मे १२ देखि १४ तारिखसम्म सञ्चालन हुने १९ औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी हुन मलेसिया प्रस्थान गर्न लागेका खेलाडीहरुलाई विदाई गरिएको छ । नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा एक कार्यक्रमकाबीच विदाई गरेको हो ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै १३ जना सहभागी हुनेछन् । जसअन्तर्गत टीम प्रशिक्षकमा कमरुद्दीन अली, टीम व्यवस्थापकमा शोभाखर पन्थ, अफिसियलमा समी थापा शर्मा, खेलाडीहरुमा देव कुमार शाह, प्रशेष शाही, सन्यम कंडेल, आरोन शेरचन, रिदेश बस्याल, प्रसिद्वी शर्मा, वैशनभी वर्मा, आकृति कंडेल र समीक्षा सार्की रहेका छन् ।
विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरे । उनले विगतमा श्रीलंकामा भएको कराते प्रतियोगितामा पनि खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको बताए । उनले भने, ‘खेलाडीको माध्यमबाट मुलुकको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुन्छ ।’
नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरत बहादुर के.सी.ले नेपाल वादोरियो कराते डो संघ संघर्षकाबीच जन्मिएको बताए । उनले खेलाडीहरुले श्रीलंकामा राम्रो खेल प्रदर्शन गरेझै मलेसियामा पनि गर्ने विश्वास व्यक्त गरे ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनीलाई खेल पर्यटनसागसागै लैजानुपर्ने सुझाव आइरहेको बताए । उनले प्रतियोगितामा नेपालको सहभागीताले मुलुकको शिर उचो राख्ने बताए ।
कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारी, नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशका अध्यक्ष जेनेश पन्थी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरी, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष एवं नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेश सदस्य सम्झना शर्मा, नमस्ते एकेडेमीका प्राचार्य जिग्मे शेर्पालगायतले बोल्दै खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
