नेपालमा धर्मनिरपेक्षता : सरकारको पक्षपाती व्यवहार, हिन्दुलाई संरक्षण, अन्य धर्मलाई अभ्यासमा समेत चुनौति

भैरहवा । २०८१ साल फागुनतिरको एउटा अनौठो घटना, जसले मेरो मनमा नेपालको धार्मिक स्वतन्त्रताप्रति सधैँ प्रश्न उब्जाइरहेको थियो ।
म मेरी नातिनीको उपचारको लागि काठमाडौंको एक बाल अस्पतालमा दिनहुँ जानुपर्थ्यो । चिकित्सकको सल्लाह अनुसार र थेरापीको लागि म भक्तपुर गठ्ठाघर स्थित मेरी दिदीको घरबाट ओहोर दोहोर गर्ने गर्थे ।

सन्तान बिरामी हुँदा आमाको मनमा कस्तो ज्वारभाटा चल्छ त्यो मैले भोगिरहेकी थिए । यतिकैमा एक जना दिदीसँग भेट भयो र उहाँले “सच्चई नेपाल” संस्थाका बारेमा जानकारी दिनुभयो । उहाँ रामै विश्वास गर्नुहुँदो रहेछ ।
धेरैको दीर्घरोग निको भएको कहानी सुनिसकेपछि म पनि के रहेछ त वास्तविकता भनेर एक दिन भक्तपुरको गठ्ठाघरमा रहेको एक सभाहलमा अरु जस्तै भेला भएँ । करिव २ सयको हाराहारीमा उपस्थिति थियो ।

केही अगुवाहरूले गलत आत्मका कारण मानिसलाई कष्ट हुने भन्दै सत्य कर्मको बाटो प्रभुको कृपाले अनुशरण गराउने भनेर प्रवचन दिदैँ थिए । स्वस्थ र आनन्दित रहन केही अभ्यास पनि गराइदै थियो ।

यतिकैमा बाहिरबाट भवनमा एक्कासि ढुँगा मुढा बजारिएको आवाज आयो । टिनको छानोमा ढुङ्गाहरू बजारिन थालेपछी सबैजना डरले आत्तिए । भागदौड हुन थाल्यो ।

भन्दै भवनको बाहिर एक हुल मान्छेहरू हातमा लाठी बोकेर भवन घेराउ गरे । उनीहरु भन्दै थिए क्रिश्चियन धर्मको प्रचार गरेर समाज भड्काउनेलाई हामी छोड्दैनौ । त्यहाँ झडपको स्थिति भयो । ज्यान जोगाउन भाग्नुको विकल्प थिएन । अप्रिय घटना नघट्दै प्रहरी पुग्यो र केही राहत मिल्यो । मलाई लाग्छ त्यहाँ कुनै धर्मको नाम लिइएको भने थिएन । जे होस प्रवचन र अभ्यास जीवनोपयोगी थिए । सबैले सुन्दा पनि केही फरक पर्दैनथ्यो । तर त्यसलाई शङ्काको भरमा बिथोलियो । यो त एक प्रतिनिधि घटना मात्र हो । धर्म प्रचारको आशंकामा कयौं व्यक्तिहरुमाथि दुव्र्यवहार भएको छ । मुद्धा चलाईएको छ ।

अझै पनि धेरै नेपालीहरूका दृष्टिमा “नेपाली भनेको हिन्दु” भन्ने सोच बलियो छ। यसले अल्पसंख्यक धर्मावलम्बीलाई आत्मसम्मानपूर्वक आफ्नो धर्म अभ्यास गर्न कठिनाइ भईरहेको छ । अझ छिमेकी मुलुक भारतमा गरिने हिन्दु अतिवादी गतिविधीका कारण पनि नेपाली समाज प्रभावित छ ।

नेपाल सरकारको संरक्षण पनि केवल हिन्दु धर्मलाई छ । केन्द्रदेखि स्थानीय तहसम्मले मठ मन्दिरका लागि वर्षेनी करौंडौ बजेट दिने गरेका छन् । बजेट खर्च गर्ने नाममा टोलै पिच्छे मन्दिर बनिरहेका छन् । तर मस्जित, चर्च, गुम्बाहरुका लागि सरकारले खासै चासो दिएको पाईदैन ।

मन्दिरका लागि सरकारले दिने बजेटमा भ्रष्टाचार भएका समाचार पनि हामीले सुन्दै आईरहेका छौं तर अल्पसंख्यक धार्मिक समुदायले आफ्नै समुदायको पहलमा धार्मिक भवनहरु निर्माण गरेको पाईन्छ । अल्पसंख्यक धर्मप्रति सरकारी भेदभाव जायज होईन । यसले समुदायमा विभाजन ल्याउन सक्छ । समानता भनेको बहुमतलाई अवसर दिने र अल्पसंख्यकलाई वन्चित गर्ने पक्कै होईन् ।

अब कुरा गरौं हिन्दु परम्परा अनुसार आयोजना हुंने विभिन्न महायज्ञहरु । म धेरै महायज्ञ, यज्ञ, सनातन धर्म सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुने देखि लिएर कथा,कलश यात्रा, धर्म गुरुसंग अन्तरवार्ता समेत गरेकी छु तर कतैपनि अवरोध भएको पाईन धर्म प्रचारको नाममा ।

हिन्दु सभ्यता, सनतान धर्मको नाममा आयोजित कार्यक्रमको प्रचार प्रसार विभिन्न संचार माध्यमहरुबाट एक डेढ महिना अगाबै गरिन्छ । धर्म गुरुहरुका बारेमा माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट बाड्ने, घरघरमा निम्ता दिने सबै गरिन्छ । कुनै सार्वजनिक हितमा आर्थिक शंकलन गर्नु परेमा समेत यस्ता धार्मिक यज्ञ आयोजना गरिन्छ । यसलाई हामीले सहज रुपमा लिन्छौं ।

नेपालमा मात्र होईन भर्खरै मात्र अष्ट्रेलियाको सिड्नीमा हिन्दु धार्मिक यज्ञ, कलश यात्रा गरेर करिब सात विलियन डलर संकलन गरियो । त्यो पनि सिड्नी मै हिन्दु धर्म संस्कृति संरक्षण भवन निर्माणका लागि । हामी कल्पना गरौं, त्यहांको सरकार, नागरिक कति उदार छन् सबै धर्मप्रति । समान धार्मीक अधिकार र स्वतन्त्रता त्यहांको पहिचान बनेको छ ।

आफु बाहेक अरुलाई नस्वीकार्ने बानीले हामी आफैलाई कमजोर बनाउंदै लगेको छ । यतिमात्र होईन, यहां त बहुमत धर्मको आडमा सरकारी काममा अवरोध गर्ने र विकास निर्माणमा समेत वाधा पुरयाउने गतिविधी हाम्रा लागि नौला होईनन् ।
धर्म आ आफ्नो आस्थाको केन्द्र हो । तर बहुमत संख्याको आधारमा धार्मिक बिषयको उठान गरी अन्य विकासका कामहरुमा भने प्रभाव पार्नु हुदैन । कुरा धेरै टाढाको होईन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानं ५ मा रहेको करणीमाई मन्दीरकै कारण सो क्षेत्रमा रहेका सरकारी कार्यालयको सडक अवरुद्ध हुने अवस्थामा रहेको छ । सिद्धार्थनगर नगरपालीकाले निर्माण गर्दै गरेको नगरपालीकाको नयां भवनको निकास गेट मन्दीर व्यवस्थापन समितीले अवरुद्ध गरीदियो ।

नागरिकको भिडलाई व्यवस्थित गर्ने उद्देश्य सहित दक्षीणबाट प्रवेश गरी उत्तर तर्फ निकास गर्ने गरी नक्सा पास गरेको नगरपालीकाले अन्तिम अवस्थामा नक्शा अनुसार निर्माण नै गर्न सकेन ।

मन्दीर ब्यवस्थापन समितीले आन्दोलन गर्ने चेतावनी दिए संगै धार्मिक गतिविधी बढ्ने भन्दै नगरपालीका निकास तर्फको गेट बन्द गर्न बाध्य भयो । नगरपालीकाको गेट बन्द गर्न सफल भएसंगै उत्साहित बनेको मन्दीर व्यवस्थापन समितीले सोही मन्दीर अगाडीको बाटो भएर बर्षौदेखी जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय जाने सडक पनि बन्द गर्ने चेतावनी दिएको छ ।

यसले के देखाउछ भने धर्मका नाममा सरकारी निर्णयलाई पनि उल्ट्याउन सकिन्छ भन्ने गलत सन्देश दिएको छ । धार्मिक स्थल भनेको सबैको लागि ढोका खुल्ला राख्ने ठाउं हो । द्धार नै वन्द गरेर मन्दिर संरक्षण गर्छु भन्नु मुर्खता हो । मन्दीर ब्यावस्थापन समितीका अध्यक्ष प्रेम नारयण गुप्ताका अनुसार सिद्धार्थनगर नगरपालिका र प्रदेश सरकारले मात्र १ करोड दुई लाख रकम मन्दिर निर्माण तथा संरक्षका लागि खर्च गरेको छ । मन्दिरको संरक्षण सरकारको दायित्व हो भने सरकारका आयोजनाहरु सफल बनाउनु हरेक नागरिकको जिम्मेवारी हो ।

 

तर विकास निर्माणमा अवरोध गर्यौ भनेर आफ्नो विजयी ठान्ने व्यक्ति वा संस्था विकास विरोधी हुन् । चाहे त्यो मन्दिर, मस्जिद,गुम्बा या अन्य धार्मिक संस्थाको नामा सरकारको विकास रोक्नु उचित होईन । सरकारी भवन नागरिकको दिनहुँ सेवा लिने अर्को पवित्र मन्दिर हो ।

मेरो तुलना कुनै धर्ममाथि आक्रमण गरिनु पर्छ भन्ने कदापी होईन । बरु नेपालमा रहेका हिन्दु, बौद्ध, इस्लाम, किरांत, क्रिश्चियन, सिक्ख, जैन लगायतका विभिन्न धर्मावलम्बीहरू शान्तिपूर्वक बसोबास गर्ने, धार्मिक स्वतन्त्रताको अभ्यास खुलेरै गर्नसक्ने वातावरण सृजना गर्ने, चर्चहरूमा प्रार्थना, मस्जिदमा नमाज, गुम्बामा पुजा, र मन्दिरमा दर्शन समान रूपमा गर्न सम्भव रहोस् भन्ने उद्देश्य हो ।

नेपालको सुन्दरता नै यसको विविधता हो । विभिन्न धर्म, संस्कृति र विश्वासलाई सम्मान गर्दै अघि बढ्दा मात्र नेपालको धर्मनिरपेक्षता मजबुत हुनेछ र सामाजिक सद्भाव कायम रहन सक्नेछ । बहुधार्मिक, बहुसांस्कृतिक समाज र धार्मिक समानताको जीवित नमुना तब बन्न सक्छ जब सबै अल्पसंख्यक धर्मालम्बीहरुले सुरक्षित महसुस गर्दछन र खुलेर धर्मको अभ्यास गर्ने वातावरण बन्न सक्छ ।

धर्म संस्कृतिप्रति यसरी, समानता सुनिश्चित गर्ने कानुनी व्यवस्था भए पनि सामाजिक र सांस्कृतिक अभ्यास अझै पक्षपाती छ भन्न यिनै घटना काफी देखिन्छ ।

नेपाल २०६३ सालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपछि यहांको राजनीतिक, सामाजिक र सांस्कृतिक आयाममा ठूलो परिवर्तन आयो । बहुसंख्यक हिन्दु परम्परामा जन्मिएको यो राष्ट्रमा आज सबै धर्म, सम्प्रदाय र विश्वासलाई समान सम्मान दिने आधार कानुन र संविधानमै सुनिश्चित त गरिएको छ तर व्यवहारमा देखिने यस्ता असमानताहरुले समाजलाई कुरुप बनाउंछ ।

२०६२÷६३ को जनआन्दोलनपछि नयां राजनीतिक ढंँचासंगै मुलुक धर्मनिरपेक्ष घोषित भयो । संविधान २०७२ ले धर्मनिरपेक्षतालाई संवैधानिक मान्यता दियो र नेपाललाई सबै धर्मप्रति समान दृष्टि राख्ने राष्ट्रका रूपमा परिभाषित त ग¥यो तर बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र«को सुन्दर र सवल पक्षका बारेमा आम नागरिकलाई बुझाउन भने सकेन । अझ कतिपय राजनीतिक दल वा नेताहरू चुनावी फाइदाका लागि धार्मिक भावनालाई उपयोग गर्छन ्। यसले धर्मनिरपेक्षताको मूल मर्मलाई कमजोर बनाउन सक्छ । नेपालमा धर्मनिरपेक्षता कमजोर बनाउनुमा केही कानुनी सिमाहरु पनि कारण बनेका छन् ।

नेपालको संविधानले नागरिकलाई धर्म सम्बन्धी स्वतन्त्रता दिएको छ तर यसमा केही सिमाहरु पनि छन् । नेपालको संविधान २०७२ ९भाग–३, मौलिक हक, धारा २६० मा प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्म मान्ने, पालन गर्ने र अभ्यास गर्ने स्वतन्त्रता छ । तर धर्म परिवर्तन गर्न वा अरुलाई परिवर्तन गर्न बल प्रयोग गर्ने, प्रलोभन देखाउने, वा अन्य तरिकाले बाध्य गर्ने काम भने कानूनी अपराध मानिन्छ ।

कुनै पनि धर्म वा सम्प्रदायको प्रचार गर्न पाइन्छ, तर अरुलाई आफ्नो धर्ममा ल्याउने उद्देश्यले गरिएको प्रचारलाई निषेध गरिएको छ । यसरी कानुनी बुंदामा सिमा निर्धारणका कारण हेर्दा स्वतन्त्र देखिए पनि जुनसुकै विषयमा व्यवहार त व्याख्या फरक पर्दै आएको छ । जसका कारण नेताहरुले समय र आफ्नो अनुकुलता अनुसार कानुनलाई परिषारिषत गर्ने, जनतामा विवाद सृजना गरिदिने खतरा नेपालमा सधैँ रहदै आएको छ । व्यक्तिले व्यक्तिगत रूपमा आफ्नो धर्म परिवर्तन गर्ने अधिकार पाउंछ । तर अरुलाई धर्म परिवर्तन गर्न लगाउने गतिविधि भने नेपालको फौजदारी संहिता अन्तर्गत दण्डनीय हुन्छ।

यसकारण, नेपालमा “स्वतन्त्र रूपमा व्यक्तिगत धर्म परिवर्तन गर्ने हक” सुरक्षित छ, तर “अन्यलाई धर्म परिवर्तन गराउने गतिविधि” कानूनी अपराध हो । यसकै आधारमा अल्पसंख्यक धर्मको अभ्यासलाई नै धर्म परिवर्तनको प्रयास भनी गलत व्याख्या गरिएको छर्लङ्ग हुन्छ ।

यसरी नेपालमा धर्मनिरपेक्षता केवल कानुनी दस्तावेजमा मात्र होइन, सामाजिक जीवनमा पनि महत्वपूर्ण मुद्दा बन्न सक्नु पर्दछ ।

जसका लागि विद्यालय, विश्वविद्यालय र मिडियामा बहुसांस्कृतिक शिक्षाको अभ्यास गर्ने , अन्तरधार्मिक संवाद र सहकार्य गर्ने संगठनहरूको सक्रियता बढाउनु आवश्यक छ । यसलाई अझ सार्थक बनाउन विद्यालय तहदेखि नै धर्मनिरपेक्षता र सहअस्तित्वको शिक्षा दिनसके यसले भविष्यको पुस्तामा धार्मिक भेदभाव कम गर्न सहयोग पु¥याउंछ ।

सरकारले सबै धार्मिक संस्थालाई समान अवसर दिनुपर्छ । मन्दिर, मस्जिद, गुम्बा, चर्च सबैलाई समानरूपमा सहयोग गर्ने नीतिआवश्यक छ। धार्मिकअगुवा र समुदायबीच नियमितसंवादको वातावरण तयार गर्न सके अन्य धर्मप्रतिको गलत धारणा हटाउन र सहकार्य बढाउन मद्दत गर्छ। धर्मलाई राजनीतिक स्वार्थकालागि प्रयोग नगर्ने प्रतिबद्धता राजनीतिक दलले गर्नुपर्छ। धार्मिक विविधतालाई सम्मान गर्ने सकारात्मक समाचार र अभियान चलाउनु जरुरी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!