भैरहवा । भैरहवास्थित सिद्धार्थनगर सीटी अस्पतालमा मुटु रोगको विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । भैरहवा र आसपासबाट हृदयसम्बन्धी रोगको उपचारका लागि बुटवल धाउनुपर्ने बाध्यता अन्त्यका लागि अस्पतालले शनिबारदेखि विशेषज्ञ चिकित्सकीय सेवासहित मुटुरोग विभाग सञ्चालनमा ल्याएको जनाएको छ ।
विभागको मायादेवी गाउंपािलकाका अध्यक्ष धु्रव नारायण श्रेष्ठले एक कार्यक्रमकाबीच शनिवार उद्घाटन गरे । सिद्धार्थ सिटी हस्पिटलले सबै नागरिकको पहुंच पुग्ने गरी विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आईरहेको आफुले महसुस गरेको अध्यक्ष चौधरीले बताए । मुटुरोगीहरुका लागि सुविधा सम्पन्न पुर्वाधार र दक्ष चिकित्सकीय सेवा सुचारु गर्न लागेकामा सफलताको शुभकामना दिए । यसअघि बालरोग, महिला तथा प्रसुति, मृर्गौला, न्युरो सर्जरी लगायत विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले स्थानीय बासिन्दाको माग बमोजिम मुटुरोग विभाग स्थापना गरेको जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले मुटु विभागमा आवश्यक इको, ईसिजी,टीएमटी,होल्टर, एविपी, सिसियु आदि सबै उपकरणहरु जडान गरिएको बताए । छिट्टै क्याथ ल्याब संचालन गरिने उनले बताए । ७ वर्षअघि मायादेवी–८ स्थित एयरपोर्ट रोडमा अस्पताल भवनको शिलान्यासका क्रममा व्यक्त गरेको प्रतिबद्धता अनुसार मुटुरोग विभाग सञ्चालनमा ल्याएको उनले बताए । ‘अत्यन्त संवेदनशील सेवा भएकाले केही ढिलो भयो,’ उनले भने, ‘अहिले उच्चस्तरीय उपकरण जडान गरेर सेवा सुरुवात गरेका छौं ।’
अस्पतालले नयाँ विभागमा बंगलादेशको ढाकामा अध्ययन गरेका मुटुरोग विशेषज्ञ चिकित्सक सुधीरप्रसाद शाहको नेतृत्वमा उपचार सेवा प्रदान गरिने जनाएको छ । अनुभवी चिकित्सक र नर्सिङ समूह बनाएर सेवा सञ्चालनमा ल्याएकाले सर्वसाधारणले गुणस्तरीय सेवा प्राप्त गर्ने पौडेलले बताए । ‘पोलिक्लिनिकबाट सेवा सुरु गरेका थियौं,’ उद्घाटन कार्यक्रममा पौडेलले भने, ‘नागरिक समाज, व्यवसायी र दक्ष चिकित्सकको मद्दतले अहिले सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न सफल भयौं ।’ कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. सुधीर प्रसाद शाहले आफ्नो विभागबाट अस्पतालले गुणस्तरीय चिकित्सकीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।
अस्पतालका अध्यक्ष वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेको अध्यक्षता, संचारकर्मी सम्झना शर्माको संचालन मायादेवी गाउंपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कपिलवस्तु शुद्धोधन गाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, मायादेवी वडा नम्बर ८ का अडाअध्यक्ष चोक बहादुर थापा, सिटीयभिटी लुम्बिनी प्रदेशका प्रमुख गोपाल चापागाई, लायन्स डिष्ट्रिक ३२५ पि टुका संस्थापक गर्भर्नर नवराज न्यौपाने, विएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठ, अग्रज पत्रकार दिलिप भट्टराई, ओम साई नर्सिङ्ग कलेजका अध्यक्ष मिना पन्थी, लगायतले मुटु विभागको सेवा प्रभावकारी बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
अस्पतालले फोहोर व्यवस्थापन, सडक निर्माण लगायत अस्पतालको प्रशासनिक एवम् स्वास्थ्य सेवामा सहज बनाउन योगदान दिएकोमा मायादेवी गाउंपालिका अध्यक्ष र वडाध्यक्षलाई सम्मान समेत गरेको छ ।
