असार, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन परिषरमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
विश्व वृक्षारोण दिवसको स्मरण गर्दै रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ शान्तिनगरमा निर्मित भवनको परिषरभित्र लिचि,आंप,अमला, कटहर, वेलाउती, निम, अशोक लगायतका करीब साढे चार सय विरुवा रोपिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिति रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विरुवा रोप्दै पर्यावरण संरक्षणका लागि खाली जमिनमा विरुवा रोप्ने र विरुवा हुर्काउनमा हरेक व्यक्ति गम्भिर बन्नु पर्ने बताए । वातावरणको संरक्षणमा सबैको चासो हुनुपर्ने उनको भनाई थियो ।
कर्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजित सिंह राठौरले प्रहरी कार्यालय परिषरमा रोपिएका प्रत्येक विरुवाको संरक्षण कार्यालयले गर्ने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटा लगायत अन्य पदाधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।
हाल सिनपा १२ मा रहेको जिल्ला प्रहरी कार्यालयको भवन मुख्य बजार क्षेत्रमा हुंदा सेवाग्रहीलाई समस्या भएको ठहर गर्दै सिनपा १३ शान्तिनगरमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भईसकेको छ । निर्माण कम्पनीले प्रहरी कार्यालयलाई हस्तान्तरण गरे लगतै कार्यालय सार्ने तयारीमा रहेको प्रवतmा प्रहरी नायव उपरिक्षक भट्टले जनाए ।

