नवलपरासी, साउन १०
नेपाल सि एम ए संघ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सि एम ए/अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित तथा अधिकारको सुनिश्चितता, संगठन सुदृढीकरण तथा वर्तमान नीतिगत अन्योलका विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले संघलाई अझ सशक्त र क्रियाशील बनाउँदै पेशागत अधिकार सुनिश्चित गर्न आवश्यक परे कानुनी, नीतिगत तथा आन्दोलनका सबै स्वरूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तरक्रियाका क्रममा सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकारलाई राज्यको नीति, निर्देशिका तथा ऐनमै स्पष्ट रूपमा सुनिश्चित गरी लामो समयदेखि कायम अन्योलताको अन्त्य गर्नुपर्ने माग राखेका थिए।
सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै नेपाल सि एम ए संघका केन्द्रीय उपमहासचिव ईश्वर चापागाईं (नवीन)ले संघले संघीय सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सकारात्मक पहल र समन्वय गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संघीय ऐन तथा निर्देशिकासँग बाझिने गरी केही प्रदेश तथा स्थानीय पालिका तहहरूले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी ऐन, नियम तथा कार्यविधि लागू गर्दा पारामेडिक्स स्वास्थ्यकर्मीहरू अनावश्यक अन्योल र अप्ठ्यारोमा परेका छन्।
संघीय सरकारसँग पटकपटक भएका छलफल, सहमति तथा सम्झौताहरुलाई शीघ्र कार्यान्वयन गराई यस्ता नीतिगत समस्या तथा अन्योलताको दीर्घकालीन समाधान निकाल्न नेपाल सि एम ए संघ निरन्तर र सक्रिय रुपमा लागिरहेको स्पष्ट पार्नुभयो। साथै, पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार कुनै पनि हालतमा कुण्ठित हुन नदिने र राज्यसँग भएका सहमति र सम्झौताहरुलाइ कार्यनयन गर्न राज्यले आलटाल वा बेवास्ता गरेमा आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रमहरु गर्नुपर्ने अवस्था पनि आउनसक्ने हुनाले सबै जिल्ला कार्यसमितिका साथिहरुलाई आन्दोलनमा सक्रिय साथ र सहयोगको आव्हान पनि गर्नुभयो।
कार्यक्रम नेपाल सि एम ए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरू कपिल खलान, गोपाल उपाध्याय र राजु अर्यालको विशेष उपस्थिति रहेको थियो। उपाध्यक्षहरूले संघका भावी नीति, योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै संगठन विस्तार, पेशागत अधिकारको सुनिश्चितता र आगामी रणनीतिबारे धारणा राख्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण केन्द्रीय उपमहासचिव ईश्वर (नवीन) चापागाईं )ले गर्नुभएको थियो।
भेलाले संगठनलाई देशभर थप सुदृढ बनाउँदै पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको संरक्षण तथा नीतिगत अन्योलताको स्थायी समाधानका लागि संघ अझ प्रभावकारी रूपमा अघि बढ्ने निष्कर्ष समेत निकालेको जनाएको छ।
