भैरहवा/साउन ११
जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के. राउतलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा यादवले पछिल्लो समय पार्टीभित्र विकसित भएका विभिन्न राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण राष्ट्रिय सचिवको भूमिकामा रही प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिनाइ भएको उल्लेख गरेका छन्।
“पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको अवस्थामा आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता तथा व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै जनमत पार्टीको राष्ट्रिय सचिव पदबाट आजकै मितिदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा पेश गर्दछु,” यादवले राजीनामा पत्रमा उल्लेख गरेका छन्।उनले आफ्नो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाइदिन अध्यक्ष डा. राउतसँग आग्रह गरेका छन्।
यादवले जनमत पार्टीको राष्ट्रिय सचिवका रूपमा पार्टीको नीति, सिद्धान्त तथा उद्देश्यअनुसार जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पार्टी संगठनको सुदृढीकरण, जनअधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि आफूले विगत डेढ दशकदेखि निरन्तर योगदान पुर्याएको उनको भनाइ छ।
साथै, उनले पार्टीमा रहँदा आफूबाट कुनै कमी–कमजोरी वा त्रुटि भएको भए त्यसलाई संगठनात्मक यात्राको स्वाभाविक पक्षका रूपमा लिन आग्रह गरेका छन्। यादवले जनमत पार्टी तथा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति आफ्नो सम्मान सदैव कायम रहने उल्लेख गर्दै आगामी दिनमा पनि लोकतन्त्र, जनअधिकार, सुशासन, सामाजिक न्याय तथा जनहितका पक्षमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
