भैरहवा । शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा भग्नाअवशेष विहारका पर्खाल र प्राचिन पोखरीको संरचना फेला परेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, यूनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिब एक महिनादेखि गरेको उत्खननबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा रामग्राम स्तुपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचिन विहारका भग्नाअवशेष र पोखरी भेटिएको जानकारी गराइएको हो ।
उक्त कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे । उनले अहिले भएको उत्खननबाट फेला परेका प्राचिन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउन समेत आग्रह गरे ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ ।
रामग्राममा प्राचिन विहारका भग्नाअवेष पर्खाल, पोखरी र अन्य प्राचिन सामाग्रहीहरु फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनले रामग्राम स्तुपको बारेमा हजारमिटर भन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनी प्राचित शहर रहेको देखिएको बताए । उनले कोलिय राज्यको सहरका रुपमा पण्डितपुर हुन सक्ने आधारहरु देखा परेको बताए ।
उत्खनन र भौगर्भिक सर्भेका बारेमा दुर्गाह विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तुप निकै महत्वपूर्ण प्राचिन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताए । उनले आफूहरु प्राविधिक रुपमा रामग्राम स्तुपका प्राचिन संरचनाहरु पत्ता लगाउने भए पनि यसको संरक्षण स्थानीयहरुले नै गर्नुपर्ने बताए ।
कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले रामग्राम स्तूपको महत्वलाई झल्काउनका लागि यसको उत्खखन र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताए । रामग्राममा भेटिएका पुरातात्विक भग्नाअवेशष र बस्तुहरुको कालअवधी (समय) पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताए ।
कार्यक्रामा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो । त्यसयता अहिले सन् २०२३ नोभेबर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो ।
