भैरहवा, नेवा खल: सिद्धार्थनगरले गठे मंगल पर्वको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । खल:को आयोजनामा सिद्धार्थनगर मिलनचोकमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै वक्ताहरुले रोपाई सकिसकेपछि पवित्र आत्माको गृह प्रवेश र दुष्ट आत्माको अन्त्यका लागि यो पर्व मनाउन थालिएको बताए ।
खल:का सल्लाहकार विजय सागर श्रेष्ठका अनुसार नेवार समुदायले मौलिक रुपमा मनाउने यस गठे मंगल (घण्ट कणं) पर्व साउन चतुर्दशीका दिन हरेक वर्ष मनाउने गरिन्छ । समाजमा छोरीहरुमाथि कुदृष्टी लगाउने, समाजमा अशान्ति मच्याउने घण्ट कर्णलाई विचबाटोमा निवस्त्र पारेर सामाजिक कारवाही गरिएको परम्परागत मान्यता रहेको छ । खल:ले घण्ट कर्णको पुत्ला बनाएर मिलनचोकमा प्रर्दशन गरी कार्यक्रम सम्पन्न गरेको थियो ।

खल:का अध्यक्ष ईन्जिनियर चन्द्र भक्त श्रेष्ठको अध्यक्षता, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल भैरहवाका वरिष्ट नेत्र रोग विषेशज्ञ डा. कविन्द्र राज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजक शौरभ मुनकर्मीले गरेका थिए । खल:का सचिव विश्व प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, सिद्धार्थ संजालका अध्यक्ष अनिल कुमार ज्ञवाली, उद्योग व्यापार संगठनका महासचिव लक्ष्मी अधिकारी, प्राज्ञ बुंद राना लगायतले शुभकामना व्यक्त गर्दै सम्पदा र संस्कृति, रितीरिवाज राष्ट्रको सम्पत्ती हो भन्दै यसको संरक्षण र प्रवद्धनमा सबै एकजुट हुनुपर्ने बताए ।

सो अवसरमा साहित्यकारहरु, विभिन्न संघसंस्थाका अध्यक्ष, खल:का निवर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरु ल्गायतको उपस्थििति रहेको थियो । दुष्टताको पुत्ला घण्ट कर्णलाई सिद्धार्थनगरमा रहेको स्वर्गद्धारी घाटमा लगि अत्यष्टी गरिएको अध्यक्ष चन्द्र भक्त श्रेष्ठले जानकारी दिए । यो संगै नेवार समुदायले मनाउंने विभिन्न चार्डपर्वको सुरुवात भएको मानिन्छ उनले भने ।
