भैरहवा । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सुस्ताएको उद्योग व्यवसायलाई चलायमान बनाउन सरकार र नीजि क्षेत्रबीच छलफल आवश्यक रहेको बताएका छन् ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) को १७ औं वार्षिक साधारण सभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकार आफै आर्थिक शंकटबाट गुज्रिरहेको बताउंदै व्यवसायीको हितमा काम गर्न नसकेको स्वीकार गरे । उनले देशको आर्थिक उन्नतीको लागि सबै ईमान्दार बन्नु पर्ने समेत बताए । सिमानाकामा भारतीय पर्यटकलाई प्रहरी प्रशासनबाटै अनेक बाहानामा दुःख दिने गरेको सुनिएकोले यसलाई तत्काल रोक्नु पर्ने उनले बताए ।
उनले छिमेकी मुलुक भारतका पर्यटकका गाडी देख्नेबित्तिकै १० औं ठाउँमा रोकेर चेकजाँच गर्नु राम्रो कुरा नभएको बताए । उनले भने, ‘हामीले भारतमा गाडी लिएर जाँदाखेरी खास दुःख दिइए जस्तै देखिदैन । तर, नेपालमा विभिन्न ठाउँमा चेकजाँचको नाममा भारतीय पर्यटकले दुःख पाइरहेको गुनासो छ । यसले राम्रो सन्देश जाँदैन ।’
भारतीय पर्यटकको नेपालमा आवागमन बढ्नेबित्तिकै आर्थिक चलायमान बढ्ने उनको भनाइ छ । उनले भने,‘विदेशीलाई हामीले सम्मान कसरी गर्न सक्छौं ? ती कुरामा हामीले ध्यान दिन जरुरी छ ।’ केही काम गरौं भन्ने आफूहरुको सोच रहेको मन्त्री कार्कीले बताए ।
‘देशको परिस्थितिले सरकार उथलपुथलका कारण मुलुकमा राजनीतिक स्थायीत्व हुन सकेको छैन । दुईवटा सरकारको विकल्पमा अहिले हामी आएका छौं । हामीले पनि केही गर्न सकेनौ भने उद्योगी, व्यवसायी, जनतामा नकारात्मक असर पक्कै जान्छ । हाम्रा अगाडि धेरै चुनौति छन् । तर, सबै मिलेर अघि बढ्दा ती चुनौती पार गर्न सक्छौं । इमान्दारिताका साथ अघि बढे सफल हुन सक्छौं, ’उनले भने । मन्त्री कार्कीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउने भन्ने मोटामोटी सहमति बनेर कमिटी बनेको र विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले निरन्तर घचघचाइरहेको बताए । उनले विमानस्थल सञ्चालन भए केही भए पनि राहत हुने बताए ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले अर्थतन्त्र लयमा फर्किन नसकेको बताए । उनले भने, ‘हामी सरकारको सहयोगी बन्न चाहन्छौं । निजी क्षेत्रका मलिन अनुहारमा मुस्कान ल्याउनु छ । सरकारले उपयुक्त वातावरण बनाउनुपर्छ । आर्थिक गतिविधि चलायमान बनाउनुपर्छ ।’ अध्यक्ष पोखरेलले राजनीतिक नेतृत्व करेक्शन हुनुपर्ने र सरकारले निजी क्षेत्रको मन जित्नुपर्नेमा जोड दिए ।
त्यस्तै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सरकारी नीतिनियम, कानूनको साथसाथै कार्यान्वयन एवं उद्योगी व्यवसायी तथा कृषिमैत्री समयानुकुल अझै पनि हुन नसकेकाले सम्पूर्ण लगानी जोखिमपूर्ण रहेको बताए । उनले आर्थिक विकास र समृद्धिको साथैसाथै सामाजिक सुरक्षा पनि जरुरी रहेकाले यसैमा केन्द्रीत रहेर समस्याको पहिचान, त्यसको सैद्वान्तिक अवधारणासहितका निदान, प्राथमकिता क्षेत्रको छनौटका साथै त्यसलाई कार्यान्वयन गर्ने विधि तयार पार्ने दायित्व राज्यको कांधमा रहेता पनि आफूहरुले आभास पाउन नसकेको बताए ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले पछिल्लो समय धेरै उद्योगी–व्यवसायी पलायन भएको भन्दै चिन्ता व्यक्त गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बैंकले जति नै ब्याजदर घटाए पनि अहिले व्यवसायी ऋण लिन तयार छैनन् ।’
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनकी महासचिव लक्ष्मी अधिकारीले स्थापनाकालदेखि नै संगठनले उद्योगी–व्यवसायीबीच सरल रुपमा घनिष्ट सम्बन्ध विस्तार गर्दै उद्योगी, व्यवसायीहरुको घरदैलोमा गइ समस्या बुझ्ने प्रयास गरेको बताइन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले नगरपालिकाले निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका कामु निर्देशक जीवन प्रकाश पाण्डेले निजी क्षेत्र अर्थतन्त्रको मुख्य खम्बा भएको बताए । उनले निजी क्षेत्रको विकास बिना अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले प्रदेश सरकारले व्यवसायिक संघ–संस्थासँग छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य रहेको र ती गन्तव्यसम्म पुग्न पूर्वाधार निर्माण गरे पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले उद्योग व्यापार संगठनले आगामी दिनमा पनि यस्तै रफतारमा काम गर्दै जाने विश्वास व्यक्त गरे ।
उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको स्वागत, निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगठनका नयाँ आजीवन सदस्यहरुलाई सम्मान गरिएको वाणिज्य उपाध्यक्ष राम मिलन यादवले बताए ।
