रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित

भैरहवा । लुम्बिनी शाक्यन क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामामा प्रोफेसनल मास्टर्स–११ ले जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा प्रोफेसनलले लुम्बिनी शाक्यनमाथि ३० रनको जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनल मास्टर्सले मौसमका कारण ४५ ओभरमा छोट्याइएको खेलमा ४० ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको मध्यमस्तरको योगफल खडा गर्यो । उसका लागि अजय रसाइलीले २३, ड्रस सुनारले १९, मोहम्मद हुसेनले १५, तुसार चौहानले ११ र अजय यादवले अविजित १० रन जोडे । बलिङमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान र अहम्मद खानले ३–३ तथा आकाश गिरी, रामायण साहनी, अजमत अली र प्रियान्सु बर्माले समान १–१ विकेट लिए ।

१ सय ३७ रनको लक्ष्यसहित ब्याटिङमा आएको लुम्बिनी शाक्यन २९ ओभर २ बलमा १ सय ६ रनमै अलआउट भयो । उसका लागि अब्दुल रबले ३९, अहम्मद खानले १७ र अजमत अलीले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले मध्यमस्तरको लक्ष्य समेत भेट्टाउन नसक्दा पराजित हुन पुग्यो । लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनल मास्टर्सका कृष्ण पराजुलीले ७ ओभर २ बलमा १ मेर्डनसहित १५ रन खर्चेर महत्वपूर्ण ५ विकेट हात पारे । यस्तै, मोहम्मद हुसेनले २ तथा ड्रस सुनार, करण केवट र तुसार चौहानले समान १–१ विकेट लिए । खेलमा कृष्ण पराजुली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!