भैरहवा । आज दिउँसो लुम्बिनी प्रदेशसहित तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा लुम्बिनीसहित तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । यसको प्रभावले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा अहिले बिहानपख आंशिक खालको बादल लागेको छ ।
तराई मधेशमा अत्यधिक गर्मी भएकाले जनजीवन समेत प्रभावित भएको छ । खासगरी दैनिक ज्याला मजदुरी गर्नेहरु चर्को घामबाट बढी प्रभावित भएका छन् । ठाउँठाउँमा आगोलागीको घटनाहरु भइरहेका छन् । यसबाट लाखौंका धनमाल नष्ट भएको छ । गर्मी बढ्दै जादा बाटोहरु सुनसान हुदै गएका छन् भने अस्पतालमा बिरामीको चाप बढेको छ ।
चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले उपल्लो वायुमण्डलमा पातलो बादल रहेकाले काठमाडौंमा राम्रोसँग घाम नलागेको जानकारी दिइन् । तर काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज वर्षाको सम्भावना भने कम रहेको उनले बताइन् ।
गण्डकी र कर्णाली प्रदेशमा केही स्थानमा हिजो पनि छिटपुट वर्षा भएको थियो । त्यस्तै सम्भावना आज पनि कायम छ । तराई मधेशका जिल्लाहरुमा केही दिनदेखि तातो हावा चल्ने र चर्को गर्मी हुने क्रम अहिले पनि उस्तै छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी बढ्ने पूर्वानुमान छ ।
‘हिजो पनि धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको देखियो, आज पनि त्यस्तै अवस्था हुने सम्भावना छ’, मौसमविद मानन्धरले भनिन्, ‘तत्काल पानी पर्ने सम्भावना पनि देखिँदैन ।’
यही वैशाख १४ गतेसम्मै तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
गर्मी संगै पानी कम प्रयोग गर्दा हुने बिरामीहरुको संख्या पनि अस्पतालमा बढेको छ । पिसाबको संक्रमण, कडा ज्वरो मृगौलामा पत्थरी भएका बिरामीहरुमा तिव्र पेट दुखेको समस्या रहेका बिरामीहरु अस्पतालमा आईरहेका छन् । अहिलेको वातावरणको कारण दम रोगका बिरामीलाई पनि समस्यामा पारेको छ।
अहिले अत्याधिक गर्मीका कारण बच्चाहरुको मुख सुक्ने, पानीको कमि हुने लगायतको समस्या देखिएको कारण उनिहरुलाई प्रयाप्त झोलिलो पदार्थ खान दिन चिकित्सकले सुझाव दिएका छन ।
