भैरहवा । रुपन्देहीको भैरहवामा आइतबार देखि ड्रिम युनिक रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु हुदैछ । २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिगको २३ औं संस्करण आइतबारदेखि भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने रुपन्देही क्रीकेट संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
नेपालकै लिग चरणको ठूलो खेलको रुपमा लिइने यो प्रतियोगिता वैशाखको पहिलो साता सम्म जारी रहने छ । ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागीता रहने प्रतियोगिता एकदिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने संघका अध्यक्ष हरि थापाले जानकारी दिए ।
पहिला बी डिभिजनका १२ टिमलाई समूहमा विभाजन गरि लिग खेलाइने र सो पश्चात टप हुने टीम ए डिभिजनमा बढुवा भई प्रतिस्पर्धा गराइने संघका सचिव संजय गुरुङले बताए । ए डिभिजनका ८ टिम र बी डिभिजनबाट बढुवा भएर आएका २ टीमलाई पुनः समूहमा विभाजन गरी लिग खेलाइने छ । टिमले धेरै खेल खेल्न पाओस भन्दै यस खेलको रुवरुप केही परिवर्तन गरि ३५ वटा प्रतियोगिता हुने सचिव गुरुङले जानकारी दिए । गत वर्ष ३१ वटा खेल भएको थियो ।
३ वटा बाहिरी जिल्लाका खेलाडीहरु खेलाउन सक्ने प्रावधान रहेको प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरु पनि खेल्ने छन । यही प्रतियोगितको योग्दानले रुपन्देहीको टिम छनोट हुने गरेको छ । प्रतियोगितामा रुपन्देहीका सबै क्षेत्रका खेलाडीहरु सहभागि हुने स्वरुपले टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताको प्रमुख प्रायोजक ड्रिम युनिक कन्सल्टेन्सी रहेको छ भने प्रतियोगिताको बिजेता पुरस्कार रकम एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रकम रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले प्रायोजन गरेका छन् । नेपालका जिल्लास्तरमा ५० ओभरको सुपरलिग रुपन्देहीमा मात्रै आयोजना हुन्छ । संघले विभिन्न संघसंस्थासँग सहकार्य गरी लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनतर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जीआर बेलबास, तिरुपति क्रिकेट क्लब, भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन् ।
बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सैनामैना, बुटवल ११, बुटवल राइनोज, बुटवल, देवदह क्रिकेट युनिट देवदह छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ ।
