मायादेवीमा सार्वजीनक सुनुवाई, कृषकका समस्या बुझिदिन स्थानियकाे सुझाव

भैरहवा । रुपन्देहीको मायादेवी गाउंपालिकाका स्थानीयले पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । पालिकाको बुधबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले शिक्षा, स्वास्थ्य,पुर्वाधारका साथै कृषिको धेरै सम्भावना रहेकोले कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् ।

मायादेवी गाउंपालिकाको आयोजना तथा लुम्बिनी प्रेस क्लबको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । पालिका अध्यक्ष धु्रव नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका सबै वडाहरुबाट उपस्थित स्थानीयले विकास पुर्वाधार निर्माणका कामहरुको उचित अनुगमन हुनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मलखाद, विउविजन उपलब्ध गराउनु पर्ने, उत्पादित कृषिजन्य बस्तुहरुको बजार व्यवस्थापन गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए । साथै उनीहरुले पालिकालाई नारामा नमुना गाउंपालिका बनाउने भनिएपनि व्यवहारत सो नदेखिएको भन्दै आगामी योजना के छन् भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा उठेका जिज्ञाशालाई सम्बोधन गर्दै पालिका अध्यक्ष धु्रव नारायण चौधरीले आफु पनि कृषक भएका कारण कृषि क्षेत्रका धेरै समस्याका विषयमा जानकार रहेकोले क्रमैसंग समाधान गर्दै लैजाने बताए । पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायत प्राथमिकतामा राखेर आगामी नीतितथा कार्यक्रम बनाएको जानकारी दिए ।

यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले पालिकाले यस आर्थिक वर्षमा ९८ प्रतिशत आर्थिक प्रगति गरेको बताए । विकास निर्माणका कामको गुणस्तरीयता मापन गर्नको लागि पालिकामै ल्यावको व्यवस्था गरिएको जानकारी दिदै गुणस्तरीयतामा कुनै सम्झौता नगरिने बताए । उनले प्रशासनीक काममा समेत धेरै सुधार भएको दावी गरे ।

कार्यक्रममा आठ वटै वडाका वडाअध्यक्षले आआफ्नो वडावासीले उठाएको प्रश्नको जवाफ दिएका दिए । वडानम्बर १ का वडाअध्यक्ष पल्टु लोध, २ का वडाअध्यक्ष अगनु यादव, ३ का वडाअध्यक्ष मोहमम्द रफिक खान, वडा नम्बर ४ का वडाअध्यक्ष अरुण कुमार तिवारी, वडा नम्बर ५ का वडाअध्यक्ष तेज नारायण पाल, वडा नम्बर ६ का वडाअध्यक्ष अवधराज यादव, वडा नम्बर ७ का वडाअध्यक्ष एवम् पालिकाका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेय, वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाले वडास्तरमा काम गर्दा आईपरेका समस्याका बारेमा पालिकालाई जानकारी गराउनुका साथै वडावासीहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने, नेपाली कांग्रेसका गाउंसभापति पदम भण्डारी, नेकपा एमालेका गाउंसमिटी सचिव लाला लोध, नेकपा माओवादी केन्द्रका गाउंकमिटी अध्यक्ष सन्त कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी गाउंकमिटीका हरि बहादुर कुवंर, लगायतले पालिकालाई नमुना पालिका बनाउन सबै पक्ष प्रतिवद्ध रहनु पर्ने बताए । कार्यक्रमको सहजीकरण लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!