भैरहवा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीकाे भ्रमण गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई लुम्बिनीमा स्वागत गर्दै भ्रमण गराए । हेलिकप्टरबाट आएका उनी शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गरे। पूर्वनिर्धारित समयभन्दा ढिलो गरी अाएका गुटेरेस आजै अन्नपूर्ण बेसक्याम्प हुँदै पोखराबाट लुम्बिनी आएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसहित लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाइली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामासहितको टीमले गुटेरेसलाई लुम्बिनीमा स्वागत गरेका छन् । यससँगै यहाँ रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् । गुटेरेसलाई मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि स्वागत गरियाे ।

