भैरहवा । आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न होटल संचालनमा आएको हो । होटल संचालक राबहादुर थापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी होटल समृद्धि संचालनमा ल्याएको जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै अवस्थित यस होटल समृद्धिमा सिल्भर रूम, गोल्ड रूम, डाइमण्ड रूम, प्लाटिनम रुम गरी ३६ वटा विभिन्न क्याटगरीका कोठाहरु छन् । ‘हरेक कोठामा एसी, एटेज वाथरुम, वाईफाई, आरामदायी र अत्याधुनिक सुविधा उपलब्ध छन्’, थापाले भने, ‘लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरमा विशेष गरेर लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर संचालन गरिएको होटल समृद्धिमा पाहुनाहरुको सुरक्षालाई विशेष ध्यान दिइएको छ ।’
उनले स्वास्थ्य मानिसको सबैभन्दा महत्वपूर्ण पाटो भएको जनाउँदै यसैलाई मध्यनजर गर्दै स्वस्थकर खानालाई प्राथमिकतामा राखेको बताए । ‘पर्यटकको रोजाई अनुसार नेपाली, इण्डियन, चाइनिज कन्टिनेन्टल खानाका परिकार समृद्धिमा उपलब्ध रहनेछन्’, संचालक थापाले भने । एकै पटकमा ५० जनासम्म अट्न सक्ने रेष्टुरेण्ट, बर्थडे पार्टी, एनिभर्सरी लगायतका पारिवारिक कार्यक्रमका लागि क्याविनको समेत व्यवस्था यहाँ छ । सेमिनार हल, पार्किङ्गको सुविधा रहेको यस होटलमा शुभारम्भको अवसरमा हरेक कोठामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
‘नाफा कमाउने उद्देश्य भन्दा पनि पर्यटकको सुविधालाई लक्षित गरी संचालन गरिएको हो’, थापाले भने, ‘होटल समृद्धिको रेष्टुरेण्टमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले रेष्टुरेण्टको मेनुमा समेत न्युन दर कायम गरिएको छ ।’ पर्यटकको लुम्बिनी बसाइँ लम्बाउनका लागि होटल समृद्धिले भारतीय पर्यटकलाई लक्षित गरी भैरहवा, पोखरा मुक्तिनाथ तथा धार्मिक पर्यटकलाई बुद्धसर्किट भैरहवा, लुम्बिनी, तिलौकोट कपिलवस्तु र रामग्राम नवलपरासीसम्मको प्याकेजको व्यवस्था गर्ने उनले जनाए ।

‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोरोनाकाल पछि सुस्ताइरहेको अवस्थामा नेपाली युवाहरुलाई आफ्नै घरआगनमा रोजगारी दिने र पलायन युवा जनशक्तिलाई नेपालमै रोक्ने हाम्रो अर्को महत्वपूर्ण उद्देश्य हो’, उनले भने । सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालन गर्नुपर्ने उनले जनाए । ‘विमानस्थल पूर्णरुपमा संचालनका लागि दवाव सिर्जना गर्ने र यहाँको पर्यटन व्यवसायलाई जोगाउने काममा सबै लाग्नपर्छ’, उनले भने ।
