भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाले विना दर्ताका अटो टेम्पु र ई रेक्सा व्यवस्थापनमा कडाई गर्दै दर्ता प्रक्रियामा नआउनेलाई संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक मार्फत विभिन्न १० बुंदे निर्णय गर्दै अटो टेम्पु, ईरेक्साको संचालन, व्यवस्थापन र नियमन गर्ने निर्णय गरीएको हो ।
सिद्धार्थनगरभित्र विना दर्ताका अटो टेम्पु र ईरेक्सा जस्ता तिन पांग्रे सवारीले सडक जाम गर्ने, यात्रुलाई महंगो भाडा असुल गर्ने, मनपरी पार्किङ्ग गर्ने गर्दा नगरभित्र पैदलयात्री तथा अन्य सवारी चालकलाई समस्या परेका गुनासो बारम्बार आउने गरेको थियो । यसलाई व्यवस्थापन गर्न भन्दै स्वयम् अटो चालकहरु नै आन्दोलनमा उत्रिएका थिए ।
अटो टेम्पु र ईरेक्सा चालकहरु नै हामीलाई नियमन गर भनेर सडकमा आउन थालेपछि सोमबार बसेको बैठकले कागजात विनाका अटो टेम्पु र ईरेक्सालाई नगरभित्र संचालनमा रोक लगाउने निर्णय गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खांनको अध्यक्षतामा सम्पन्न भएको बैठकले हाल नगरभित्र पांच सयको संख्यामा अटो टेम्पु, ईरेक्सा तिन पांग्रे सवारी दर्ता गर्ने निर्णय गरेको छ । तिनपांग्रे सवारीको ब्लुबुल, चालकको सवारी चालक अनुमति पत्र, सवारीको विमाको प्रमाणपत्रका आधारमा मात्र अटो टेम्पु र ईरेक्सा तिनपांग्रे सवारीलाई दर्ता गरिने निर्णय भएको नगर प्रमुख ईस्तियाक अहमद खांनले जानकारी दिए । सर्व पक्षिय बैठकको निर्णय कार्यान्वयनका लागि संचारकर्मी, प्रहरी प्रशासनको सहयोगको अपेक्षा रहेको उनले बताए ।
बैठकको निर्णय अनुसार आवश्यकताको आधारमा नगरपालिकाले नियम कानुन, ऐन संशोधन गरी एक सवारी धनीले बढीमा तिनवटा सवारी मात्र दर्ता गर्न पाउंने, दर्ता भएका तिनपांग्रे सवारीलाई नगरपालिकाले पार्किङ्गको उचित व्यवस्थापन गरिदिने, रुटपरमिट उपलब्ध गराउने, नगरभित्र संचालनमा रहेका तिनपांगे्र सवारीलाई एक रुपता दिनका लागि अगाडिको भागमा पहेलो रंग लगाउन अनिवार्य गर्ने लगायतका निर्णय गरिएको बैठकको सहजीकरण गरेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
दर्ता प्रक्रियाका लागि तिन हप्ताको समय दिने र त्यस पश्चात संयुक्त अनुगमन गरी दर्ता नभएको अटो टेम्पु र ईरेक्सालाई संचालनमा रोक लगाईने निर्णय गरिएको छ ।
दर्ता प्रक्रियालाई विवाद रहित बनाउनका लागि पहिले दर्ता गर्न आउने अटो टेम्पु र ईरेक्सालाई पहिलो प्राथमिता दिईने बैठकले निर्णय गरेको छ । दर्ता भई संचालनमा रहेका अटो टेम्पु र ईरेक्सा चालकहरुले अनिवार्य पोशाक लगाउनु पर्ने, यात्रुले देख्ने गरी, नगरपालिकाले तोकिदिएको भाडादर टास्नु पर्ने, नगरपालिकामा दर्ता भएको दर्ता नम्बर देखिने गरी राख्नु पर्ने लगायतका नियमहरु पलना गनुपर्ने निर्णय भएको छ ।
बैठकमा सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, सडक सुरक्षा तथा व्यवस्थापन क्षत्रीय कार्यालय बुटवल, तिन वटै जिल्ला सुरक्षा कार्यालयका प्रमुख, स्वतन्त्र अटोचालक संघ, अटो टेम्पु र ईरेक्सा चालक संघ, संचालकर्मी लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
