भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा एक वर्षको दौरान नेपाल सहित ९५ देशका नागरिकले दर्शन गरेका छन । स्थलमार्गभई सबै भन्दा बढि पर्यटक आउने नाकाको रुपमा रहेको बेलहियाबाट अधिकांस तेस्रो मुलुकका पर्यटकहरु आएका हुन भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुदै पनि यहाँ विदेशी पर्यटकहरु आउने गरेका हुन । कोभिडले पछि वर्षेनी बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटक आवागमन बृद्धि हुँदै गएको छ । आन्तरिक पर्यटकले भरिभराउ हुने लुम्बिनीमा भारतिय र तेस्रो मुलुकका पर्यटकको आउने क्रम पनि बढ्दो रहेको पाइएको छ । पछिल्लो एक वर्षमा निकै उत्साहजनक रुपमा लुम्बिनीमा पर्यटक बढेका छन ।
लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२४ को अप्रेल देखि २०२५ मार्च सम्म नेपाली, भारतीय र अन्य मुलुकका गरि १२ लाख ६४ हजार १ सय ६३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२३ मा ९ लाख ९८ हजार ९ सय ३८ जना पर्यटक मात्रै लुम्बिनी आएका थिए । यि तथ्याङकहरु मायादेवी मन्दिर प्रवेश गर्नेको मात्रै हो, जस्मा रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीको आन्तरिक पर्यटकहरुको संख्या यसमा समावेश गरिएको छैन । लुम्बिनी आउने सबै पर्यटक मायादेवी मन्दिर प्रवेश नगरेका पनि हुन सक्छन ।
सन् २०२३ तेस्रो मुलुकका ७६ हजार २ सय १० जनामात्रै पर्यटक मायादेवी मन्दिरको दर्शन गरेकोमा यस २०२४ मा विभिन्न ९५ देशका १ लाख ६ हजार ९८ जना र २०२५ को मार्च सम्म ४८ हजार ५ सय ८० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन । जसमध्ये ५ हजार ३ सय ५ जना विभिन्न देशबाट आएका भिभिआइपी, भिआइपी, देशमा प्रतिनिधि, विशिष्ठ भिक्षु समेत रहेका छन । अहिले आउने विदेशी पर्यटकहरु सबै भन्दा बढि श्रीलंका र थाइलेण्डका रहेका छन, त्यस्तै,म्यानमार, चिन, साउथ कोरिया, भियतनामाका पर्यटकहरु उल्लेखीय रुपमा मायादेवी मन्दिरको दर्शन गरेका छन ।
गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या उत्साहजनक रुपमा बृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए । उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढि तेस्रो मुलुकका पर्यटकहरुको आवागमन बृद्धि भएको छ । विदेशीसँगै नेपाली पर्यटकरुको आगमन पनि लुम्बिनीमा उल्लेखनीय रुपमा बढ्दो छ । २०२३ मा ६ लाख ५६ हजार नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा २०२४ मा वर्ष त्यो संख्या बृद्धि भएर ७ लाख २३ हजार ८ सय पुग्यो भने सन २०२५ मार्च सम्मको ३ महिनाको अवधिमा २ लाख ३७ हजार १ सय २७ पर्यटक लुम्बिनी मायादेवी मन्दिर आएका छन । यो तथ्याङ भने रुपन्देही कपिलवस्तु र नवलपरासी बाहेकका पर्यटकको संख्या हो, मायादेवी मन्दिर प्रवेश गर्दा यि जिल्लाका नागरिकको टिकट नलाग्ने भएकोले तथ्याङकमा समाविष्ट हुदैन ।
यस्तै २०२३ मा भारतीयहरु पर्यटकको संख्या २ लाख ६६ हजार भएकोमा २०२४मा यो संख्या बढेर ३ लाख ८ सय ८९जनाले भ्रमण गरिसकेको अधिकृत राईले बताए । जसमध्ये १४ हजार ३ सय २८ जना भिभिआइपी, भिआइपी, भारतिय विशिष्ट व्यक्ति र प्रतिनीधि हरु रहेका थिए । २०२५ को पछिल्लो ३ महिनामा ८० हजार ३ सय ९ जना भारतिय पर्यक लुम्बिनी आए । विशिष्ट व्यक्तिहरुको आगमनले पनि भारतिय पर्यटकहरुको संख्या लुम्बिनीमा बढ्दो छ ।
बुद्धजन्म स्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा एकै दिन ३२ हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले आए । नववर्ष २०८२को पहिलो दिन मायादेवी मन्दिर क्षेत्रमा सो संख्यामा आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुगेको लुम्बिनी विकास कोष सूचना शाखाका बिकाश लामाले बताए । उक्त दिन मायादेवी मन्दिर क्षेत्रमा बिहानै देखि पर्यटकहरू त्यहाँ पुगेका थिए । धेरै पर्यटकहरू रुपन्देही, कपिलबस्तु र नवलपरासी क्षेत्रबाट आएका थिए । त्यसै गरी छिमेकी जिल्ला पाल्पा लगायत र भारतीय तथा तेश्रो मुलुकका पर्यटक गरी ३ हजार १ सय बढी आएको तथ्याङ्क लुम्बिनी विकास कोषको सूचना शाखामा रहेको छ ।
लुम्बिनीमा बुद्धजयन्तीका दिन सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन भने त्यसपछि नेपाली नयाँ वर्षको पहिलो दिन पनि पर्यटकहरू उत्तिकै त्यहाँ पुग्ने गरेका छन् । नववर्षको पहिलो दिन आन्तरिक एवं बाह्य पर्यटकले लुम्बिनीमा मायादेवी मन्दिर अवलोकन गर्नुका साथै त्यहाँको अशोक स्तम्भ, पुष्करणीकुण्ड, विश्वशान्ति द्विप तथा त्यहाँका बिभिन्न स्वदेशी एवं विदेशी बौद्ध बिहारमा गई अवलोकन गर्ने र फोटो खिच्नमा व्यस्त देखिएका थिए । त्यसै गरी केन्द्रिय नहरमा बोटिङ गर्नेको भिड पनि उत्तिकै थियो । बैशाख महिनाको टन्टलापुर घामको पनि प्रवाह नगरी पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए । नववर्षको पहिलो दिन लुम्बिनी आउने पर्यटकहरूले त्यहाँ आएर तस्बिर खिची टिकटक बनाई बिभिन्न सामाजिक सञ्जालमा राख्दा लुम्बिनीको थप प्रचार भएको छ
लुम्बिनीप्रतिको आस्था बढ्दै गएकाले र यहाँ आध्यात्मिक कार्यक्रमहरु पनि हुने गरेकोले विस्तारै बुद्ध जन्मस्थल मायादेवी मन्दिर आउने दर्शनार्थीहरुको संख्या बढदै गएको छ, यहाँ धेरै सम्भावनाहरु भएकोले अध्यात्मिक कार्यक्रमहरु थप आयोजनाका लागि विकास कोषले पहल गर्न सके यो क्षेत्रमा गुल्जार हुदै जाने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने । लुम्बिनीमा धेरै जसो ध्यान भएकोले देशव्यापी कार्यक्रमहरु पनि यही हुने गरेको छ । मोन्लम, त्रिपिटक च्यान्टिङ्ग लगायतका आध्यत्मिक कार्यक्रमहरु मात्रै नभई संस्थागत कार्यक्रमहरु पनि लुम्बिनीमा हुनपर्छ भन्ने मान्यता आएकोलेनि लुम्बिनी प्रति आर्कर्षण बढ्दै गाएको छ । यसले पर्यटनको विकास सँगसँगै होटल व्यवसायी पनि पर्यटकहरुलाई लुम्बिनीमा १ दिन रोक्न सके यस क्षेत्रका पर्यटन ब्यवसायीहरु जिविकोपार्जन चल्ने अध्यक्ष ज्ञवालीले भने ।
बेलहिया नाका हुदै सबै भन्दा बढि पर्यटक लुम्बिाीका लागि आउने भएकोले नाकामा हुने अध्यागमनमा ढिलाई, अव्यवस्थित सिमाका पुर्वाधार र पर्यटकमाथि हुने मानवीय व्यवहारलाई पनि सुधार गनुपर्छ । पछिल्लो समय यो नाकामा पर्यटनमैत्री वातावरण नभएपनि पर्यटकहरु सास्ती खेपेर नै नेपाल आउने गरेका छन । यसलाई सुधार गरि मैत्रीपुर्ण र सहज वातावरण बनाउन सके सोचेको भन्दा बढि पर्यटक नेपाल भित्रिन सक्छन ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा राखेको छ । सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँ मध्येको नवौं स्थानमा लुम्बिनी रहेको छ । २०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ मध्ये लुम्बिनी नवौं स्थानमा परेपछि हामी पर्यटनव्यवसायीहरु पनि उत्साहित भएको बुद्धग्रामका संचालन पुरुषोत्तम अर्यालले भने । यहाँको लागि यो ठूलो कुरा हो जस्को लागि निजी क्षेत्र र सरकारी तहबाट लुम्बिनीको प्रवद्र्धन गर्नुपर्छ ।
