भैरहवा । दशैँ आउनु पूर्व नै नेपालको सबै सिमावर्ति भारतिय बजारहरूमा नेपाली उपभोक्ताहरूको घुइँचो लाग्ने गरेको छ । विशेष गरी सिमा क्षेत्रमा रहेका नेपालका ठुला शहरहरूसँग जोडिएका सुनौली, नौतनवा, ककरहवा, भगवानपुर लगायतका भारतीय बजारहरूमा अहिले दिनहु हजारौ नेपाली उपभोक्ताहरू दशैँ तथा चाडपर्वका लागि भन्दै जाने गरेका छन् । चिनी र लत्ताकपडा सस्तो पाइने लोभमा भारत जानेहरु अन्य सामानहरू पनि खरिद गरि आउने गरेका छन । दशै सुरु भएसँगै अहिले दिनहु खरिदारीका लागि भारत जानेहरूको घुइँचो बढेको छ ।
दशैँ तिहार जस्ता पर्वमा मात्र सामान्य खरिदारीमा अर्बौ रूपैयाँ भारतिने गरेको पाइएको छ । अहिले भारतसँग जोडिएका खुला भारतीय सिमावर्ति शहरहरूमा दैनिक लाखौँ व्यापार हुने गरेको छ ।
यसैले पनि दशैँ पर्व नेपालीको भए पनि व्यापारमा भने भारतीयहरूको लागि वास्तविक रूपमा दशैँ आउने गरेको छ । सिमावर्ती भारतीय बजार मा नेपाली उपभोक्ताको घँुइचो लागिरहँदा नेपालका बजारहरूमा भने खासै चहल पहल देखिदैँन । नेपाली उपभोक्ताहरू सिमावर्ति बजारमा दैनिक उपभोग्य सामान, चिनी, लत्ताकपडा ,तेल लगायतका सामग्री खरीद गर्न अत्यधिक रूपमा पुग्ने गरेका छन् ।
एक साता अगाडि मात्रै सिद्धार्थ उद्योग वाणिज्य संघ सहित रुपन्देहीका क्रियाशिल ४ व्यवसायीक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राजश्व संकलन तथा व्यवसायीक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने । व्यक्तिगत रुपमा पनि भन्सार कार्यालयका प्रमुख, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रमुखहरुसँग समस्या राखेको बताउदै उनले बेलहियामा यात्रु शाखा अगाडि कडाई गरिएपनि भारतिय व्यवसायीहरुले नै अर्डर लिएर घर घर सामान पठाउने काम गरिरहेको पाइएको बताए ।
चाडपर्वका बेलामा मात्रै अर्बो रूपैयाँको खुद्रा व्यापार नेपालीले भारतमा गर्ने भए पनि त्यसबाट नेपाल सरकारले भने कुनै लाभ लिन सकेको छैन् । भन्सार कार्यालयले न्यूनतम मुल्य १०० भन्दा बढीको सामान खरीद गरी ल्याएमा संक्षिप्त प्रज्ञापन लगाउने निर्णय छ तर राम्रो सँग कार्यान्वयन नहँुदा राज्यले फाइदा लिन सकेको छैन । भन्सार कार्यालयले भने नियमपूर्वक काम गरिरहेको दाबी गर्दै आएको छ ।
हाम्रा उपभोक्ता जागरूक नहँदा वारी र पारी पाइने सामानको मुल्य गुणस्तरको तुलना गर्न नसक्दा खरिदारीका लागि धेरै भारतिने गरेका छन् । यसमा राज्यको नीति पनि कमजोर देखिन्छ ।
रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले विहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउदै कडाईसाथ भन्सार नियमन नगरिदा तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले सरकारको राजश्व संकलनमा असर पर्नुकासाथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरेको केही दिन नबित्दै यस्तो अवस्था गतिविधी बढेका छन ।
सिमावर्ति सुनौली बजारका छागुर किराना पसल संचालक भन्छन अहिले दशैँका लागि खरिद गर्न आउने नेपालीहरूको चाप बढी छ । पहिला भन्दा अहिले ग्राहकहरु बढेका छन, पर्वको बजार गर्न महिलाहरू धेरै आउने गरेको छन ।
सुनौली बजारमा खरिदारी गर्न रूपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामिण क्षेत्रका उपभोक्ता मात्र नभई छिमेकी जिल्ला पाल्पा, गुल्मी अर्घाखाँचीका उपभोक्ता समेत आउने गरेका छन् ।
सुनौली बजारमा सबैभन्दा सस्तो खाद्य पदार्थ चिनी रहेको छ जस्को खुद्रा मुल्य प्रति के.जी. ६५–७० रूपैयाँमा छ , नेपाल तर्फ भने चिनी १०० देखि १२० रुपैया केजी रहेको छ ।
सिमावर्ति बजारमा चिनी र कपडाहरू केही सस्तो भए पनि अन्य सामानहरूको मुल्यमा नेपाल र भारतीय बजारमा खासै फरक नरहेको तर पनि नेपालीहरू त्यतै धाउने गरेको नेपाली व्यवसायी बताउँछन् ।
उपभोक्तामा चेतनाको अभाव छ, सचेत छैनन् सस्तो पाइने भन्दै अखाद्य, गुणस्तरहीन सामान किन्दा समेत उपभोक्ताहरूले थाहा पाउँदैनन । उपभोक्ताहरूले सस्तोको नाममा अखाद्य तथा ओरीजिनल भन्दै स्थानीय स्तरमै निर्मित सामग्री खरीद गर्ने गरेका छन् । उपभोक्ताहरू जागरूक नहँदा र चेतनामा अभिबृद्धि नहँदा सम्म भारतीय बजारमा भन्दा नेपाली बजारमा सामानहरू सस्तो पाइए पनि उपभोक्ता सिमापारी नै ओइरीने छन् ।
सुनौलीका बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरू तेल, घिउ गुणस्तरहिन हुने गरेकोले सस्तोको लोभमा प्रयोथ गर्दा स्वास्थ्यमा समेत असर पुग्ने चिकित्सकहरूको भनाई छ ।
जनचेतनाको अभाबले सस्तो पाइने भन्दै दशैँका बेला मात्रै अर्बौ रूपैयाँ सामान्य खरिदारीका नाममा भारतिने गरेको छ । यसले पक्कै पनि नेपालको अर्थतन्त्रलाई फाइदा पुर्याउँदैन ।
उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली वजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैद्य कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने बताए । हामीले सम्बनिधत निकायलाई दैनिक जसो एउटै कुरा राखिरहेका छौ । हामी सिमामा बस्न नसकेपनि स्वयसेवक राखेर अबैद्य कारोवार रोक्न र भन्सार नियमन गर्न संस्था साथ दिने बताए ।
नेपाली युवा युवतीहरुले पनि भारतमा गई सामानहरुको प्रचार सामाजिक संजालबाट गरि व्यापारको माध्यम बनाएका छन उनीहरुले घर घर पु¥याउदै आएका छन । सामाजिक संजालमा पोस्ट गर्ने र अर्डर लिई भारतबाट कपडा लागयतका सामान नेपाल अवैध रुपमा भित्रयाउने गरेका छन ।
टिकटकको माध्यमबाट व्यापार गर्दै आएकी एक युवतीले दैनिक जसो राम्रै कारोबार भएको बताइन । लागनी पनि लगाउन परेन, स्टक राख्ने झन्झट पनि भएन अर्डरको आधारमा भारतबाट मगाउने गरेको नाम नबताउने शर्तमा उनले भनिन् । सामाजिक संजालबाट व्यपार गर्नेहरु दर्ता पनि गर्नु पर्दैन, पसल थापेर भाडामा बस्न नपरेपछि विस्तारै संख्यात्मक रुपमा बढ्दो छन ।
व्यवसायीहरुले भारतिय वजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जानु पर्ने, अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुने अवस्था सिर्जना भएको, कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गरेको ।
भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले चेकजाँच कडाईका साथ भइरहेको बताउदै यात्रु शाखाको निगरानी बढेको छ । सीमाबाट हुने अबैद्य कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्तताप्रति आफु सचेत रहेको बताउदै चेकजाँच कडाईले यात्रु शाखामा राजश्व संकलन बढेको छ । भन्सार तथा सीमा नियमन कडाई पहिलाको तुलनामा बढेपनि पर्वलाई लक्षित गर्र्दै सिमामा चाप बढेको पाएको उनले भने ।
