जथाभावी फोहोर फाल्नेप्रति आक्रमक बन्दै सिद्धार्थनगर

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका जथाभावी फोहोर फाल्नेप्रति आक्रमक बन्दै गएको छ । नगर प्रमुखको नारा ‘क्लीन, ग्रिन, इकोफ्रेण्डली’ लिएर नगरको फोहोर मैला व्यवस्थापन तथा सरसफाईको लागि अभियानकै रुपमा नगरपालिकाको टिम लागिरहदा नगरका सडक, पेटी, नाला तथा गल्लीमा जथाभाबी फोहोर फाल्ने विरुद्ध नगरपालिकाले कारवाहीको कदम सुरु गरेको हो ।

तोकिएको ठाँउ भन्दा बाहिर फोहोर फाल्नु, फोहोर उठाएपछि पनि फोहोर फाल्नु, सार्वजनिक ठाँउमा फोहोर फाल्नु लगायतको काम हुदै आएकोमा सम्बन्धितलाई नगरपालिकाले पटक पटक सूचना जारी गर्दा समेत वेवास्ता भएपछि त्यस्ता काम गर्ने प्रति नगरपालिका आक्रमक भएको हो । ईरिक्सा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, फु्टपाथ व्यवस्थापन, नगर सरसफाई तथा फोहोरमैला व्यवस्थापन गर्ने तर्फ नगरपालिका लागिरहदा नगरको विभिन्न क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई जरिवानाको दायरामा ल्याएको नगरपालिकाले जनाएको छ ।

सफा, स्वच्छ र सुन्दर नगर बनाउने उद्देश्यका साथ नगरमा विहानै देखि नियमित सरसफाइ हुदै आएको छ । सिद्धार्थनगरमा दैनिक २० देखि २५ टन फोहोर उत्सर्जन भइरहेको छ । नगरपालिकाले हरेक दिन विहानै देखि ९२ जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गरी डम्पिङ साइट लैजाने गरेको छ । तोकिएको ठाउ र नगरवासीको घर, व्यवसायिक प्रतिष्ठान र सार्वजनिक स्थलबाट फोहोरहरु नियमित रुपमा संकलन भएपनि केहीले नगरलाई दुगाृीनधत गर्ने हिसाबले जथाभावी फोहोर फाल्न लागेपछि नगरपालिकाले जरिवाना गराएको हो ।

नियमित सरसफाई एवं फोहोरमैला घरघरमा पुगेर उठाउँदा पनि कतिपयले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडेपछि बाध्य भएर जरिवाना काट्नुपरेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व हामी सबैको हो । हामीले सरसफाई गरिरहने र जथाभावी फोहोर पनि फालि नै रहने हो भने यो उद्देश्य पुरा हुन सक्दैन,’ उनले भने–‘त्यसकारण नगर सफा राख्ने कार्यमा सबैले सहयोग गरौं ।’

नगरको सरसफाईका लागि बजार क्षेत्रमा दैनिक २ पटक नियमित फोहोरमैला संकल्न गर्ने टयाक्टरले फोहोर संकलन गरिरहेको छ । यसका साथै घरदैलो र अधिकांस चोक चोकमा नियमित रुपमा फोहोर संकलन हुदै आएको फोहोरमैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख यादव सापकोटाले बताए । नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०७४ अनुसार कसुर ठहर गरी सोही ऐन अनुसार नगरपालिकाले १३ जना जरिवाना तोकी कारवाहीको दायरामा ल्याएको उनले भने ।

हामी नगरपालिकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध छौ । नगरको फोहोर ब्यवस्थापनमा ठूलो समस्याको रुपमा रहेको छ यसमा नगरवासीले पनि साथ दिन जरुरी रहेको छ । दीर्घकालिन समाधानका लागि विभिन्न प्रयासहरु भएपनि अझै सम्म सफलता हासिल नभएको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खाँले भने । प्रयासरत रहेका छौ, सार्वजनिक साझेदारी अन्तर्गत निजी क्षेत्रको सहकार्यमा व्यवस्थापन गर्ने मनसायमा हामी पुगेका छौ । एशियाली बिकास बैंकको लगानीमा फोहोरमैला प्रशोधन केन्द्र बनाउने योजना राजनितिकीकरण भई स्थानियलाई बुझाउन नसक्दा फेल भई बजेट पनि फ्रिज भयो, अन्य पालिकासँग सहकार्य गरेर पनि कार्ययोजना बन्यो तर सफलता भने भएको छैन । नगरपालिकाले फोहोर उत्सर्जन हुने विन्दुमा नै फोहोरको वर्गीकरण गरि नगरपलिका वा निजी क्षेत्रको सहकार्यमा प्रसोधन सहितको काम गर्ने योजनामा रहेको मेयर खाँले भने ।

हाल सिद्धार्थनगर १ डण्डा नदी किनारमा हाल उत्सर्जित फोहोरहरु व्यवस्थापन भइरहेता पनि दीर्घकालिन समाधानका लागि अन्य क्षेत्रको अनुसरण गर्ने गरि योजना बनाएका छौ । नगरपालिकाले पछिल्लो समय अभियानकै रुपमा जथाभावी फोहोर फाल्नेलाई सचेत गराउदै आएको छ । वर्षौ देखि फोहोर लिन जाने टयाक्टर मार्फत पनि नगरवासीलाई सचेत गराउदै आएको नगरपालिकाले पहिल्लो एक सातामा सार्वजनिक सूचनाको अटेर गरि जथाभावी फोहोर फाल्ने १३ जनालाई जरिवाना स्वरुप पत्र काटेको छ । पटकपटक सूचना जारी गर्दासमेत अटेर गरी जथाभावी फोहोर फाल्न नछाडेपछि नगरपालिकाले व्यवसायिक फर्महरुलाई पहिलोपटकलाई पाँच हजारका दरले जरिवाना तोकिएको छ ।
नगरका सडकपेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावी फोहोर फाल्ने १३ व्यवसायिक फर्मलाई जरिवाना तोकिएको छ । जरिवाना तोकिएकोमा वडा नम्बर ५ को गणेश लक्ष्मी कलेक्सन, हरि ओम फूल घर, के.जी फ्रूट एण्ड भेजिटेबल सप्लायर्स, आर.जे फ्रुट एण्ड सब्जी सप्लायर्स, वडा नम्बर ६ को नवदुर्गा प्लाष्टिक सप्लायर्स र वडा नम्बर १२ को बेबी लेण्डलाई पहिलोपटकलाई पाँचहजार जरिवाना तोकि कारवाही गरिएको छ ।

यस्तै सिद्धार्थ प्याथोलोजी, गौतम ट्रेड सप्लायर्स, गुड हेल्थ फार्मेसी, राजु किराना , रुपन्देही नर्सरी, आरम्भ मेडिकल, नबिन यादव फेन्सी पसललाई जनही ५ हजारका दरले कारवाहीको लागि पत्र काटेको हो । फोहोरमैला व्यवस्थापन ऐन २०७४ अनुसार जरिवाना तोकिएको र उक्त जरिवाना तीन दिनभित्र नबुझाए थप कारवाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । जथाभावी फोहोर फाल्नेहरुमाथि नगरपालिकाले निगरानी बढाएको र त्यसरी जो कोहीले सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारवाही गरिने उनले बताए ।

नगरपालिकाले यस अघि पनि धेरै पटक व्यवस्थापनका लागि प्रयास गरेको हो । छिमेकी पालिकाको साझेदारी र सहकार्यमा समेत गर्ने योजना बनाउदा राजिनितीक पक्ष सहमत नहुदा राजनितिकरणले पटक पटक विथोलिएको हो । एसियाली विकास बैंकको सहयोगमा परियोजना ल्याउनेबारे छलफल भएपनि सफल हुन नसकेपछि अहिले निजी क्षेत्रलाई दिने निचोडमा नगरपलिका पुगेको प्रमुख प्रशासकिय अधिकृत थापाले भने ।

नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०७४ अनुसार नगरको फोहोरमैला व्यवस्थापन समितिमा नगरपालिकाको प्रमुख अध्यक्ष रहने गरि प्रमुख प्रशासकिय अधिकृत, २ जना वडाध्यक्ष, २ जना उद्योगी व्यवसिायीका अध्यक्ष, नगरपालिकाको शिक्षा शाखा, फोहोरमैला प्रभावित क्षेत्रमा बसोबास गर्ने एक महिला सहित २ जना स्थानीय, फोहोरमैला व्यवस्थापन तथा खानेपानी सरसफाई संस्थाबाट ३ जना, योजना तथा शहरी शाखा प्रमुख, विज्ञ सदस्य रहने व्यवस्था छ भने फोहोरमैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।

ऐनमा नगरपालिकाले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहोरमैला निष्कासन गरे, घर कम्पाउण्ड वा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थलमा जथाभावी राख्ने, फाल्ने वा थुपार्ने गरेमा कसुर मानी पहिलो पटक पाँच हजार सम्म जरिवाना, दोस्रो पटक दश हजार सम्म, तेस्रो वा तेस्रो भन्दा बढि पटकगरेमा प्रत्येक पटकको पन्ध्र हजारको दरले जरिवाना गरी फोहोरमैला उठाउँदा लाग्ने खर्च समेत निजबाट असुल उपर गर्न सकिने व्यवस्था छ । यस्तै ऐन बमोजिमको सेवा शुल्क नबुझाउने, वा बुझाउन अटेर गर्ने व्यक्तिलाई नगरपालिकाले उपलब्ध गराउने सेवा सुविधा रोक्का गर्न सक्ने व्यवस्था समेत रहेको छ । जरिबाना गर्दा समेत जथाभावी फोहोर फाल्ने प्रवृत्ति अपेक्षाकृत रुपमा नघटेमा फोहोर फाल्नेलाई जरिवाना मात्रै नभई सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा समेत चलाउन सकिन्छ ।

सिद्धार्थनगर नगरपालिका क्षेत्रको फोहोर झण्डै २ वर्ष देखि बेलहिया बुटवल सडक खण्डको नजिकै फालिदै आएको छ । नगरको फोहोर व्यवस्थापन वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएकोमा स्थानीयले अवरोध गरेसँगै गत वर्ष साउन ४ गतेबाट केही समयको लागि भन्दै सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ क्षेत्र बन्यो । तर यहाँ भने फोहोर फाल्न लागेको यति समय बित्दा समेत नगरपलिकाले फोहोर व्यवस्थापन अन्यत्र गर्न सकेको छैन ।

फोहोर नगरपालिकाले गेट नजिकै डण्डा नदीको किनारमा नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । केही समय देखि सिसाको टुक्रा संकलन केन्द्र बनेको सो क्षेत्रमा अहिले सिसा बाटोको पारि र फोहोर वारी तर्फ डम्पिङ भइरहेको छ ।
सिद्धार्थनगर नगरपालिकाले वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएको थियो । फोहोरले स्थानीय प्रभावित भएसँगै वडा नम्बर १ र २ का बासिन्दाले फोहोरको गाडी प्रवेश नै रोक लगाई विरोधमा उत्रेका थिए । यस अघि पनि स्थानीयले पटक पटक विरोध जनाएकोमा विभिन्न सहमतिमा विगत ३ दशक देखि नियमित रुपमा नगरको फोहोर सोही क्षेत्रमा व्यवस्थापन हुदै आएको थियो । स्थानीयले गरेको विरोधसँगै नगरपालिकाले फोहोर डम्पिङ क्षेत्रको स्थान नै परिवर्तन गरेको छ ।

पुरानो ठाउमा स्थानीयले गरेको अवरोधका कारण एक वर्ष देखि सिद्धार्थ राजमार्ग नजिक पर्यटकीय गेटको पश्चिम तर्फ नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको बताए । नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टर मार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । । डम्पिङ क्षेत्रमा गन्ध नआओस भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरिएको छ ।

नगरपालिका दिर्घकालिन फोहरमैला व्यवस्थापनका सफल हुन नसक्दा फोहरको दिगो व्यवस्थापनमा कठिनाई हुने गरेको छ । छिमेकी पालिकाहरुको आपसी समन्वय र समझदारीमा फोहरको दिगो व्यवस्थापन गर्ने भनेपनि राजनीतिकरणले सफलता हासिल हुन सकएिको छैन । सिद्धार्थनगर मात्रै होइन रुपन्देहीको अन्य पालिकामा पनि यो समस्या चुनौतिको रुपमा रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि फोहोरमैला व्यवस्थापन हुन नसक्दा कोष परिसरमै फोहोर फालिदै आएको छ । फोहरमैला सबैजसो पालिकाका लागि साझा समस्या रहेको छ समाधान पनि साझा तरिकाले खोज्नु पर्छ ।

सिद्धार्थनगर नगरपालिकाले डण्डा खोलामा फालेको फोहोररका कारण हवाई सुरक्षामा समेत चुनौती थपेको छ । विमानस्थलको वरपरसम्म फोहर फाल्नाले त्यहा उड्ने चराले उडानमा अवरोध गर्न सक्ने छिटै नै यस्को विकल्पको रुपमा व्यवस्थित दीर्घकालिन व्यवस्था गर्न जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!