय,वर्गीय विभेद छरपष्ट छन् र पाप र धर्मको नाममा कसैलाई नीच र उचाें देखाउन खोजिएको छ भने अब पुर्नब्याख्या गर्ने समय आएको छ । महिनावारी अशुद्ध भनेर व्याख्या गर्दा छाउपडीमा किशोरीले ज्यान गुमाउनु गर्ने, चिसो भुईमा रात विताउनु पर्ने, महिनावारीमां दुध दही छुन हुदैन भनेर पौष्टिक आहारबाट वन्चित गर्ने कहांको न्याय वा धर्म हो ?

ऋषि पञ्चमी : परम्परा र आधुनिक चेतना

कुनैपनि धर्मसंस्कृति, परम्पराको आफ्नै छुट्टै पौराणिक महत्व छ । जतिवेला मानिस सामुहिक रुपमा बस्न थाले र समाजको निर्णाण भयो, यसलाई व्यवस्थित गर्न, जीवनशैलीलाई अनुशासनमा बाध्नको लागि धर्मशास्त्रहरुले कानुनको काम गरे ।

समाजमा रहदा मानिसले के गर्न हुन्छ, के गर्न हुदैन भन्ने सिमा समेत धर्मको माध्यमबाट चेतना जगाउने काम भयो । अमर्यादित काम गर्दा पाप लाग्छ भन्ने डरले मानिसलाई अनुशासनमा बाध्ने काम गरयो । सांच्चै भनौंभने धर्मशास्त्रहरुले कानुनकै काम गरे ।

यिनै परम्पराहरुमा मानिसको विश्वास रह्यो । रहदै आएको पनि छ । तर जव अहिलेका मानिसहरुमा चेतना बढ्दै गयो, हरेक मानिसलाई मानव भएर रहने स्वतन्त्रता संविधानमै सुरक्षित गरियो तब कतिपय पम्परागत कुराहरुमा समय सापेक्ष परिस्कृतको आवश्यकता खड्किएको पाईन्छ ।

वैद्धिक धर्मशास्त्रहरुमा महिलाको अस्तित्व, भुमिकालाई अपरिहार्य मानिए पनि उनीहरुलाई कतै न कतै रुप, कामबासना र पुरुषको लागि प्रयोगको बस्तुको रुपमा प्रस्तुत गर्न खोजिएको जस्तो अहिलेका नयां पुस्ताहरुले अनुभव गर्न थाले । एकातिर ग्रन्थहरुमा लेखिएका विषयहरुमा पापको डरले टिप्पणी गर्न पनि नसक्ने, अर्कोतर्फ पुर्ण विश्वास पनि गर्न हिच्किचाउने गर्दा चाडवाड र परम्परागत कुराहरुमा आजका पुस्ताहरुको चासो पनि कम हुन थालेको पाईन्छ ।

जसका कारण परम्परा लोप हुने खतरा समेत बढेको छ । यसको एक उदाहरण हो ऋषि पञ्चमी । महिलाको अशुद्धता भनेर महिनावारीलाई व्याख्या गरेको कथा, महिनावारीलाई महिलाहरुको परिपक्कताको सुन्दर पक्षको रुपमा लिदै यसको सही व्यवस्थापन, यसबाट महिलाको शारिरीक तथा मानसिक रुपमा देखिन सक्ने सकारात्मक परिवर्तनका विषयमा वहस गर्नुपर्ने आजको समाजमा यसलाई अशुद्धतासंग जोडर सुनाईने कथा, प्रर्वचनले सृष्टी कर्ताको रुपमा प्रकतिले महिलाहरुलाई मात्र प्राप्त गरेको अवसरलाई पुरुषवादी समाजले अपहेलना गरेको नयांपुस्ताको बुझाई छ । जसका कारण परम्परालाई जोगाउदै आधुनिक चेतनासंग गास्नु आजको आवश्यकता बनेको छ ।

ऋषि पञ्चमीको पौराणिक पृष्ठभूमि र धार्मिक महत्व :

ऋषि पंचमी भाद्र शुक्ल पञ्चमीका दिन मनाइने एक महत्वपूर्ण वैदिक पर्व हो । हिन्दु धर्मशास्त्र अनुसार, यो दिन सप्तऋषिहरूको पूजाआजा गरिन्छ। पौराणिक कथनअनुसार महिलाले मासिक ऋतुमा अशुद्ध वस्तु वा स्थान छोएको कारण अन्जानेमा दोष लाग्छ भन्ने विश्वास छ, र त्यस पापमोचनका लागि ऋषि पंचमी व्रत बस्ने चलन छ ।

विशेषगरी महिलाले यो दिन स्नान, दन्तधावन, माटो–गाईको गोबर–गाईको दूध आदिबाट शुद्धिकरण गरेर सप्तऋषि, अरु देवता र तुलसीको पूजा गर्दछन्। यसले शरीर र आत्मा शुद्ध हुने मात्र होइन, समाजमा ऋषिहरूप्रति श्रद्धा र ऋणस्वीकारको भाव व्यक्त गर्ने मान्यता छ।

समाज र संस्कृतिमा यसको स्थान

परिवार–संस्था बलियो बनाउन महिलाको योगदानलाई उजागर गर्ने दिन ऋषि–परम्परा र गुरु परम्परा प्रति श्रद्धा जागृत गर्ने अवसरका रुपमा पनि ऋषि पञ्चमीलाई लिईन्छ । यसका साथै सामूहिक संस्कार, शुद्धता र आस्थासँग जोडिएको चाड समेत हो ।

आधुनिक समाजमा चुनौती

तर आधुनिक पुस्ताले यसलाई “अन्धविश्वास” वा “पुरानो संस्कार” मात्र ठानेर बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ। महिलाको अधिकार, लैङ्गिक समानता, र विज्ञानको दृष्टिकोणसंग मेल कसरी मिलाउने भन्ने प्रश्न पनि उठेको छ।

आधुनिक व्यवस्थापन र संरक्षणको उपाय

शैक्षिक दृष्टि : विद्यालय–क्याम्पस स्तरमा “ऋषि पञ्ंचमी” को पौराणिक कथा मात्र नभई यसको सामाजिक–नैतीक सन्देशबारे पाठ्यक्रम वा अतिरिक्त कार्यक्रम राख्न सकिन्छ ।

सामाजिक अभियान: सामूहिक पूजा कार्यक्रमलाई सफाइ अभियान, रक्तदान, वा महिलाको स्वास्थ्य सचेतना कार्यक्रमसँग जोड्न सकिन्छ।

नयां पुस्तासंग संवाद: सामाजिक सञ्जाल, ब्लग, युट्युब जस्ता माध्यमबाट यसको वास्तविक महत्व — “ऋषि प्रति सम्मान, महिलाको योगदानको कदर, आत्मशुद्धिको प्रतीक” — का रुपमा समेत प्रचार गर्न सकिन्छ।

समाज र स्वास्थ्य: महिलाको मासिक प्रक्रिया “अशुद्धता” होइन “प्राकृतिक प्रक्रिया” भनेर बुझाउने, तर परम्परागत संस्कारलाई “श्रद्धा र ऋषिस्मरण” को रूपमा अघि बढाउने सके नयां पुस्ताले यसलाई अनुशरण गर्न सक्छन् ।

सांस्कृतिक पर्यटन: विशेष ठाउं (मन्दिर, नदी, तीर्थ) मा आयोजना हुने सामूहिक व्रत–पूजालाई सांस्कृतिक पर्यटनसंग जोडेर नयाँ पुस्ता आकर्षित गर्न सकिन्छ ।

यसरी ऋषि पंचमी केवल व्रत वा पूजा मात्र होइन, यो संस्कार हाम्रो समाजमा ऋषि ऋण सम्झने, महिलाको आत्मशुद्धि प्रतीकात्मक रूपमा मनाउने, र सांस्कृतिक निरन्तरता दिने परम्परा हो । पौराणिक विश्वासलाई जोगाउदै आधुनिक चेतना अनुसार पुनःव्याख्या गर्न सके मात्र नयां पुस्ताले यसलाई आत्मसात गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!