आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ ।
सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भोलि सार्वजनिक बिदा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।
केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै आएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर चार, पाँच वर्ष यता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।
फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न यो पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा उल्लेख छ ।
प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ । होली लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको, मोबाइल गस्ती तथा सादा पोशाकमा पनि प्रहरी खटिएका नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिनुभयो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागू पदार्थ खाएर गाडी नचलाउन पनि प्रहरीको आग्रह छ ।
असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली रङ्ग र खुशीको पर्व हो । एक अर्कालाई रङ्ग दलेर, नाचगान र खानपिन गरेर मनाइने भएकोले यो पर्वमा खुशी, उमङ्ग र सद्भाव पाइन्छ । होली मनाउनेहरुले यसलाई धार्मिक र साँस्कृतिकसँगै मनोरञ्जनको पर्वको रुपमा पनि लिन्छन् । साथीभाइ, आफन्त र प्रियजनहरुसँग रङ्गीन रमाइलो हुने यो पर्व मनाउँदा खुशीका बीच समस्या नआओस भनेर सावधानी पनि अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । होली मनाउँदा मुख्य गरी स्वास्थ्य, संभावित दुर्घटना र सामाजिक मर्यादा गरी तीनवटा कुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य सावधानी
होलीमा रङ्ग र पानीको प्रयोग धेरै हुन्छ । बजारमा थरीथरीका रङ्गहरु उपलब्ध छन् । त्यस्ता रङ्गमा केमिकल हुने भएकोले केहीलाई छालामा एलर्जी पनि हुन सक्छ । कसैमा सामान्य र कसैमा गम्भीर खालको एलर्जी समेत हुन सक्ने जनस्वास्थ्यविद् डा.शरद वन्त बताउनुहुन्छ ।
त्यस्तै धुलो रङ्गले कतिपयलाई फोक्सोमा समेत असर गर्न सक्छ । यस्तै रङ्ग खेल्दा आँखामा पर्न तर्फ सचेत हुनुपर्छ । आँखामा रङ्ग पर्दा त्यसलाई आँखालाई असर गर्न सक्छ । यस्तै होली मनाउँदा भीडभाड धेरै हुन सक्छ । भीडमा कतिपय संक्रामक रोगहरु सर्न पनि सक्छन् । त्यसैले भीडभाडमा होली मनाउँदा सम्भव भएसम्म कालोचस्मा र मास्क लगाउनुपर्ने डाक्टरहरुको सुझाव छ । यस्तै कतिपलाई भीडभाडमा नाचगान गर्दा ह्दयघात लगायतका सम्भावना पनि हुने भएकोले आफ्नो स्वास्थ्य अबस्थाबारे सचेत हुनुपर्छ ।
सम्भावित दुर्घटना
रमाइलो गर्दै गर्दा कतिपय जोखिमहरुलाई अनुमान् नगरिएको वा बेवास्ता गरिएको पनि हुन सक्छ । होली खेल्दा घरका छतबाट लडेका, गाडी दुर्घटना भएका, चिप्लिएर लडेका आपसमा झैझगडा भएर घाइते भएका वा ज्यानै गएका जस्ता खबर हामीले सुन्दै आएका छौं । त्यसैले सम्भावित दुर्घटनाबारे ख्याल गर्न जनस्वास्थ्यविद् वन्तको सुझाव छ ।
दुर्घटना रोक्नको लागि आफू कस्तो ठाउँमा होली मनाइरहेको छु भन्ने ख्याल गर्नुपर्छ । जाँडरक्सी खाएर वा जथाभावी गाडी चलाउनु हुँदैन । सँधै आफ्नो सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर रमाइलो गर्नुपर्छ । रमाइलो गर्दै गर्दा हुन सक्ने जोखिमलाई कहिल्यै भुल्नु हुन्न ।
सामाजिक मर्यादा
होली पर्व मनाउँदा ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा सामाजिक मर्यादा हो । एक जनालाई मन पर्ने कुरा अर्कोलाई मन नपर्न सक्छ । वा विविधता भएको समाजमा एउटा समुदायले मनाउने पर्व अर्कोले नमनाउन पनि सक्छ । वा त्यही रङ्गलाई पनि एउटा धर्म वा समुदायले एक किसिमबाट परिभाषित गर्छ भने अर्कोले अर्कै किसिमबाट गरेको हुन्छ ।
