भैरहवा । सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको शवदहन स्थलको जग्गा अनततः सार्वजनिक जग्गा कायम गर्ने निर्णय भएको छ ।
सिद्धार्थनगर नगरपालिका–१० स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक घाघरा खोला छेउमा रहेको पितृ विसर्जन स्थल (मसान घाट) धेरै समय दखि स्थानीयले सार्वजनिक रुपमा प्रयोग गर्दै आएका थिए ।
साविक भुजौली ७ क कित्ता नम्बर ६१ को १ बिगहा ११ कठ्ठा ५ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको बाहिरीएपछि सर्वत्र आलोचना भएसँगै जिल्ला प्रशासन कार्यालयले छानविन गरि उक्त जग्गा सार्वजनिक भएको ठहर गर्दै कम्प्युटर इन्ट्रीबाट लगत समेत हटाउन निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेले अवैध तरिकाले उक्त जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । प्रजिअ अर्यालले टिप्पणी आदेशबाट उक्त मसान घाटको जग्गा पूर्ववतः अवस्थामा कायम राख्ने गरि निर्णय गरेका हुन् । विभिन्न काजगात र अनुसन्धानका क्रममा जमिन सार्वजनिक भएको खुलेको बताउदै उक्त जग्गा अब बाँकी दर्ता प्रक्रिया अगाडि नवढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितमै राखी कुनै व्यक्ति तथा संघसंस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो, रजिष्ट्रेशन, अंशबण्डा लगायतका कारोवार नगर्न मालपोत कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय भएको बताए ।
उक्त जग्गालाई निजी स्वामित्वमा लैजाने कुत्सित मनसायका साथ नगरपालिकामा सम्पत्ति कर वुझाएको, श्रेस्ता समेत तयार गरेको तथा कम्प्यूटरमा विवरण प्रविष्टी गरि जग्गा हडप्न खोजेको अनुसन्धानबाट देखिएको उनको भनाई छ ।
“जानकारीमा आए लगत्तै जग्गा प्रशासन सम्बद्ध कार्यालयहरुलाई थप कार्य अगाडी नबढाउन मौखिक निर्देशन गरी यथास्थितिमै राख्न निर्देशन दिएको थिए ।” अर्यालले भने “ यसले गर्दा स्वामित्व हस्तान्तरण लगायतका काम कारवाहीहरु अगाडि बढ्न नसकेको अवस्था छ ।”
मालपोत कार्यालयहरुबाट प्राप्त जवाफ, सम्बन्धित वडा कार्यालयबाट प्राप्त विवरण तथा यस विषयमा हुन सक्ने संभावित निर्णयको जोखिम लगायतका तथ्यहरुलाई मध्यनजर गरी सार्वजनिक जग्गा संरक्षणमा हुन सक्ने क्षति न्यूनीकरण गर्न ४ वटा निर्णय गरिएको छ । यस अघि वडा कार्यालयले तिरो लगायतका राजस्व लिने गरेकोले उक्त कार्य “गैर प्रशासनिक एवं अनुचित” ठहर गर्दै उक्त जग्गाको राजश्च नलिन समेत आदेश भएको छ ।
मालपोत कार्यालयमा ब्यक्तिको नाममा जग्गा दर्ता देखिएकोले उक्त जग्गाको कम्प्युटर प्रविष्टि हटाउने र तयार भएको श्रेष्ता रद्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
अवैध तरिकाले जग्गा नाममा गर्ने ब्यक्ति एवम पदाधिकारीको एकिन गरि कार्यवाही गर्ने र जग्गाको विषयमा हुन सक्ने अवाञ्छित कृयाकलापलाई सुरुवातमै श्रोतमै निरुत्साहित गर्न जग्गालाई तारबार गरी छुट्टयाउने निर्णय भएको छ ।
यस्तै प्रस्तुत निर्णयको कार्यान्वयनको सुनिश्चितता लागि सुक्ष्म तवरले अनुगमन गर्ने, यस कार्यमा संलग्न व्यक्ति तथा पदाधिकारीहरुलाई कारवाही गर्न गराउन जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउने’, प्रजिअ अर्यालले गरेको निर्णयमा भनिएको छ । अर्यालले यो प्रकरणमा संलग्न सबैलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिएको जनाए ।
मसान घाटको जग्गा आफ्नो नाममा बनाउने घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो । मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा इन्ट्री भएको पाइएको थियो ।
घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी दिएपछि प्रशासनले छानविन सुरु गरेको थियो ।
