भैरहवा , यस क्षेत्रका अग्रज पत्रकार चेतन पन्तको आइतबार राती ९ः१० बजे निधन भएको छ । क्यान्सर रोगबाट पीडित विगत दुईवर्षदेखि निरन्तर उपचारमा थिए । पन्तको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
करीब चार दशक उनी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहे । पन्त विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारशको रुपमा कलम चलाउंथे । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा योगदान पुर्याउंदै आएका पन्त देशमा मात्रै होईन विदेशमा पनि प्रचारक बनेर हिडेका थिए । समाचार, लेखसंगै देश–विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो÷भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी÷नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका अभियन्ता नै थिए । जसका कारण उनी विभिन्न पुरस्कारबाट सम्मानित समेत भएका थिए ।
भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउदै क्यानसर विरुद्ध लडेका पन्तको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले भैरहवा मात्रै होईन यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । निधनले पत्रकारिता जगतसंगै भैरहवा क्षेत्र शोकमग्न भएको छ । पत्रकार, उधोगी, व्यवसायी, नेता, सामाजिक अभियान्ता, विधार्थीलगायतले निधनप्रति दुःख व्यक्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खांले पत्रकार पन्तको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले सिद्धार्थनगर नगरपालिकासंगै देशलाई अपूरणीय क्षति पुगेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले निधनप्रति दुःख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् । पन्त लुम्बिनी पे्रस क्लबका सल्लाहकार समेत हुन् । पत्रकार पन्तको सोमबार बिहान ९ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।
