भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा फोहोरलाई लिएर पुनः स्थानीयहरु विरोधमा उत्रेका छन । विगत ३ दशक देखि स्थानीय डण्डा खोला नजिकै फालिदै आएको फोहोर अव्यवस्थित रुपमा फाल्दा दुर्गन्धित भएको भन्दै स्थानीयले बुधबारबाट फोहोर डम्पिङ हुन दिएका छैनन ।
नगरको फोहोर दैनिकरुपमा नगरपालिकाले संकलन गरी खोला किनारमा फाल्दै आएको थियो, नगरपालिकाले चासो नदेखाएको भन्दै सिद्धार्थनगर वडा नम्बर १ र २ का बासिन्दाले फोहोरको गाडी प्रवेश नै रोक लगाएका हुन । दर्जनौ पटक मौखिक, लिखीत, डेलिगेश्न, नगर सभाबाट व्यव्सथापनका लागि आवाज उठाएपनि सरोकारवाला निकायले व्यवास्ता गरेकोले फोहोर फाल्न नदिएको पीडित स्थानीयको भनाई छ ।
विरोधकै समयमा नगरपालिकाले ३ दिन देखि उठ्न नसकेको फोहोर संकलन गरी स्थानीय प्रशासनको सहयोगमा आइतबार डम्पिङ साइड लैजादा गर्दा केही समय अवस्था असमान्य बनेको थियो । नगरपालिकाले प्रशासनको आडमा बल प्रयोग गरी स्थानीयको भावना विपरित काम गरेको भन्दै सोमबार स्थानीयले नगरपालिका र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरी विरोध जनाएका छन ।
निरन्तर फोहोर फाल्नु बाहेक सरोकारवाला निकायले डम्पिङ क्षेत्रको व्यवस्थापनमा कुनै चासो नदिएकोले बाध्य भएर विरोध गर्नु परेको स्थानीय संजीव गुरुङले भने । नगरका सम्पूर्ण क्षेत्र हराभरा बनाउने तर फोहोर जति वडा नम्बर १ र २ मा फाल्नु जायज नभएको भन्दै नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयबासी विभिन्न रोगबाट ग्रसित हुन पुगेको उनले भने ।
२०३५ सालमा व्रिटीस सेनाको स्थानानन्तरण भएपछि सो क्षेत्रमा फोहोर फालिदै आएको छ । भैरहवा नगरबाट दैनिक करिब ३० टन फोहोर संकलन भई नदी किनारमा फालिदा एका तर्फ नदीको जैविकता पनि गुम्दै गएको भने स्थानियको स्वास्थ्यमा पनि समस्या पारेको छ । फोहोरले वरपरको क्षेत्र मात्र दुर्गन्धित बनाएको छैन, त्यहा स्थित डण्डा नदी प्रदुषित र जलचर प्राणीको जीवनमा पनि ह्रास ल्याएको छ । नेपालमा मात्र नभई यस्को असर भारतीय सीमा नजिकै रहेका बस्तीमा पनि पुग्ने गरेको छ । फोहोरले नदीसँगै रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी, सिमा सुरक्षा कार्यालयका शसस्त्र प्रहरी, केही दुरीमै रहेको मेडिकल कलेज र नदी वरपरका बासिन्दालाई फोहोरले आजित बनाएको छ ।
पटक पटक हुदै आएको आन्दोलनका कारण गत वर्ष सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधान सहितको कार्यक्रम संचालन गर्ने सहमति गरको थियो । अल्पकालिन रुपमा डम्पिङ साइडको फोहोरमैलाको व्यवस्थापन गर्ने, मध्यकालिन कार्यक्रममा घरबाटै फोहोरको वर्गीकरण, सचेतनामुलक कार्यक्रम फोहोरको पुनः प्रयोग, प्रशोधन र न्युनिकरणका कार्यक्रमहरु संचालन गर्ने । त्यस्तै दीर्घकालिन समस्या समाधानको लागि सर्वदलिय, सर्वपक्षीय सहयोगबाट फोहोरमैला प्रशोधन केन्द्र व्यवस्थापन गर्ने र विकल्पको रुपमा अन्य नयाँ अवधारणा तयार गर्नुपर्नेे छलफलबाट निर्णय भएको थियो ।
अतिआवश्यक काम मध्येको फोहोरमैला व्यवस्थापनमा विगत ४ दिनदेखि नगरको फोहोर नउठ्दा आइतबार नगरपालिकाले फोहोर उठाएको हो । डम्पिङ साइडमा व्यवस्थापन गर्ने भनिएपनि उक्त क्षेत्र राती स्थानीयले विरोध गरेपछि नगरपालिकाले फोहोर अन्यत्र व्यवस्थापन गरेको छ । वर्खायामाको समयमा सडकमै फोहोर थुप्रिदा महामारी फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फोहोर तत्कालका लागि उठाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले भने ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले फोहोर् मैलाको दीर्घकालिन समाधानका लागि जिम्मेवारी सम्हालेदेखि न लागेको बताउदै स्थानीयसँग अबको तिहार सम्मको समय माग गरिएको बताए । अत्यावश्यक सेवामा अवरोध गर्दा स्थानीयको सुरक्षाकै लागि सुरक्षाकर्मी लगाइएको स्पष्ट पारे । छलफलको माध्यमबाट अहिलेको समस्या समाधानका लागि आव्हान गरेका छौ।
नगरपालिकाले प्रसोधन सहितको फोहोर मैला व्यवस्थापनको काम अगाडि बढाएको र केही दिनमै सम्झौता हुने जनाए । अत्याधुनिक प्रविधि सहितको योजना छ, जसबाट सय जनाले रोजगारी समेत पाउने भएको जग्गाको निश्चितका लागि प्रयासरत रहेको बताए ।
