भैरहवा । सिद्धार्थनगर नगरपालिका सहित तिन स्थानिय तहको फोहरमैला ब्यवस्थापनमा राजनितिकरण हुदा संभव नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । हाउजिङ तथा टेनान्टस् अर्गनाइजशन नेपालको आयोजना तथा सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाको सहकार्यमा भैरहवामा भएको फोहर मैला व्यवस्थापन – चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले फोहरमैला ब्यवस्थापनमा राजितिज्ञहरुले जनता उचाल्दा समस्या सिर्जना भएको बताएका हुन् ।
कार्यक्रममा प्यानल डिस्कसन भएको थियो । पत्रकार नरेश केसीको संचालनमा भएको प्यानल डिस्कसनमा तिन वटा स्थानिय तह सिद्धार्थनगर नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको प्रमुखहरु बिच फोहरमैला ब्यवस्थापनको बिषयमा छलफल भएको थियो ।
छलफलमा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले जग्गा खोजेर फोहरमैलाको ब्यवस्थापनको लागी प्रयास गरेपनि स्थानिय राजनितिक दलले बिरोध गरेका कारण सफल हुन नसकेको बताए । खाननले करिव १५ दिनमा फोहर ब्यवस्थापनको समाधान गरिने बताए ।
रोहीणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले फोहरमैला ब्यवस्थापनको लागी तिन वटा पालिका मिलेर रोहीणी करिव ८ बिगाहा जग्गाको ब्यवस्थापन गरेपनि केही राजनितिक दलका नेताहरुले जनता भड्काउने काम गरेका कारण अवरोध भएको बताए ।
ओमसतिया गाउँपलिकाको उपप्रमुख सुनिता चौधरीले ओमसतिया गाउँपालिकामा पट्खौलीमा फोहरमैला व्यवस्थापनको लागी खरिद भएको जग्गा त्यसक्षेत्रको धार्मिक मन्दिर सतियामाइको नजिकै पर्ने भएका कारण आफुहरुले सहकार्य गर्न नसक्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका पुर्व बरिष्ठ इन्जिनियर शैलेन्द्र श्रेष्ठले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको १० किमी भित्र फोहरमैला ब्यवस्थापन गर्न नमिल्ने कारण नगरपालिका भन्दा बाहिर जग्गा खोज्नुपर्ने बाध्यता रहेको बताए । फोहरमैला ब्यवस्थापन गर्न जग्गा किनेर काम गर्न प्रयास पटक पटक गरेपनि स्थानियको बिरोधका कारण संभव हुन नसकेको बताए । श्रेष्ठले नगरपालिकाले गर्न खोजेको कामनै नबुझी बिरोध मात्र भएको बताए । श्रेष्ठले डम्पिङ साइट नभएर प्रसोधन केन्द्रको रुपमा बिकास गर्न खोजेको कुरा सबैले बुझ्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले फोहरमैला ब्यवस्थापनको लागी तिन तह एकैठाउमा आएर अघि बढ्नु एकदमै सकारात्मक बिषय भएको बताए ।
कार्यक्रममा बोल्दै थापाले फोहरमैला ब्यवस्थापन स्थानिय तहले चाहे मात्र संभव हुने बताए । थापाले फोहरमैला ब्यवस्थापनका लागी नागरिक स्तरमा सचेतनाको काम पनि जरुरी रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले एक बर्ष भित्र आफुले फोहरमैला ब्यवस्थापनको बिषय समाधान गर्ने गरी प्रयास गर्ने बताए ।
कार्यक्रममा बोल्दै हाउजिङ तथा टेनान्टस् अर्गनाइजशन नेपालको अध्यक्ष स्वाती थापाले फोहरमैला ब्यवस्थापन समयमै नभए भविष्यमा ठुलो चुनौती निम्तने खतरा भएको बताइन् । डण्डा नदि किनार अन्तराष्ट्रिय सिमा नजिकै फोहर फाल्नु ठिक नभएको बताउदै थापाले फोहरमैला ब्यवस्थापनको बिषयमा गम्भिर भएर सोच्नुपर्ने जानकारी दिइन् । थापाले फोहरमैला ब्यवस्थापनको बिषयमा राजनितिकरण हुनु गलत भएको बताइन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका पुर्व उपप्रमुख उमा काफ्ले, ओमसतिया गाउँपालिकाको पुर्व प्रमुख हिरा केवट, नेकपा एमालेका नेता भरत पोखरेल, रोहीणीका स्थानिय एमाले नेता प्रदिप पाण्डे, सिद्धार्थनगर नगरपालिकाका पुर्व कर्मचारी शेखर पन्थी लगायतले आफ्ना कुराहरु राखेका थिए ।
