भैरहवा । लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरी ‘स्मार्ट शौचालय’ निर्माण पश्चात लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकको सहजताका लागि ४० लाखको लागतमा ‘स्मार्ट शौचालय’ निर्माण गरेको हो ।
लुम्बिनी विकास कोषसंग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको संघले शुक्रबार हस्तान्तरण कार्यक्रमका अवसरमा जानकारी दिएको छ । कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल यूनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरि करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तिय संस्था कर्मचारी संघले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुशी लागेको बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तीय संस्थाका मजदुरहरुको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरुलाई सहजता थप्ने बताउंदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए ।
पछिल्लो समय लुम्बिनीमा आन्तररक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएसंगै लुम्बिनीको सरसफाईलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ । लैंगिक र अपाङमैत्रीसंगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए । उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनेछन् ।
