६० प्रतिशत नर्स विदेश पलायन, नेपालमा अस्पताल नर्सविहीन बन्ने खतरा, राज्य गम्भिर बन्नुपर्ने !

अरुण ज्ञवाली

नर्सिङ्ग पेशामा संलग्न नेपालका ६० प्रतिशत नर्स विदेश पलायन भएकोमा सरोकारवाला समूहले चिन्ता व्यक्त गरेको छ ।

अभिभावकको ठूलो लगानी र आफ्नै देशमा रोजगारी गर्ने सुन्दर भविष्यका साथ नर्सिङ्ग अध्ययन पूरा गरेर स्वदेशमा राम्रो अवसर नपाएपछि पछिल्लो समय नर्सिङ्ग पेशामा संलग्न नेपालका ६० प्रतिशत नर्स विदेश पलायन भएकोमा उनीहरुले चिन्ता व्यक्त गरेको हुन ।

नर्सिङ्ग पेशामा लामो समय बिताएका नर्सहरुको समूह दक्ष नर्स विदेश पलायन हुनु बिडम्बनापूर्ण भएको ठहर गरेको छ । पूर्व नर्सिङ्ग सेवा समूह रुपन्देहीका अध्यक्ष विष्णु गुरुङ्गले दक्ष नर्स विदेश पलायन हुँदा नेपालका अस्पताल नर्सबिहीन हुने अवस्था आएको बताइन् । उनले दक्ष नर्स प्राविधिकलाई राज्यले उचित सम्मानका साथ स्वेदशमै प्रोत्साहन र हौसला दिनुपर्नेमा जोड दिइन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नर्सिङ्ग प्रमुख नेहा थापाले नर्सहरुको विदेश पलायनलाई राज्यले गम्भिर रुपमा लिनुपर्नेमा जोड दिदै नर्स पलायन रोक्न नसके मुलुकले भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिइन् ।

क्रिमसन अस्पताल, मणिग्रामकी एचओडी निरा न्यौपाने अर्याल, यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाका मेडिकल सुपरीटेण्डेण्ट डा. सदन मुखी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, भीम अस्पताल भैरहवाकी प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. शकुन्तला गुप्ता लगायतले नर्सको समस्या समाधान गर्न सरकार गम्भिर बन्नुपर्नेमा जोड बताए ।

अहिले नेपालका अधिकांश स्वास्थ्य संस्थामा नर्सिङ्ग जनशक्ति कम छ । तलब सुविधा कम भएका कारण अधिकांश नर्सले बीचमै काम छाड्ने क्रम बढ्दो छ । एकातिर जागिर छाड्ने संख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको संख्या कम हुँदै जानु स्वास्थ्य क्षेत्रका लागि चिन्ताको विषय बनेको छ ।

नेपालमा नर्सिङ्ग जनशक्तिको अभाव हुनुमा कम उत्पादन र यसको जनशक्ति विदेश जानुलाई सरोकारवाला मुख्य कारण मान्छन् । यसलाई बुझ्न हरेक वर्ष उत्पादन हुने जनशक्ति र विदेश जानेहरुको तथ्यांक हेर्नुपर्ने हुन्छ । नर्सिङ्ग काउन्सीलको तथ्यांक अनुसार हालसम्म दर्ता भएका नर्सको संख्या १ लाख २१ हजार छ । तर, यी सबै जनशक्ति नेपालमा छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान अनुसार अहिलेकै अवस्थामा पनि निजी र सरकारीमा गरी ६५ हजार नर्स जनशक्ति नेपालमा कार्यरत हुनुपर्ने अवस्था हो । तर, हाल १८ हजार सरकारी र ३२ हजार ५ सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको संख्या ५० हजार ५ सय मात्र रहेको छ ।

स्वास्थ्य मन्त्रालयले ३ वर्ष अगाडि गरेको राष्ट्रिय मानव स्रोत रणनीतिक अध्ययन प्रतिवेदन अनुसार हाल सरकारी अस्पतालमा कार्यरत नर्सको संख्या १८ हजार छ । अध्ययनले सन् २०३० सम्ममा नेपालमा निजी र सरकारीमा गरी ८१ हजार नर्स चाहिने प्रक्षेपण गरेको छ । तर, यसै गरी नर्स विदेश पलायन भइरहने हो भने २०३० मा हाल कार्यरत रहेको भन्दा कम नर्स जनशक्ति हुने सरोकारवालाले चेतावनी दिएका छन् ।

नर्सिङ्ग जनशक्ति अभावको प्रमुख कारण उनीहरुको विदेश पलायन स्वास्थ्य मन्त्रालय नर्सिङ्ग महाशाखाका अनुसार विदेशिने नर्सको संख्या ठूलो छ । हरेक वर्ष १ हजार भन्दा बढी नर्स विदेशिने गरेका छन् । मन्त्रालयका अनुसार २०५९ हाल ०८१ कार्तिकसम्म ४३ हजार नर्स विदेश जान एनओसी लिएका छन् ।

एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश पलायन भइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा रहेको नर्सिङ्ग महाशाखाले जनाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकलाई हेर्दा श्रम स्वीकृत नलिई विदेश जाने नर्सको संख्या उल्लेखनीय छ । तर, सीमित नर्सले मात्र श्रम स्वीकृति लिएर विदेश जाने गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा श्रम स्वीकृति लिएर विदेश जाने नर्सको संख्या ७ सय ३४ छ । साउन यता मंसिरसम्म श्रम स्वीकृति लिएर २ सय ५ जना नर्स विदेश पलायन भएका छन् ।

विदेश जानेमध्ये सबैभन्दा धेरै नर्स युके, जापान, अष्टे«लिया, क्यानडा लगायत देश पुग्ने गरेका छन् । त्यहाँ तलब, सुविधा राम्रो भएका कारण नेपालका नर्स ती देश पुग्ने गरेका छन् । त्यस्तै जर्मनी, अमेरिका, माल्दिभ्स, दुबई, साउदी अरब, कतार लगायत देशहरुमा पनि नर्स जाने गरेका छन् । वैदेशिक विभागका अनुसार नेपालबाट जापान, अष्टे«लिया, अमेरिका, क्यानडा लगायत देशमा जाने नर्सले मासिक २ देखि ५ लाखसम्म कमाउने गरेका छन् ।

नेपालमा भने नर्सको तलब ज्यादै न्यून छ । सर्टिफिकेट तथा स्नातक तहसम्म पढेका नर्सलाई १५ देखि ४० हजारसम्म तलब दिइने गरेको छ । सो भन्दा माथिल्लो शैक्षिक अनुभव र कार्यअनुभव भएका नर्सलाई ४५ देखि ७० हजारसम्म तलब दिने गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!