भैरहवा । इस्लाम धर्माबलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व इद– उल– अजहा (बकर ईद) आज बिहीबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्बत को १२ औ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । भैरहवा सहित नेपालभरका मुस्लिम समुदायले विहानै सामूहिक नमाज पढी बकरइद पर्वको सुरुवात गरेका छन ।
इदलुफित्र पर्वको ठिक ७० दिन पछि शुरु हुने यो पर्वमा तीन दिनसम्म मनाइन्छ । बकराईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरीन्छ ।
पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाईन्छ । अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो, जस अनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हात बाट अक्स्मात छोराको ठाँउमा दुम्बा(मरुभुमिमा पाइने भेडा) राखी बलिदान गर्ने भनी आदेश दिए, बलिदान दिदा इबा्रहिमको नजरमा उन्को छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो तर आखाँ खोल्दा छोरा नभएर एउटा दुम्बा लाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाईन्छ ।
बकरइदमा नमाजपछि अ—आफनो घर गई क्षमता र हैसियत हुनेहरुले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने प्रवधान छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको हुनु हँुदैन ।
इस्लामिक धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लाीग, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस भन्ने मान्यता रहेको छ ।
कुर्बानीको मासु तराजुमा तौलन् र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ । यस्तै दोश्रो र तेश्रो दिन पनि कुरवानी दिन सकिन्छ । यो बकरईदसंग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ, जसका लागि हजयात्रीहरु साउदी अरेवियाको मक्का पुगिसकेका छन , हजमा गएका सबै बकरइदको नमाज साउदीमा नै पढ्ने गर्छन । पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । यो महिना पछि इस्लामिक नयाँ वर्ष मोहर्रम शुरु हुन्छ ।
