भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको १० औं अधिवेशन भैरहवामा आजदेखि सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका छन् ।
अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि अस्वस्थताका कारण उनी आउन नसकेकोले पौडेलले उद्घाटन गरेकाे एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले जानकारी दिए। उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरे । उनले २ वर्ष ५ महिनामा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको अधिकाशं क्याम्पसमा अनेरास्ववियुले जितेको छ ।’ जसले पार्टीमा युवाहरुको नेतृत्वको पुष्टी गञधभएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।
जिल्लाका १६ वटा पालिका १ सय ५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।
बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ जना संगठित पार्टी सदस्य र उत्तिकै संख्यामा शुभेच्छुक पनि छन् ।
अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थी दावेदारको रूपमा रहेका छन् ।
