भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बी भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी मनाउँदैछन् । सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ।
कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर र पुतनालगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ।
मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखेर चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ। आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मसमयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।
नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्छ। बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
