तब सि.डि.ओ भक्कानिए………

सम्झना शर्मा 

भैरहवा, असारको २५ गते मंगलबार दिउंसो करीब चार बजेको समय, जिल्ला प्रशासन कार्यालय रुपन्देहीको हलमा एउटा अनौठो तर दुर्लभ दृष्य देखियो । कालो झोलामा लाखौं पैसाका विटा, बैंकका कर्मचारीलाई पैसा गन्न भ्याईनभ्याई जस्तै देखिन्थ्यो । हलको अगाडि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रजिअ द्धय, प्रहरी प्रमुखहरु, बायांतिर उद्योगीका नेताद्धय कृष्ण प्रसाद शर्मा र ठाकुर कुमार श्रेष्ठ ।

संचारकर्मीका क्यामेरा पैसा गन्दै गरेका बैंकका कर्मचारी तर्फ सोजिदै थिए किनकि त्यो पैसा, पैसा मात्र नभएर एक परिवारको पुर्नजिवन त अर्कोको जीवन जिउने आधार थियो । त्यही हलमा जनकपुरकी रेनो कुमारी आफ्ना तिन छोरीको सहारा उनका बाबुको जिवन रक्षाको आशामा उपस्थित थिईन् भने अर्कोतर्फ रुपन्देही कञ्चन गाउंपालिकाकी सिता शर्मा आफ्नो पुछिएको सिन्दुरको पीडालाई आंसुको धाराबाट बगाउंदै उनै अपराधीको ज्यान बचाउन पैसालाई साक्षी राखेर कागजमा हस्ताक्षर गर्न तयार थिईन् । यो उनको ठुलो त्याग थियो । यतिकैमा जब रेनोले मेरो भगवान भनेर सिडियोको पाउं समाउन गईन् तब सिडियो अर्याल सहित हलमा रहेका सबैका आंखा रसाए, मन भक्कानिए ।

सन २०१८ मा रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्मा र धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने राम आशिष यादव दुवै जना साउदी अरबमा एउटै कम्पनीमा काम गर्थेे । उनीहरु एउटै कोठामा बस्दै आएका थिए । खाने रमाउने एउटै थलो थियो । यसै क्रममा २०१८ अक्टोबर ६ मा कोठामै रमाईरहेकै अवस्थामा उनीहरुबीच सामान्य विवाद भयो । जब विवादले उग्र रुप लिदैगयो धनुषाका राम आशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरि हत्या गरे ।

साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै राम आशिष यादवलाई सजाय सुनायो । उनलाई तत्कालको लागि ५ बर्षको कैद सजायको फैसला ग¥यो । ५ वर्ष पछि दुवै जनाको परिवारको विचमा “ब्लड मनि” मा स्म्झौता भए यादव रिहा हुने अन्यथा अन्तिम विकल्प फांसीमा जाने अदालतको फैसला थियो । अदालतको निर्णय कन्सुलर विभाग हुदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो ।

यता साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा थाहा पाए पछि जनकपुरमा रहेकी उनकी श्रीमति रेनो कुमारीमाथि वज्रपात भयो । श्रीमानले विदेशमा कमाएको धनले छारीहरुको शिक्षा, पालनपोषण गर्ने आशामा रहेकी उनी घटना सुनेपछि मानसिक रुपमा विक्षिप्त बनिन् । माहिली छोरी पुजाका अनुसार रेनो डिप्रेशनको सिकार बनिन् । उनको जीवनका मिठा सपना हावामा उडे । विपन्न आर्थिक अवस्थाकी रेनो जेनतेन आफ्नो तीन छोरीहरु सहित आफ्नो गुजारा गर्दै आईरहेकी थिईन । उनको दयनिय आर्थिक अवस्थाका कारण आफ्ना ३ वटै छोरीहरुलाई विद्यालय समेत पठाउन सकेकी छैनिन् । उनको १८ वर्षिय आरती यादव, १५ वर्षिय पूजा यादव र १० वर्षिय सन्जु यादव गरि तीन छोरीहरु रहेका छन् ।

रामआषिस यादवको आश्रित परिवारको विचल्ली हुने देखेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एउटा नेपालीले पांच वर्षसम्म विदेशी भुमीमा जेल सजाय काटेर पनि फांसीमा झुण्डिन दिनु मानवताको हिसावले पनि न्याय नहुने भन्दै जसरी पनि उनको जीवन रक्षा गर्ने दृढ शंकल्प लिए । त्यसको नेतृत्व गरे यस क्षेत्रका सामाजसेवी उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ।

आर्थिक संकटमा परेका रुपन्देहीका उद्योगी व्यवसायीलाई असारको माझमा ४०। ५० लाख जुटाउन चुनौति थियो र पनि मानवताका लागि सधै अग्रणी भुमिकामा रहने नीजि क्षेत्र यो पटकपनि उदाहरण बनिछाड्यो । रकम जुटाउन जति कठिन थियो त्यो भन्दा कठिन मृतक परिवारलाई ब्लड मनिमा सहमति गराउन थियो । प्रजिअ अर्याल भन्छन् “ व्यतिmगत रुपमा म आफै आंसु झारेर उहां सिता शर्मासंग अनुरोध गरें । भने थप दश जना फांसीमा झुण्डिएपनि तपाईको श्रीमान् फर्केर आउनु हुदैन् । तपाईको त्यागले अर्को परिवारलाई जीवन मिल्छ । मेरो अनुरोधलाई उहांहरुले स्वीकार्नुभयो । ”उनले भने ।

आज प्रजिअ अर्यालको तदारुकता, रुपन्देहीका प्रहरी प्रमुख र व्यवसायीहरुको सद्भावले ब्लड मनि जुट्यो र दुई परिवारबीच समझदारी समेत बन्यो ।
कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयास पछि सीता ब्लड मनि लिएर माफी दिन तयार भइन । सीताले ब्लड मनि बापत ५० लाख रुपैया मागिन् । जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । “५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किए ।” प्रभु यादवले भने“हामीले भान्जा ज्वाई रामआशिष फर्किने आशा मारिसकेका थियौ ।”

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने पैसाकै अभावमा कसैलाई मर्न दिनुहुदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि “बास्केट फण्ड” बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअ रामचन्द्र अर्याल, चिरञ्जिवी रानाले २५ हजार तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुख प्रहरी उपरिक्षक रंजित सिंह राठौर, सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापा, अनुसन्धान प्रमुखले जनही २५ हजार रुपैयाका दरले जम्मा गरे । उता जिल्लाका ३० जना उद्योगी व्यवसायी समेत गरी ३६ लाख २५ हजार रुपैया जम्मा भयो ।

रामआशिष यादवकी श्रीमति रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन । सबै मिलाई ४६ लाख २५ हजार रुपैया मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मालाई नगदै हस्ताण्तरण गरि रुपन्देहीले एउटा उदाहरण कायम गरेको छ । ब्लड मनि वापतको रकम बुझ्दै गर्दा सीताको आँशु थामिएको थिएन ।

हत्या भएका शर्माकी श्रीमतिलाई रकम हस्तान्तरण गर्दै उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने “एउटाको मृत्यु भईसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुदैन भन्ने हाम्रो मान्यता थियो । दुइटा घरलाई बचाउनका लागि यो प्रयास गरेका हौं ।” यो ५ वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए ।
धनुषाका रामआषिसलाई नचिने पनि खवरको भरमा दुबै परिवारको उद्धार होस् भनेर यो अभियान चलाईएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भने “सामाजिक उत्तरदायित्वमा हामी कहिल्यै पछाडि हट्दैनौं । ”

आफुले आशा मारिसकेको अवश्थामा रुपन्देहीका सिडियो र यहाका व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशिषकी श्रीमति रेनो कुमारीले बताइन । “मेरो लागि यहाका सिडियो साब भगवान हो, म उहाँको फोटो लगेर भगवान राख्ने ठाउमा राख्छु ।” रेनोले रुदै भनिन् “मलाई मेरो घर खेत चाहिएन मलाई मेरो घरवाला चाहिन्छ ।”
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको प्रयासमा अन्य सुरक्षा प्रमुखहरुको साथ, व्यवसायहरुको सामाजिक दायित्व वोध र सीता शर्माको विशाल ह्ृदयका कारण ५ वर्ष सजाय काटेका रामआशिष यादव घर फर्किने वातावरण बनेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्झौता गरेको कागज मंगलबार नै कन्सुलर विभाग हुदै साउदी पठाईने बताए । सबै प्रक्रिया मिलेको खण्डमा अबको करीब एक महिना पछि रामआशिष घर फर्किनेछन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!