लुम्बिनीमा अनलाईन टिकेटिङ, गुरुयोजना पूरा गर्न पर्यटनमन्त्रीकाे निर्देशन  

लुम्बिनी। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनललाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाईन मार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे । उनले इटिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए । उनले लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुहरुलाई इटिकेटिङले आर्कषित गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्यला लामा (खेन्पो छिमे) ले अनलाईन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरुको संख्या समेत बृद्धि गर्ने विश्वास गरे । उनले लामो लाईन लागेर टिकट लिनुपर्ने वाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए । उनले लुम्बिनी बौद्धमार्गीहरुको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । उनले विश्वभरका बौद्धमार्गीहरु लुम्बिनी आएर शान्ति र अहिंसाको सन्देश ग्रहण गर्नुपर्ने बताए ।
यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पर्यटकहरु लाईन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए । नवनियुक्त मन्त्री पहिलाृ पटक लुम्बिनी आएको अवसरमा डिजिटल प्रणालीमा संस्थालाई लैजाने कार्यले सुशासन र पारदर्शीता कायम गर्नमा सहयोग पुग्ने कोषाध्यक्ष भट्टराईले बताए । मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाईन टिकेटिङले कोषको आम्दानीमा समेत बृद्धि हुने उनले बताए ।
लुम्बिनी विकास कोषको वेवसाईट डब्लु डब्लु डब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।  मुख्यगरी विदेशीहरुले यसको उपयोग गर्ने कोषको विश्वास छ ।
उद्घाटन समारोहमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, विश्वराज पौडेल, राजेश शाक्य, श्याम रोक्का, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको सहभागिता थियो ।
इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए । अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरु राखिएको उनले बताए । पेमेन्ट सहकार्य गरेको माछापुच्छ«े बैंकका चिफ डिजिटिल अफिसर माधव सुवेदीले घरबाटै सुविधा लिन सकिने र क्यूआरबाट विदेशी पर्यटकहरुले टिकट काट्न मिल्ने गरी सुविधा दिइएको बताए । उनले चिनियाँ पर्यटकहरुलाई विउ च्याट मार्फत सुविधा दिने गरी लुम्बिनी विकास कोषसँग बैंकले सहकार्य गरेको बताए ।
निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी अनलाईन टिकेट्स विकास गर्दै लगिने कोषको योजना रहेको छ । अवेकोड प्रा.ली.ले तयार पारेको अनलाईन टिकेट्सका लागि माछापुच्छ«े बैंक पेमेन्ट पार्टनरका रुपमा रहेको छ । लुम्बिनीमा २०६१ सालदेखि टिकट काट्न थालिएको हो । लुम्बिनीमा गत वर्ष बार्षिक १० लाख पर्यटक आएका थिए । कोभिडअघि २०१९ मा सबैभन्दा बढि १६ लाख बढि पर्यटक लुम्बिनी आएका थिए ।
गुरुयोजना पूरा गर्न पर्यटनमन्त्रीकाे निर्देशन  
संस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक शुक्रबार गैरआवासिय र वाणिज्यदुतहरुको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका हुन ।
उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफुले पहल गर्ने बताए ।

मन्त्री तामाङले गुरुयोजना विपरित संरचना बनेको, यूनेस्कोको असहमती रहेका जस्ता बिषयहरु आइरहेकाले यसबारेमा आफ्नो ध्यानआर्कषण भएको बताए । लुम्बिनी विकास क्षेत्रको विकासका लागि उपाध्यक्ष सहितको टिमसँग मिलेर काम गर्न तयार रहेको उनले बताए । उनले टिमवर्कले मात्रै नतिजा निकाल्न सकिने भन्दै यसतर्फ ध्यान दिन समेत आग्रह गरे । उनले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफु लागि पर्ने बताए ।

बिफ्रिङमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीमा आफू आएपछि केही सुधारका कामहरु भइरहेको बताउँदै गुरुयोजनाका बाँकी काम पूरा गर्नका लागि पर्याप्त बजेटका लागि पहल गर्नुपर्ने बताए ।

मन्त्रीसँगको छलफलमा सदस्य सचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि र यसको कार्यक्षेत्र लगायतका बिषयमा जानकारी दिएका थिए । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, योजना प्रमुख स्मिता भट्ट, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!