भैरहवा । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनप्रति नेपाली विद्याार्थीको आर्कषण बढेसंगै अभिभावकहरु आफ्ना सन्तानलाई भेट्न जाने क्रम पनि बढ्दो छ ।
म पनि त्यसकै एउटा अंश हुँ । त्यहाँका गगन चुम्ने आर्कषक भवन, मनै लोभ्याउने भौतिक विकास र फरक सामामाजिक मुल्यमान्यताका कारण जोकोही अष्ट्रेलियामा रमाउन सक्छ ।
विशाल समुन्द्र ,चिल्ला सडक, झिलिमिली , सफा स्वच्छ वातावरण आदि कुराहरुमा सबै मन्त्रमुग्ध हुनु स्वभाविक हो । तर आज म यो भौतिक विकास भन्दा पनि अझ महत्वपुर्ण पाटो त्यहांँको सामाजिक विकासको बारेमा मेरो अनुभव, हामीले अष्ट्रेलियन नागरिकबाट सिक्न सकिने व्यक्तिगत आचरण, उनीहरुको सरल जीवनशैली आदिको बारेमा केही अनुभवहरु साट्ने प्रयास गर्दछु ।
किनकि नेपाल सामाजिक विकास र सुशासनको यात्रामा निरन्तर अघि बढिरहेको छ । तर अझै धेरै चुनौतीहरू छन् । गरिबी, बेरोजगारी, असमानता, राजनीतिक अस्थिरता र सेवाप्रदायक निकायप्रति जनविश्वासको कमी, यस्ता चुनौतीबीच नेपालका लागि अष्ट्रेलिया जस्तो देशका अभ्यास र अनुभवहरू उपयोगी पाठ बन्न सक्छन्।
समाज भनेको व्यक्ति, परिवार मिलेर बनेको एउटा परिवेश वा संरचना हो । जुन परिवेशलाई सकारात्मक र नमूनायोग्य बनाउन हरेक सदस्यको अहम भूमिका रहन्छ । विश्वका मानिसहरुको गन्तव्यको रोजाई बनेको अष्टिेलियाको समाज विविधतायुक्त छ । जहां फरक धर्म,भाषा, सँस्कृति , भेषभुषा, रहनसहन,बानीबेहोरा सबै फरक पाईन्छ । बहुसांँस्कृतिक, बहुधार्मिक समुदायका बीचमा सबैलाई आत्मसम्मान र समान अधिकार प्रदान गरिएको छ ।

कस्ता छन् त त्यहांका नागरिक ?
अष्ट्रेलियन नागरीकहरुलाई छोटो भाषामा अजी भनिन्छ । अनुहारमा मुस्कान, मनमा सकारात्मक भावना, काममा विश्वास, अनुशासित र सरल जीवन शैली उनीहरुको पहिचान हो । आत्मनिर्भर बन्नु र अरुको भावनाको कदर गर्न बच्चादेखि वृद्ध सबै उमेरका मानिसहरु पोक्त छन् । सार्वजनीक सम्पत्तीलाई माया गर्ने, समय र पैसाको महत्व बुझेका छन् । मिठो बोली, सम्मानजनक व्यवहार वास्तवमै लोभ लाग्दो छ । कसैको बारेमा टिप्पणी गर्ने, अनावश्यक भिड जम्मा गर्ने, होहल्ला गर्ने जस्ता कुराहरु कतै देखिदैनन् । कमाउ, रमाउ उनीहरुको विषेशता हो । तर आफु रमाउंदा अरुलाई असर नपरोस् भन्नेमा सजक छन् । हरेक नागरिक जो जहां जे काम गर्दछन् ईमान्दारिताका साथ गर्दछन् । महिला, जेष्ठनागरिक, बालबालिका, विषेश प्रकृतिका नागरिकहरु सबैलाई विषेश सुविधा उपलब्ध छ । त्यो आफुले प्राप्त गर्ने सुविधाको सदै सदुपयोग गर्दछन् । वास्तवमै सुन्दर समाज निर्माणको लागि नागरिक शिक्षित र सभ्य हुनुपर्दोरहेछ भन्ने मैले त्यहांका नागरिकबाट सिक्ने मौका पाए । शान्त स्वभाव र धैर्यतामा नमुना छन् अष्ट्रेलियन नागरिक ।
अहिलेको विश्व आफैमा विभाजित, द्धन्द्धमा फसेको छ । तर अष्ट्रेलियाको समुदाय विश्वलाई शिक्षा दिनेगरी विविधतायुतm सुन्दर समाज एउटै मालामा उनिएको छ । जसमा नागरिक र राज्य, केन्द्र सरकार सबै पक्षको बराबर भुमिका पाईन्छ ।
समावेशी शिक्षा र स्वास्थ्य
अष्ट्रेलियामा शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरिएको छ। ग्रामीण वा शहरी, सबैले समान गुणस्तरको सेवा पाउने व्यवस्था छ। नेपालले अझै शिक्षा र स्वास्थ्यमा क्षेत्रीय तथा आर्थिक असमानता कम गर्न सकेको छैन। त्यसैले नेपालले अष्ट्रेलियाबाट समावेशी, पहुँचयोग्य र गुणस्तरीय सेवा वितरणको नमुना सिक्नुपर्छ।
सामाजिक सुरक्षा र समान अवसर
अष्ट्रेलियाले बेरोजगार, अशक्त, ज्येष्ठ नागरिकदेखि आदिवासी समुदायसम्मका लागि विस्तृत सामाजिक सुरक्षा योजना कार्यान्वयन गरेको छ। नेपालमा यस्ता योजनाहरू सुरु त भएका छन्, तर दुरुपयोग, पहुँचको कमी र अपर्याप्त स्रोतका कारण प्रभावकारी बन्न सकेका छैनन्। अष्ट्रेलियाको नागरिक केन्द्रित सामाजिक सुरक्षा प्रणाली नेपालका लागि प्रेरणादायी छ।
कानूनी शासन र उत्तरदायित्व
सुशासनको मेरुदण्ड भनेकै पारदर्शिता र जवाफदेहिता हो। अष्ट्रेलियामा कानूनी शासन कडाइका साथ लागू हुन्छ। सार्वजनिक सेवा, कर प्रणाली वा नीति निर्माणमा कानूनी स्पष्टता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र नागरिकको प्रत्यक्ष सरोकार सुनिश्चित गरिन्छ। नेपालले सुशासन सुधार्न कानूनी शासनलाई अझ मजबुत बनाउनुपर्नेछ।
संघीय शासनको अभ्यास
अष्ट्रेलियाको संघीय शासन प्रणालीमा केन्द्र र राज्यबीच जिम्मेवारी स्पष्टसँग बाँडफाँड गरिएको छ। त्यसले नीति कार्यान्वयनलाई सरल र प्रभावकारी बनाएको छ। नेपाल पनि संघीयता अभ्यासको सुरुवाती चरणमा छ। अष्ट्रेलियाको अनुभवलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र जवाफदेहितालाई बलियो बनाउन सकिन्छ।
प्रविधि र सेवा प्रवाह
अष्ट्रेलियाले ई–गभर्नेन्स र डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिएको छ। नागरिकलाई घरमै बसेर सरकारी सेवा लिन सक्ने वातावरण छ। नेपालमा पनि ई–गभर्नेन्सको प्रयास भइरहेको छ तर प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ। नेपालले प्रविधि–मैत्री शासन प्रणालीलाई प्राथमिकतामा राख्न आवश्यक छ।
समुदाय सशक्तीकरण
अष्ट्रेलियाले बहुसंस्कृति र विविधतापूर्ण समाजलाई समान अवसर, सहिष्णुता र आपसी सम्मानका आधारमा अगाडि बढाएको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक समृद्धिका लागि अष्ट्रेलियाको समुदाय सशक्तीकरणको अभ्यास महत्त्वपूर्ण सन्देश हो।
नेपालले अष्ट्रेलियाबाट सिक्नुपर्ने कुरा स्पष्ट छन्— समावेशी शिक्षा र स्वास्थ्य, प्रभावकारी सामाजिक सुरक्षा, कडाइको कानूनी शासन, संघीय अभ्यासमा स्पष्टता, प्रविधिमैत्री सेवा प्रवाह र समुदाय सशक्तीकरण। यी अभ्यासलाई आत्मसात गर्दै नेपालको सामाजिक विकास र सुशासनको यात्रालाई छिटो र दिगो बनाउन सकिन्छ।
