अब चालकले कागजपत्र बोक्नु पर्दैन, मोबाइलमा लाइसेन्स देखाउँदा हुन्छ

नागरिक एपमार्फत गाडी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । यो सेवा आइतवारदेखि विशेषगरी काठमाण्डौ उपत्यकामा लागू भएको छ । यो सुविधासँगै नियम उल्लङ्घन गर्ने चालकले तत्कालै डिजिटल भुक्तानीमार्फत जरीमाना तिर्न सक्ने व्यवस्था पनि शुरू भएको छ ।

यो सेवा उपयोग गर्नको आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो नागरिकताको फोटो र स्मार्ट लाइसेन्समा भएको क्यूआर कोडको फोटो एपमा अपलोड गर्नुपर्छ । यदि स्मार्ट लाइसेन्स छैन भने लाइसेन्स नम्बर मात्रै राखेर पनि सेवा प्रयोग गर्न सकिन्छ । यसरी सबै प्रक्रिया पूरा गरेपछि यो सेवा सजिलै प्रयोग गर्न सकिन्छ ।

नागरिक एपमा डिजिटल लाइसेन्स उपलब्ध भएपछि स्मार्ट लाइसेन्स कार्ड नबोके पनि हुन्छ । लाइसेन्स पर्खिरहेका व्यक्तिहरूले पनि अब कुरिरहनु पर्दैन, लाइसेन्स नम्बर भए मात्र पर्याप्त हुन्छ । तर यो सेवा देशभर पूर्णरूपमा लागू नभएकाले कतिपय ठाउँमा लाइसेन्स कार्ड बोक्नुपर्ने हुन सक्छ ।

अब नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी धेरै काम डिजिटल रूपमा गर्न सकिन्छ । जस्तैः– ट्राफिक नियम उल्लङ्घन गर्दा जरीमाना तिर्ने प्रक्रिया पनि यस एपबाट सजिलै गर्न सकिन्छ । पहिले ट्राफिक प्रहरीले चालकको लाइसेन्स, सवारी दर्ता किताब वा सडक इजाजत पत्र लिएर २४ घण्टे पुर्जी जारी गर्ने गथ्र्यो, अब भने चालकले नागरिक एपमा रहेको क्यूआर कोड र लाइसेन्स देखाए मात्र पुग्छ । ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपबाट क्यूआर कोड स्क्यान गरी कारबाही प्रक्रिया अघि बढाउँछ । नागरिक एपको क्यूआर कोड स्क्यान भएपछि ट्राफिक कारबाहीको अभिलेख व्यवस्थापनमा सबै जानकारी सुरक्षित हुन्छ ।

अब चालकले कागजपत्र देखाउँदै यात्रा गर्नुपर्ने छैन । लाइसेन्स जाँच गर्दा नागरिक एपमा भएको डिजिटल लाइसेन्सलाई मान्यता दिइनेछ । दुर्घटना भए पनि नागरिक एपमा भएको लाइसेन्स प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ । स्मार्ट लाइसेन्स नआएको भन्दै कुर्नुपर्ने झन्झट पनि हट्नेछ । ट्राफिक प्रहरीले चिट काट्न कागज र कलमको प्रयोग गर्नुपर्ने छैन । ट्राफिक सेवा व्यवस्थित गर्न प्रविधि थप मैत्री बनाइएको छ, तर अझै केही सेवाहरू डिजिटल प्रणालीमा पूर्णरूपमा सरल भएका छैनन् ।

अहिले यो सेवा परीक्षणको चरणमा छ । धेरै नागरिकलाई यसको बारेमा जानकारी छैन, कतिले नागरिक एप नै प्रयोग गर्नुहुन्न र कतिपयसँग इन्टरनेटको पहुँच पनि छैन । परीक्षणकै क्रममा भएकाले पहिलो चरणमा यस सेवाबारे नागरिकलाई जानकारी दिने र यसको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ । यसबारे जानकारी बढ्दै गएपछि बिस्तारै पूर्णरूपमा लागू हुनेछ । काठमाण्डौ उपत्यकामा शुरू भएको यो सेवा प्राथमिक रूपमा बाग्मती प्रदेशमा भए पनि अरू ठूला शहरहरूमा पनि यसको बढी आवश्यकता छ । सबै ठाउँमा बिस्तारै यो सेवा पुग्छ । अरू प्रदेशमा पनि सम्बन्धित निकायहरूको सहयोग र निर्देशनअनुसार विस्तार गरिनेछ, तर यो सेवा देशभर पूर्णरूपमा लागू हुन अझै केही समय लाग्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!