पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड

भैरहवा । उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको स्वागत तथा परिचयात्मक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि विगतमा संगठनले दबाबमूलक कार्यक्रम गरेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि निर्माण सुरु भएको बेथरी पुल हालसम्म निर्माणसम्पन्न भएको छैन । जसका कारण नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको छ ।’

त्यस्तै संगठनकी सल्लाहकार ज्ञानु पौड्यालले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

मिश्रवलिया–उदयपुर टोल विकास समितिकी अध्यक्ष कमला रायमाझीले सिद्धार्थनगर क्षेत्रको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

मदिरा व्यवसायी संघ भैरहवाका महासचिव यादव पोख्रेलले अवैध मदिरा नियन्त्रण गर्नुपर्ने बताए ।

रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्यले रुपन्देही पर्यटकीय हब भएकाले रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रशासनबाट सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘पर्यटकलाई सुविधा प्रदान गर्नुपर्छ ।’

गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डेले लागूऔषध दुव्र्यसनी जटिल समस्याको रुपमा रहेको र यसले समाजमा नकारात्मक असर पुगेको बताए ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कार्यालय प्रमुख विष्णु कंडेलले भारतीय ओभरलोड गाडीले समस्या पारेको भन्दै यसप्रति विशेष ध्यान दिन आग्रह गरे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले पर्यटकलाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्राले पर्यटन सम्बन्धी धेरै समस्या रहेकोले यसको समाधान आवश्यक रहेको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार प्रकाश श्रेष्ठले खुल्ला सीमा नाकामा हुने अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने बताए । उनले भारतीय पर्यटकलाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

संगठनका सल्लाहकार दीपक बहादुर कुँवरले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका भएको र पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले खुल्ला सीमाका कारण चुनौती रहेको र स्वदेशी बजारलाई गुल्जार बनाउनुपर्ने बताए ।

संगठनका सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेले मगन्तेको बिगबिगी भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्री, नारायण प्रसाद भण्डारी लगायतले बोलेका थिए ।

उठेका समस्याहरुको समाधानको बाटो खोज्छु ः प्रजिअ घिमिरे

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतीय सीमासँग जोडिएको रुपन्देही जिल्लामा अवसर र चुनौती दुवै भएको बताए । उनले कार्यक्रममा उठेका समस्याको समाधानको बाटो खोज्ने बताए । उनले भने, ‘केही राम्रा कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मेरो तुलना÷प्रतिष्पर्धा कसैसँग हुँदैन । मेरो तुलना÷प्रतिष्पर्धा मसँगै हुन्छ । तपाईहरुको साथ पाउने अपेक्षा राखेको छु ।’

आफूले विगतमा भएका नयाँ अभ्यासलाई निरन्तरता दिने र नयाँ कार्य सुरुवात गर्ने उनको भनाइ छ । रात्रिकालीन व्यवसाय सञ्चालनले सुरक्षा चुनौती नहुने र व्यवसाय पनि चल्ने गरी अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!