भैरहवा, उद्योगीहरुले ईट्टा उद्योगलाई प्रविधिसंग जोडेर परनिर्भर कोईलाको आयात घटाउनु पर्ने माग गरेका छन् । ईट्टाको खपत बढाउन निर्माणमा सरकारी मापदण्डलाई कडाई गर्नुपर्ने आवाज समेत उनीहरुले उठाएका छन् ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्द्येहीको २५ औं वार्षिक साधारणसभामा आफ्ना भनाई राख्दै उनीहरुले उद्योगीको अहिलेको अवस्था स्लिपिङ्ग ट्याब्लेट खाएर सुत्दा पनि निद्रा नपर्ने अवस्था रहेको बताए । नेपालको एक आत्मनिर्भर उद्योगको रुपमा रहेको ईट्टा उद्योगहरुको भविश्य नष्ट हुनबाट जोगाउन बैंकको ऋण भुक्तानीमा केही सहुलियत दिन सरकारसंग आग्रह गरे ।
उद्योगी–व्यवसायीले ईट्टा उद्योगहरुलाई धरासायी हुनबाट जोगाउन कर प्रणालीमा विशेष छुट एवं राहत प्याकेज कार्यक्रम ल्याउन सरकारसंग माग समेत गरेका छन् । उनीहरुले देशको वर्तमान आर्थिक परिवेशले ईट्टाको मागमा कमी आउंदा देशभरका सम्पूर्ण उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताएका हुन् ।
ईट्टा उद्योगमा प्रयोग हुने कोईलाको भाउ दोब्बर बृद्धि हुंदा उत्पादन लागत बढेको उनीहरुले बताए । उद्योगलाई प्रविधिसंग जोडेर लागत कम गर्ने र ईट्टाको खपत बढाउनका लागि सरकारी मापदण्डमा कडाई गरिनु पर्ने उद्योगीहरुको आवाज छ । कमिसनको चक्करमा ईटाको सट्टा बोल्डर प्रयोग गर्ने क्रम बढेको भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए ।
संघका केन्द्रिय सदस्य तथा सल्लाहकार हरि प्रसाद अधिकारीले भने “हामी सरकारलाई कर तिर्न तयार छौं, तर केही समयको लागि उद्योगलाई सास फर्ने वातावरण बनाउन बैंकको व्याज सावा भुक्तानीमा भाका दिनु परयो । ” सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका अधिकारीले परिस्थिति कठिन भयो भनेर भाग्न नहुने र परिस्थितिसंग जुध्दै अघि बढ्न आग्रह गरे । उनले उद्योगी व्यवसायीलाई बैंकको किस्ता र ब्याज तिर्न समस्या भएको बताए ।

नेपाल ईट्टा उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार सफर मियाले ईट्टा उद्योग असहज परिस्थितिबाट गुज्रिएको बताए । उनले प्रविधिको विकाससंगै उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । ईटा उद्योगमा लगानी भएको अरबौं रुपैंया नष्ट हुनुका साथै व्यवसायीलाई बैंकले सर्वश्व लुट्ने अवस्था छ उनले भने ।
कार्यक्रममा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले मागमा अत्याधिक कमी आउंदा ईट्टा उद्योगहरु हाल संकटग्रस्त अवस्थामा रहेको बताए । उनले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ सम्म रुपन्देहीमा सञ्चालनमा रहेका ५२ ईट्टा उद्योगहरुमध्ये हाल २२ वटा उद्योग सञ्चालनमा रहेको र सञ्चालित यी उद्योगहरुको वार्षिक ईट्टा उत्पादनमा ५० देखि ६० प्रतिशतसम्म कमी आएको बताए ।
उनले भने, ‘निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २÷३ वर्ष अघि उत्पादित ईट्टा समेत विक्रीवितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईट्टा स्टक रहदा उद्योगी–व्यवसायीहरुमा चरम आर्थिक संकट सृजना भएको छ । यस्तो अवस्थामा उद्योगी–व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको समयमै बुझाउन सकेका छैनन् ।’
संघका महासचिव दीपक पौडेलले ईट्टा उत्पादनका लागि भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कोइलाको हाल अन्तर्राष्ट्रिय बजारमा भएको अभाव र शतप्रतिशतले मूल्यवृद्धिका साथै अन्य पेट्रोलियम पदार्थहरुको मूल्यमा वृद्धिका कारण ईट्टाका उत्पादन लागतमा करिब ४० देखि ५० प्रतिशतसम्म वृद्धि भएको र यसको मागमा कमी हुंदा उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए । उनले ईट्टा उद्योगको संरक्षणका लागि लागि तीनै तहका सरकारले कर प्रणालीमा विशेष छुट एवं राहत प्याकेज ल्याउन माग गरे ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले सञ्चार क्षेत्रले ईट्टा उद्योगको समस्या उठान गर्दै आएको बताइन् । उनले ईट्टा उद्योगीहरु विभिन्न क्षेत्रको नेतृत्व तहमा पुगेकाले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताइन् ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले कोइलाको मूल्यवृद्धि, मजदूरको अभाव, बढ्दो बैंक ब्याजदरलगायतका समस्याले ईट्टा उद्योग संकटमा परेको बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले राज्यले उद्योग व्यवसाय सञ्चालनका लागि वातावरण बनाउनुपर्ने बताए । उनले माटो भस्कट पाउन समस्या रहेको बताए । उनले भने, ‘उद्योगी–व्यवसायी टिक्ने अवस्थामा छैनौ ।’ व्यवसायीहरुलाई गुण्डाको नजरले हेर्ने सरकारको दृष्टी परिवर्तन गर्नु पर्ने बताए ।
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठकले ईट्टा निर्माण कार्यका लागि नभइ नहुने वस्तु भएको बताए । ईट्टाले ईतिहासको समेत जग जोगाई राख्छ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्व युवा खेलकुद तथा शिक्षामन्त्री वसिउद्दीन खानले आफु ईट्टा उद्योगी भएको नाताले आफ्ना समस्याको उठान गर्ने र त्यसको समाधानको लागि पहल समेत गर्ने प्रतिवद्धता जनाए । उनले भने “ म दोहोरो भुमिकामा छु ईमान्दारिताका साथ समस्या समाधानमा लाग्नेछु । यसका लागि हामी उद्योगी व्यवसायीहरु प्नि ईमान्दार हुनुपर्छ ।”
उनले माटो भस्कटको समस्या समाधन गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारबाट हुने सहयोगका लागि तयार रहेको बताए ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दीन खाँको प्रमुख आतिथ्यता, संघका प्रथम उपाध्यक्ष अजय अधिकारीको स्वागत तथा महासचिव दीपक पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पत्रकारद्वय रायमाझी र ज्ञवाली सम्मानित

भैरहवा, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले पत्रकारद्वय कमल रायमाझी र कमल ज्ञवालीलाई सम्मान गरेको छ । संघको समग्र विकासमा सकारात्मक एवं प्रभावकारी ढंगले पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै रायमाझी र ज्ञवालीलाई सम्मान गरिएको हो ।
शनिबार भैरहवामा आयोजित संघको २५ औं वार्षिक साधारणसभामा दुवै पत्रकारलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँ, नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार सफर मिया, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, महासचिव दीपक पौडेललगायतले सम्मान गरेका हुन् । उनीहरुलाई नगद रु. ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पत्रकार रायमाझी राष्ट्रिय समाचार समिति (रासस), सगरमाथा टेलिभिजन र लुम्बिनी खबर पत्रिकामा आबद्ध छन् । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराका प्रेस सल्लाहकार समेत हुन् । त्यस्तै पत्रकार ज्ञवाली बुद्ध सामूदायिक टेलिभिजन, गोरखापत्र र नागरिक अनलाइन डटकममा आबद्ध छन् ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले आफ्नो साधारणसभा तथा अधिवेशनमा पत्रकारहरुलाई सम्मान गर्दै आएको अध्यक्ष अजय कुमार गुप्ताले बताए ।
