बुटवल । लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
आज दिउँसो साढे ३ बजेतिर प्रदेश प्रमुखको कार्यालय बुटवलमा ५६ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका आचार्यलाई आज नै मुख्यमन्त्री नियुक्त गरिएको प्रदेशप्रमुखको कार्यालय बुटवलले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालयले संबिधानको धारा १६८ (२) बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जनाइएको छ । यस अघि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले उपनेता सहितको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गरेका थिए । मुख्यमन्त्रीको सपथ भने भोली मात्र हुने बताइएको छ ।

