सम्झना शर्मा
भैरहवा, चैत
भारतमा कोरोना भाईरस संक्रमितको संख्या बढेसंगै भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दो छ । यो क्रम करीब एक हप्तादेखि जारी रही सोमबार १२ बजेसम्म जारी छ ।
सरकारले छिमेकी मुलुकसंगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भनिएपनि रुपन्देही स्थित नेपाल–भारत सीमा नाका बेलहियामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौंको संख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् । सिमामै आएका नेपालीहरुलाई प्रवेश कसरी नदिने सरकारका लागि पनि अप्ठेरो परिस्थिति सृजना भएको सुरक्षामा खटिएका सुरक्षा कर्मीहरुको भनाई छ ।
१० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहानै नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिइएको रुपन्देहीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
‘नाकामा भारतमा रोजकारी र अध्ययनको क्रममा रहेका नेपालीहरु आउने क्रम जारी छ हामीले आज पहिलो दिन नाका सम्मै आइपुगेका लाई स्वास्थ परिक्षण गराएर नेपाल भित्रिन दिएका छौं, खत्रीले बताए ।’ भित्रिएका सबैको परिचय सहितको रेकर्ड राखिएको पनि उनले बताए ।
भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको उनले बताए । ‘अहिले भारतबाट आएका नेपालीहरुलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ,’ उनले भने, ‘भारतीय नागरिकलाई प्रवेश दिइएको छैन ।’शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
अहिले नाकामा सरकारको तिन तहको सुरक्षा संयन्त्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छ ।
बेलहिया नाकाको हेल्थ डेक्समा सोमवार १० बजे सम्म मात्र करिव ८ सय १५ जनाको स्वास्थ परिक्षण भएको छ । नाकामा गएको ५ दिनमा करिव ५२ हजार ६ सय ६३ जनाको स्वास्थ परिक्षण भएको छ । नेपालीहरु आउने क्रम अझै जारी छ ।

