भैरहवा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार भैरहवामा बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको हो ।
साउन ११ र १२ गते बाँकेको नेपालगंजमा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुपन्देहीका महेन्द्र श्रेष्ठसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको हो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले बुधबार भैरहवामा बधाई तथा सम्मान कार्यक्रम गरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, महासचिव गणेश प्रसाद बेल्बासे, सह–सचिव लिलाधर भट्टराई, कार्यसमिति सदस्य राम प्रसाद गौतम र मोहन पाण्डेलाई सम्मान गरेको हो ।
निर्वाचित पाँचैजना रुपन्देहीका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले सम्मान कार्यक्रमले निर्वाचित प्रतिनिधिलाई हौसला प्रदान गरेको र आफ्नो जिम्मेवारी बहन गर्न थप प्रेरणा दिएको बताए ।
उनले होटल व्यवसायीका माग र समस्या सम्बोधनका लागि बारम्बार राज्यलाई घचघचाइरहेको बताए । त्यस्तै होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले वर्तमान सरकारलाई महासंघले आवश्यक सुझाव दिने बताए ।
उनले कोभिड–१९ पछि व्यवसायी धरासायी भएको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले रुपन्देहीका होटल व्यवसायीले होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष, महासचिव, सह–सचिव र कार्यसमिति सदस्यको जिम्मेवारी पाउनुभएको भन्दै खुसी व्यक्त गरे ।
संगठनका संस्थापक अध्यक्ष तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका पूर्वअध्यक्ष गणेश प्रसाद बेल्बासेले कोभिडपछि पर्यटन क्षेत्र धरासायी भएको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका सल्लाहकार तथा मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई अगाडि बढाउन चुनौती रहेको बताए । उनले गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको बताए । उनले पर्यटकको बसाई अवधि बढाउने गरी प्याकेज बनाउनुपर्नेमा जोड दिए ।
