सम्झना शर्मा :
सिनपा ३ स्थित सार्वजनिक जग्गामा आफुहरुले प्रक्रियागत रुपमै भवन निर्माणको योजना बनाएको उद्योग व्यापार संगठन रुपन्देहीले स्पष्ट पारेको छ ।
रुपन्देही जिल्लाका ५ हजार उद्योगी व्यवसायी सम्मिलत संस्थाले कुनै पनि सार्वजनिक जग्गा जर्वजस्ती हडप्ने नभई सामाजिक संस्थाको रुपमा ३० वर्षका लागि सरकारसंग भाडामा लिने प्रक्रिया अनुसार अगाडि बढेको बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनु भएको छ ।
२०६६ सालदेखि नै जग्गा प्राप्तीको लागि सामान्य प्रक्रिया अगाडि बढाई २०७३ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी सहित जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति लगायत २२ राजनैतिक दलको सहमतिमा भवन निर्माणका लागि सिद्धार्थनगर ३ स्थित कित्ता नम्बर २४०४ रहेको दुईकठ्ठा जग्गामा माटो सम्याउने तथा तारजाली गर्ने गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो ।
स्थानीय निकायको सिफारिस लगायत सबै कागजपत्र तयार गरी मन्त्री परिषद् बैठकमा लैजाने गरी पठाईएकोमा अहिले आएर सिद्धार्थनगर नगरपालिका वाड नम्बर ३ ले सोही जग्गालाई सार्वजनिक पार्क निर्माणमा प्रयोग गर्न थालेको भन्दै उहांले गुनासो गर्नुभयो ।
आफुहरु सिद्धार्थनगरभित्र पार्क बन्नु पर्छ भन्ने पक्षमै रहेपनि यतिका वर्षको मेहनत,माटो सम्याएको लगानी सबै गरी करीब ३० लाग खर्च भईसकेकोले पछि हट्न कठिन भएको अध्यक्ष भण्डारीको भनाई छ ।
यति ठुलो संस्थालाई उपेक्षा गर्दै निर्णय उल्टाएको भन्दै सिनपा ३ का वडा अध्यक्षप्रति संगठनका पदाधिकारीले कटाक्ष गरेका छन् । तर स्थानीयप्रति आफुहरुको कुनै गुनासो नरहेको पनि उनीहरुले बताएका छन् । मुनाफा रहित संस्था भएका कारण पछि ती संरचना सरकार कै हुने संगठनका सदस्यहरुको तर्क छ ।

यता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ वासीले भने संगठनका अध्यक्ष नारायण भण्डारीले भुमाफियाको आडमा सार्वजनिक जग्गा कब्जा गर्ने प्रयास गरेको भन्दै पत्रकार सम्मेलन नै गरेर कुनै हालतमा सार्वजनिक जग्गा दिन नसक्ने बताएका छन् । संगठनले सिनपा ९ मा जग्गा खरीद गरी भवन निर्माणको लागि नक्शा समेत तयार गरे पनि सार्वजनिक जग्गामा आंखा लगाउन नछोडेको स्थानीयको आरोप छ । दुर्गापथ र महामायापथका स्थानीयवासीले आफ्नो क्षेत्रमा रहेको जग्गा कुनै पनि संघ संस्थाहरुलाई प्रयोग गर्न नदिने बताए । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले आफ्नो घर आगनमा रहेको सार्बजनीक जग्गामा पार्क निमार्ण गर्ने र सो पार्क निमार्णका लागी नगरपालिकाबाट बजेट पनि आईसकेको हुंदा आफुहरु खाली जग्गामा पार्क बनाउन लागेको उनिहरुको भनाई छ ।
स्थानीयवासी तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश गुरुङको सहयोग तथा स्थानीयवासीको श्रमदानमा करीब ३ कठ्ठामा रहेको पार्कमा वृक्षारोपण, तारबार तथा बोर्ड लगाउने कार्य भएको पार्कका अनुगमन समिति सदस्य उत्तम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले पार्कको संरक्षण गर्न सम्पूर्ण वडावासीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र सिद्धार्थनगर नगरपालिकामा निवेदन समेत पेश गरिसकेको बताउनुभयो । विगत १०/१५ वर्षदेखि संरक्षण तथा रेखदेख गर्दै आएको र आगामि दिनमा पार्कको रुपमा बिस्तार गर्न लागिएको भन्दै जग्गा प्रयोग गर्न नदिने स्थानीयले बताएका छन् ।
यता संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीले राखेका जिज्ञाशामा जवाफ दिदै अध्यक्ष भण्डारीले यही जग्गाको लागि मन्त्री परिषद्लाई अन्तिम अनुरोध गर्ने र नभए आफ्ना पदाधिकारीहरुले रकम उठाएर जग्गा खरीद गर्ने बताउनु भयो । संगठनका महासचिव अनिल ज्ञवालीको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई,संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मी,सल्लाहकार फैज अहमद, कोषाध्यक्ष सचिन रोका लगायत सदस्यहरुको उपस्थिति थियो ।
