भैरहवा । आज नेवार समुदायले गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी आजै मनाउन लागिएको हो । भैरहवामा नेवाःखल सिद्धार्थनगर भैरहवाले पनि याे पर्व मनाएकाे छ।
आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।

यस्तै घरको ढोकामा भूतप्रेत र अरु डरत्रासबाट जोगिन भन्दै फलामको तीनखुट्टे ओदान पनि गाड्ने गरिन्छ, । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न भन्दै फलामको औंठी लाउने चलन पनि रहेको छ ।
लिच्छविकालदेखि मनाउँदै आएको यो पर्वलाई नेवार समुदायले वर्षको पहिलो चाडको रूपमा पनि मनाउने गरेको छ। यो समुदायमा यही दिनबाट परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।

नेवाःखल सिद्धार्थनगरका अध्यक्षा चन्द्रप्रकाश श्रेष्ठकाे सभापतित्व लुम्बिनी प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री सन्ताेष पाण्डेकाे प्रमुख आत्थियतामा भएकाे कार्यक्रममा सिद्धार्थ उद्याेग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ , उद्याेग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवाली, साहित्यकार वनमाली निराकार, अाेमकार गाैचन , विजय गाेविन्द श्रेष्ठ लगायतले बाेलेका थिए ।
कार्यक्रम संयाेजक नवीन श्रेष्ठ काे स्वागत मन्तव्य तथा संस्थाका सचिव भाग्यवान महर्जनकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
