जेसिआई सिद्धार्थ, नेपालको आयोजनामा बुधबारदेखि जेसीज सप्ताह–२०२० सुरु भएको छ । बुधबार सप्ताहको समुद्घघाटन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको छ ।
बुधबार जेसीज सप्ताहको पहिलो दिन लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहका १९ जना बालबालिकालाई झोला, कापी, जेमेट्री बक्स, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक गोपाल ज्ञवालीले बताउनु भयो ।

सप्ताहको समुद्घघाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले सामाजिक सेवाको क्षेत्रमा सिद्धार्थ जेसिजले ठुलो योजना ल्याए नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अधिकारीले सिद्धार्थ जेसिज लगायतका सामाजिक संस्थाहरुले भैरहवा क्षेत्रको सामाजिक क्षेत्रको बिकासको लागी कुनै योजना ल्याए त्यसमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
नगरप्रमुख अधिकारीले भैरहवा क्षेत्रमा सामुदायिक अस्पतालको आवश्यकता रहेको बताउदै सामाजिक संस्थाहरुले अस्पताल निर्माणको योजना ल्याए आवश्यक जग्गा उपलब्ध गराउने समेत जानकारी दिनुभयो । नगर प्रमुख अधिकारीले भैरहवा क्षेत्रको बिकासको लागी स्वास्थ, शिक्षा लगायतका समाजिक क्षेत्र बिकास हुन जरुरी रहेको बताउनुभयो ।
जेसीआई नेपाल वर्ष २०२० का राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष राकेश गुरुङले जेसीज सप्ताह महाउत्सव जस्तै भएको बताए । उहांले जेसीज सप्ताहमा दिगो विकासका लक्ष्यहरु अन्तर्गतका कार्यक्रमहरु समेटिएको बताउनु भयो ।
सिद्धार्थ जेसिसका मानार्थ सदस्य शिक्षाविद् बालकृष्ण भट्टराईले परिवेश बदलिएसंगै मानिस पनि बदल्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो । उहांले जेसीज सहित अन्य संघ–संस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले विधि सम्बद चल्ने जेसीजबाट अन्य संघ–संस्थाले पनि सिक्नुपर्ने बताउनु भयो । जेसिस जस्तो गरिमा बोकेको संस्थाले विधानमा देखिएका अस्पष्ट बुंदाहरुमा कानुन विदको सल्लाह लिएर स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सिद्धार्थ जेसिजका अध्यक्ष मंगल भण्डारीले आफु भैरहवा क्षेत्रमा जेसिजको माध्यम बाट सामाजिक कार्य गर्न सदैव तयार रहेको बताउनुभयो । भण्डारीले नगरप्रमुखको आग्रह अनुसार सामाजिक क्षेत्रको बिकासको लागी आफुले संस्थामा छलफल गरेर योजना ल्याउने जानकारी दिनुभयो ।
जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीको अध्यक्षता, कोषाध्यक्ष दिपक सापकोटाको आस्था पाठ, जेसीआई शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक गोपाल ज्ञवालीको स्वागत तथा महासचिव दिपक काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसिस सप्ताहका निर्देशक ऋषिराम पाण्डेले कार्यक्रमका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सिद्धार्थ नगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, समाजसेवी नारायण प्रसाद अग्रवाल, डिआर शर्मा,जेसिसका पुर्व अध्यक्ष,सल्लाहकार, सिद्धार्थ लेडी जेसिजका पुर्व अध्यक्ष तथा सदस्यहरु, भैरहवा क्षेत्रमा क्रियाशिल बिभिन्न समाजिक संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

