भैरहवावासी भन्छन् “उडायो सपना सबै हुरीले”

अरूण ज्ञवाली

भैरहवा । आफ्नो क्षेत्रमा ठुला योजनासहित विकासका नयां ढोका खुलेपछि त्यस क्षेत्रका वासिन्दा को पो खुशी नहोलान् र ?  विकास भएपछि ठुला ठुला सपना राख्नु आफु र आफ्ना सन्तानको खुशी चाहनु मानव जाति मात्र होईन अन्य प्राणिले पनि सपना बोक्नु स्वभाविक नै हो ।

तर विडम्बना: विकासका ठुला योजना आएर पनि भैरहवावासी अहिले खुशी होईन दुःख मानिरहेका छन् । विकास पछिका सुन्दर सपना सबै भताभुङ्ग हुदै गईरहेका छन् । भविश्यका योजना र कल्पना धरासायी भएका छन् । सायद विकासका ठुला योजना पुरा हुंदा पनि भैरहवासावी अहिले निकै दुःखी छन् । विकासले विनाश ल्याएझैं यस क्षेत्रका सबै व्यवसायी, स्थानीयवासी रातभरी निदाउंन सकेका छैनन् ।

नेपाल सरकारले अरबौ रुपैंया लगानी गरेर निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भैरहवा विषेश आर्थिक क्षेत्र (सेज) पूर्णरुपमा संचालनमा आउन नसकेपछि यस क्षेत्रका उद्योगी व्यवसायी, स्थानीयवासीको सुनौलो सपना र भविश्यमाथि राज्यले बन्चरो प्रहार गरे जस्तै भएको छ ।

त्यसैले सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ भन्छन् “ भैरहवावासीका लागि अन्तराष्ट्रिय विमानस्थल र भैरहवा विषेश आर्थिक क्षेत्र ( सेज ) दुःख भएको छ । ” भैरहवा लगायत आसपास क्षेत्रका उद्योगी व्यवसायीको अरबौ लगानी सरकारले सुनिश्चित नगरेपछि अहिले यस क्षेत्रका व्यवसायी “थाल खाउं कि भात खाउं” भन्ने अवस्थामा पुगेको अध्यक्ष श्रेष्ठ बताउंछन् ।

भैरहवावासी मात्र होईन भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण पछि समग्र लुम्बिनी प्रदेश र अन्य प्रदेशका वासिन्दाले पनि धेरै सपना बुनेका थिए । तर विडम्बना गायक मुरली धरनले गाएको गित जस्तै भयो “उडायो सपना सबै हुरीले ”

नेपालको पहिलो विषेश आर्थिक क्षेत्र(सेज) को शिलन्यास हुंदा सबैलाई लागेको थियो अब भने नेपालमा औद्योगिक क्रान्ति सहित विकासले गति लिने भयो ।

धेरै मुलुकहरुमा सफल भएको सेजको अवधारणा नेपालमा भित्राउने र त्यसको कार्यान्वयन गर्न कम्मर कसेकाहरुको त खुशीको सिमा नै रहेन । त्यो वेला त्यहि भएर होला सेजको शिलन्यास र उद्घाटन गरेर शिलालेखमा नाम लेखाउन मन्त्रीहरुको होडवाजी नै चलेका थियो ।

कही नभएको जात्रा भैरहवामा

नेपालमा एउटा उखान चर्चित छ हो त्यहि उखानलाई मेल खाने अर्को उखान बनेको छ भैरहवा । “कहि नभएको जात्रा भैरहवामा ” भैरहवामा निर्माण सम्पन्न भएका दुई ठुला योजना लथालिङ्ग र योजना विहीन भएपछि भैरहवाका वासिन्दाले उक्त उखान जुराएका हुन् ।

अर्को जात्रा त भैरहवा सेज निर्माण सम्पन्न भएपछि उद्घाटन गर्न लाजै पचाएका तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, त्यसपछि आएका उद्योगमन्त्री महेश वस्नेत र नविन्द्रराज जोशी । एउटै योजना पुरा भएपछि तिनजना मन्त्रीले उद्घाटन गरेको देख्दा र सुन्दा सबैले भन्छन् जात्रा हेर्न अन्यत्र होईन भैरहवामा आउनुपर्छ ।

नेपालकै पुरानो र प्रतिष्ठित पञ्चकन्या गु्रपका महाप्रबन्धक देवेन्द्र साहु भैरहवा सेज निर्माण हुंदा जसरी उद्योगीहरुको खुशीको सिमा थिएन ठीक त्यसैगरी राज्यको चरम वेवास्थाका कारण सेजमा रहेका उद्योग भाग्ने अवस्थामा पुगेको बताउंछन् ।

करीब ६० विगाहा जग्गामा फैलिएको भैरहवा सेजको अवस्था साह्रै टिठ लाग्दो छ । सरकारको अरबौ लगानी भएको भैरहवा विषेश आर्थिक क्षेत्रप्रति राज्यको कहिल्यै ध्यान जान नसकेको उद्योगी रविरञ्जन बताउंछन् ।

झाडीले घेरियो सेज

अरबौको लगानीमा निर्माण भएको सेजमा उद्योग स्थापना भएर चारैतिर चहलपहल हुनुपर्ने अवस्थामा अहिले सेज प्रवेश गर्ने जोकोहि त्यहांको अवस्था देखेर विरक्त मान्ने गर्दछन् । भैरहवा सेज अहिले चारैतिर झाडीले घेरिएको छ । भैरहवा सेज अपराधि र लागु औषध सेवन गर्नेको सुरक्षित स्थान भएको स्थानीयवासी बताउंछन् ।

नेपाल सरकारको गलत नीति भएका कारण ठुला उद्योगहरु निकै समस्यामा परेको व्यवसायी बताउंछन् । अन्तराष्ट्रिय विमानस्थल, भैरहवा सेज जस्ता विकासका ठुला आधारलाई संचालनमा ल्याउन नसक्नु देशकै विडम्बना भएको व्यवसायीहरुको गुनासो छ ।

आक्रोस र गुनासा धेरै छन्

देशकै पहिलो निर्यातमुखी परियोजना भैरहवा सेजमा उद्योग स्थापना र संचालन गर्नका लागि साह्रै सास्ती र समस्या भोग्नु परेको उद्योगपतिको गुनासो छ । भैरहवा सेजमा संचालित पञ्चकन्या एसएस प्रालिका महाप्रबन्धक देवेन्द्र साहुले भने “सरकारले प्रतिवद्धता जनाए अनुसार सेवा सुविधा पाउन नसक्दा सेजमा उद्योग स्थापना गरेर पछुतो लागेको छ । ”

बुटवलका अर्का व्यवसायी अजयमान श्रेष्ठ उद्योग संचालन गर्ने व्यवसायीका लागि उद्योग दर्तादेखि अनावश्यक प्रक्रियाले निराश भएको बताउंछन् । भैरहवा विषेश आर्थिक क्षेत्रलाई नमुना सेजको रुपमा सरकारले अगाडि बढायो तर सरकारको योजना बालुवामा पानी खन्याए बराबर छ ।

सेजमा उद्योग संचालनका लागि १ हजार ५ सय देखि ३ हजार २ सय वर्गमिटरका ६९ वटा प्लट छन् । एक अरब रुपैंया लगानी भएको भैरहवा सेज पुर्ण रुपमा संचालनमा नआउंदै जिर्ण अवस्थामा पुगेको छ । भैरहवा सेजमा हाल ८ वटा उद्योगहरुले उत्पादन गरिहेका छन् भने तीन वटा निर्माणाधिन, सात वटा उद्योगले संचालनका लागि सम्झौता गरेको र थप आठ वटाले प्लट बुक गरी सम्झौताको तयारीमा रहेको विषेश आर्थिक क्षेत्र प्राधिकरणका नि. कार्याकारी निर्देशक तुल्सीराम मरासिनीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!