सम्झना शर्मा
लामो समय लकडाउनको मारमा परेका रुपन्देहीका उद्योगहरु पछिल्लो समयमा विद्युत आपुर्तिमा आएको अनियमिता र कम भोल्टेजका कारण हैरानमा छन् ।
कोरोना भाईरसको महामारीको रोकथामका लागि सरकारले गरेको लकडाउनमा उत्पादन ठप्प गरेर बसेका उद्योगहरु लकडाउन सहज भएसंगै आंशिक रुपमा संचालनमा छन् ।
बजारमा सिमेन्टको माग न्युन हुंदा कम मात्रामा उत्पादन गरिरहेका उद्योगहरु करीब एक महिना यता दिनमा पटक पटक विद्युन जाने र विद्युत आएपनि निकै कम भोल्टेजका कारण उद्योग संचालनमा कठिनाई भएको भैरहवा लुम्बिनी करिडोरमा रहेको वृज सिमेन्टका महाप्रबन्धक रवि रन्जनले गुनासो गर्नुभयो ।
“लकडाउनका कारण नेपाली क्लिङ्गकर उत्पादन प्रयाप्त उपलब्ध हुन सकेन, जसका कारण भारतबाट आयात गरिएको कच्चा पदार्थ प्रयोग गर्दा उत्पादनको लागत मुल्य बढी पर्न गएको छ । तर पनि बजारको कडा प्रतिष्पर्धाका कारण घाटा खाएर उत्पादन विक्री गर्न बाध्य छौं । उहांले भन्नु भयो ।” अझ यसरी विद्युतमा देखिएको ट्रिपिङ्गका कारण पावर बढी खाने र लागत बढ्ने , करोडौं पर्ने ठुला मेसिनहरु पटक पटक रिभ्यु गर्नुपर्दा विग्रिने खतरा रहेको महाप्रबन्धक रन्जनको भनाई छ ।
उद्योगका संचालकहरुका अनुसार मेसिन स्टाट गरेदेखि २४ घण्टामा ४ देखि ८ पटकसम्म विद्युत जाने आउने गरेको छ । विद्युत आयो भनेर मेसिन सुचारु गऱ्यो चल्न नपाउंदै पुन विद्युत जान्छ । यसरी कसरी उद्योग चल्न सक्छन् रिलायन्स सिमेन्टका संचालक ऋषि अग्रवालले भन्नु भयो । यस्तै समस्या यहां रहेका हरेक उद्योगमा परेको छ । विद्युतको ट्रिपिङ्ग र कम भोल्टेजका कारण उद्योग संचालनमा निकै कठिनाई भोग्नु परेको अग्नी सिमेन्टका संचालक राजकुमार पोख्रेलले बताउनु भयो । एकपछि अर्को समस्यामा पर्दा उद्योगहरु पहिलाको अवस्थामा फर्किन समय लाग्ने संचालक पोख्रेलको भनाई छ । यस्तै जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुंगाना,अर्घाखांची सिमेन्ट उद्योगका महाप्रवन्धक उद्धव बहादुर कार्की, नेपाल अम्बुजा सिमेन्ट उद्योगका महाप्रवन्धक राजकुमार गुप्ता,सुप्रिम सिमेन्टका सरोज पौडेल लगायतले विद्युतका कारण उद्योगहरु निकै मारमा परेको बताउनु भयो । जसका कारण उत्पादनमा कमि आउनुका साथै उत्पादन लागत समेत बृद्धि हुने उहांहरुको गुनासो छ ।
विगत केही महिना देखि रुपन्देहीमा विद्युत् आपूर्तिमा ठूलोमात्रामा अनियमितता आएको हो । दैनिक पटक पटक विद्युत लाईन जाने, भोल्टेजको उतार चढावले दिनहुं जसो उद्योगका मेशिनरी सामानहरु खराब हुने अवस्थामा छन् ।
सबैभन्दा पहिला विद्युत महशुल बुझाएर विद्युत प्राधिकरणलाई सहयोग गर्दै आएको आद्यैोगिक क्षेत्र नै अनियमित विद्युत आपूर्तीको शिकार बनेको छ ।

विद्युतको अनियमिताकै कारण उद्योग सहज रुपमा संचालन हुन नसकेको सिद्धार्थ सिमेन्ट उद्योगका बजार प्रबन्धक सुमन पौडेलले बताउनुभयो ।
उहांका अनुसार विद्युत ट्रिपिङ र भोलजेटमा उतारचढावका कारण उद्योगहरुले निकै समस्या भागेका छन् तर समाधानको कुनै पहल भएको देखिदैन । यस करिडोरमा विभिन्न दुई दर्जन उद्योगहरु संचालनमा छन् । नेपाल अम्बुजा सिमेन्ट,जगदम्बा सिमेन्ट,अर्घाखांची सिमेन्ट,रिलायन्स,सुप्रिम,पाठक,अग्नी,वृज,विशाल,सिद्धार्थ लगायतका सिमेन्ट तथा अन्य उद्योगहरुले लकडाउनका कारण समस्या झेल्दै आएकोमा पछिल्लो समय विद्युतमा देखिएको समस्याका कारण यहांका उद्योगहरु नै धरासायी बन्दै गईरहेकोले समस्याको हल गरिदिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
यता नेपाल विद्युत प्राविधकरण भैरहवा वितरण केन्द्रका प्रमुख इं.जितेन्द्र कुमार झाले विद्युतको उत्पादन र प्रशारणमा असन्तुलन हुंदा गत मंगलबारदेखि बढी ट्रिपिङ्गको समस्या देखिएको बताउनु भयो । काली गण्डकीमा आएको बाढीका कारण १३२ केविए प्रशारणको सिस्टम फेल भएकोले सोको मर्मत गर्ने क्रममा केही समस्या आएपनि अब विस्तारै सुधार भईरहेको दावी प्रमुख झा को छ । यसका अलवा वर्षाको समयमा पानी र हावाहुरीले विद्युत तार नजिकका रुख विरुवा ढालेर तारमा छोईदा समेत विद्युत जाने आउने भएको प्रष्ट पानुभयो । यस्तै लो भोल्टेज किन भन्ने प्रश्नमा प्रमुख झा भन्नु हुन्छ “जाडोको तुलनामा गर्मीमा घरायसी माग पनि बढी हुन्छ यसको लोड बढ्न जान्छ जसका कारण भोल्टेजमा गुणस्तर कायम गर्न कठिन हुन्छ ।” भोल्टेजको समस्याको दीर्घकालिन समाधानका लागि रुपन्देहीको मैनहियामा निर्माणाधिन १३२ केविए शवस्टेशनको काम पुरा हुनै पर्ने उहांको भनाई छ ।
उहांका अनुसार मैनहियामा बन्न लागेको सव स्टेशनका ५४ वटा टावर मध्ये ३४ वटा निर्माण भएका छन् भने २४ वटाको काम अझै बांकी छ । तर प्रमुख झा भने यसै आर्थिक वर्षमा सो सवस्टेशन संचालनमा आउने र लो भोल्टेजको समस्याको दीर्घकालिन समाधान हुनेमा विश्वस्त हुनुहुन्छ । भैरहवा वितरण केन्द्रमा माग अनुसारको विद्युत रहेपनि ओभरलोडका कारण यहांका उद्योग,आम उपभोतmा लो भोल्टेजको मारमा पर्दै आईरहेका छन् । एकातिर सरकार एमसिसि पास गरी विद्युत निर्यात गर्ने सपना देख्दै छ । अर्कोतर्फ विगतकै जस्तै यहांका उद्योगीहरुले गुणस्तरीय विद्युत नपाउंदा उत्पादन नै प्रभावित हुनपुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
